घोराही, १५ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले दाङको देउखुरीमा रहेको लुम्बिनी प्रदेशको स्थायी राजधानी नफर्किने बताएका छन् । घोराही उपमहानगरपालिकाको ४५ औं स्थापना दिवसको अवसर आइतबार घोराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री लिला गिरीले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा नै रहने बताए । उनले राजधानी फर्काउने हुन् कि भनेर कसै-कसैलाई शंका भएको भन्दै राजधानी नफर्किने उद्घोष गरे । अब राजधानी फर्किदैन्,´ उनले भने,
राजधानी दाङमा हुन्छ । राजधानी देउखुरीमा हुन्छ । जुन निर्णय भाछ, त्यही हुन्छ । त्यसलाई निर्माण गरिन्छ । त्यो आशंका नराख्न समेत म यहाँहरुलाई आग्रह गर्न चाहन्छु ।´
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बिगतको प्रदेशसभाले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी राप्ती उपत्यकामा स्थापना गर्ने निर्णय गरेको बताउदै त्यो राजधानीलाई भौतिक रूपमा निर्माण सम्पन्न गर्न केही समय लाग्ने स्पष्ट धारणा राखे । ‘त्यो बुटवलमा बसेर यहाँको राजधानी सम्पन्न हुन सक्दैन्´ मुख्यमन्त्री गिरीले भने
अहिले हामी त्यहीँ देउखुरीबाट संघीय सरकारले प्रदान गरेको ठाउँबाट हामीले राजधानी निर्माणका कामदेखि लिएर प्रदेश सरकारको सबै कामकाज समेत त्यहीबाट गर्ने गरी सबै मन्त्रालयको संयोजन थालेका छौं ।´
त्यसैगरी उक्त कार्यक्रममा उपमहानगरले नगरको सरसफाइ अभियानमा सञ्चार माध्यमबाट निरन्तर सक्रिय भएर नगरलाई स्वच्छ र हराभरा बनाउन उल्लेखनीय योगदान गरेको भन्दै ४ जना पत्रकारलाई सम्मान एवं पुरस्कृत गरेको छ । जसमा रेडियो तथा टेलिभिजनतर्फ कान्तिपुर टेलिभिजनकर्मी अमर क्षितिज, छापातर्फ राप्ती पोष्ट दैनिककर्मी छवि पुरी, अनलाइनतर्फ अनलाइन खबरकर्मी आभास बुढाथोकी र रेडियो मध्यपश्चिमकर्मी चन्द्रप्रकाश नेपाली पुरस्कृत भएका हुन् ।
त्यस्तै कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै दर्जनौं ब्यक्ति तथा संघसंस्थाहरुलाई सम्मान गरिएको थियो भने पालिकाभित्रका १० जना वृद्धवृद्दाहरुलाई समेत सहायता सामग्री दिँदै सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा सहभागीहरुले विभिन्न नृत्य तथा योगाको प्रस्तुत गरेका थिए ।
घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीति दल तथा संघसंस्थाका प्रमुख / प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उपप्रमुख हुमा डिसीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले गरेका थिए ।
फोटोग्राफीमा दक्ष महरा सिस्ने अनलाइनका फोटो पत्रकार हुनुहुन्छ ।