• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्ने माओवादी केन्द्रको निर्णय




सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरेको छ। 

दलबीच राष्ट्रपति एमालेलाई दिने सत्तारुढ दलको सहमतिकाबीच माओवादी केन्द्रको शुक्रबार बसेको पार्टी स्थायी समितिको  बैठकले सो निर्णय गरेको हो।

एमालेसहितका दलसँग बसेर राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो। 

बैठकमा धेरैजसो नेताले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नुपर्ने धारणा राखेकाले पार्टीले पनि सोही अनुसार अघि बढने नीति लिएको उहाँको भनाइ छ। 

उपाध्यक्ष महराले भन्नुभयो, “राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्ने धेरै कमरेडहरुको आवाज आएको छ। राष्ट्रिय सहमति कहाँ हुन्छ ? राष्ट्रिय सहमति खोज्ने हाम्रो नीति छ। राष्ट्रिय सहमति हुन्छ कि हुँदैन ? त्यो बाँकी छ।” उहाँले एमालेसहितको राष्ट्रिय सहमतिमा जाने बताउनुभयो। 

माओवादी स्थायी समितिको शुक्रबारको बैठकमा महराले पार्टी एकता सम्बन्धी प्रतिवेदन, उपमहासचिव जनार्दन शर्माले पार्टीको संगठनसम्बन्धि प्रतिवेदन र अर्का उपमहासचिव गिरिराजमणि पोखरेलले पार्टीको स्कुलिङ सम्बन्धी प्रतिवेदन पेश गर्नु भएको थियो।

पार्टी एकता सम्बन्धी प्रतिवेदनमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताका लागि संस्थागत रुपमा वार्ता प्रक्रिया अघि बढाइएको उल्लेख गरिएको छ। त्यसैगरी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँगएकताका लागि व्यक्तिगत रुपमा पहल सुरु गरिएको कुरा प्रतिवेदनमा उल्लेख गरिएको उपाध्यक्ष महराले बताउनुभयो।

उहाँले भन्नुभयो, “आजको बैठकमा खास गरेर मैले पार्टी एकता सम्बन्धि प्रतिवेदन पेश गरेँ। त्यसपछि जनार्दन शर्माले संगठन सम्बन्धी प्रतिवेदन र गिरिराजमणि पोखरेलले स्कुलिङ सम्बन्धि प्रतिवेदन पेश गर्नुभयो। हिजो अध्यक्षले पेश गर्नु भएको प्रतिवेदन र यी सबै विषयमा आज २७ जना कमरेडले आ–आफ्नो मत राख्नुभयो।”

महासचिव देव गुरुङको नेतृत्वमा उपमहासचिवको टिमलाई पार्टीका केन्द्रीय सदस्यको कार्यविभाजनको ठोस योजना ल्याउने गरी माघ १६ गते ११ बजे फेरि बैठक बोलाइएको उहाँले जानकारी दिनुभयो।  

Facebook Comments