• १३ माघ २०७९, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेसंविको प्रादेशिक सङ्गोष्ठीमा किरातमय माहोल




प्रदेश १ को आदिवासी जाति समुदायका भाषा, संस्कृतिको स्थिति र अवस्थाको समीक्षा गर्न धरानमा आयोजित प्रादेशिक भाषा, संस्कृति सङ्गोष्ठीमा प्रसङ्गवश अध्येताहरूले प्रदेशको नामकरणको बारेमा चर्चा गरेका छन् । आदिवासी जातिका भाषा, संस्कृतिका प्राध्यापक डा.माधवप्रसाद पोखरेलले प्रदेश १ नभनेर ‘पहिलो प्रदेश’ भन्दै पहिलो भए पनि अन्तिम प्रदेशको नामकरण भइसक्दा पनि अहिले सम्म नाम जुर्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताए ।

प्राडा.पोखरेलको कार्यपत्र प्रस्तुतिको प्रथम सत्रका सभापति पूर्व प्रदेश प्रमुख प्राडा. गोविन्द बहादुर तुम्बाहाङले प्रदेश १ किरातै भएको अर्थमा नामकरणतर्फ सङ्केत गर्दै भने ‘नेपालको इतिहासमा पल्लो किरात, माझ किरात र वल्लो किरात भनिएको अहिले पनि पढ्नु पर्छ ।’

यसअघि प्राडा.पोखरेलले किरात जातिको संस्कृतिसँग कोसी नदीको प्राग ऐतिहासिक सम्बन्ध रहेकोले प्रदेशको नाम कोसी राख्दा किरातको सम्बोधन हुने सङ्केत गरेका थिए। सङ्गोष्ठीमा कार्यपत्र प्रस्तोता तथा छलफलमा सहभागीहरूले प्रत्यक्ष रूपमा नामकरणको चर्चा नगरे पनि छलफलमा संस्कृत, खसको केही चर्चा बाहेक किरात, लिम्बू, राई, कोच, धिमाल, याक्खा, देवान, थारुहरूकै बारेमा धेरै चर्चा भएको थियो । प्रस्तुति र छलफल भएका ८ वटा कार्यपत्रमा अधिकांश आदिवासी जातिका भाषा, संस्कृतिमा केन्द्रित भएकोले सङ्गोष्ठीको माहौल किरातमय देखिन्थ्यो ।

किरात प्रदेशको प्रसङ्ग उठाए पनि प्राडा. गोविन्द तुम्बाहाङले कार्यपत्र भने संस्कृत वाङमयले नेपाली भाषा, संस्कृतिको विकाशमा खेलेको भूमिका विषयमा केन्द्रित थियो । नेपाली भाषा र संस्कृतिले नेपाली समाजलाई एकताको सूत्रमा आबद्ध बनाएर मुलुक अघि बढ्नुमा संस्कृत भाषा र शिक्षाको ठुलो भूमिका रहेको उनको कार्यपत्रमा उल्लेख छ ।

डा.अस्मिता विष्टले सङ्गोष्ठीमा छुट्टै विषयको अङ्ग्रेजी भाषामा कार्यपत्र प्रस्तुत गरिन् । नेपाली चलचित्रमा प्रस्तुत गरिने महिला पात्रहरूको भूमिका ‘तथाकथित महिला’ भएको बताउँदै त्यसले लैङ्गिकता, महिला अधिकारका कुरालाई धज्जी उडाउँदै आएको बताइन् । लिम्बु संस्कृतिमा आधारित ‘नुमाफुङ’ देखी ‘माइती घर’ सम्मका महिला पात्रहरूको चरित्र, भूमिकाको उदाहरण उनको कार्यपत्रमा उल्लेख छ ।

प्राडा.टङ्कप्रसाद न्यौपानेले भाषिक एवं सांस्कृतिक रूपमा भिन्नताका कारण देवान छुट्टै जाति भएको बताए । उनको कार्यपत्रमा देवानहरू याक्खा नभएको देवान जाति र याक्खा जातिको सांस्कृतिक भिन्नताहरू उल्लेख गरेका छन् । देवान पदवी भएको तर्कको जवाफमा प्राडा.न्यौपानेले धेरै जातिहरू पदवीको नामबाट जातिमा परिणत भएको उदाहरणहरू प्रस्तुत गरे ।

डा.मोहन तुम्बाहाङले भने ‘भाषा भएपछि संस्कृति हुन्छ नै, संस्कृति भनेकै भाषाको माध्यमबाट प्रकट हुने सामाजिक व्यवस्था नै संस्कृति हुन्छ ।’ लिम्बु जातिको भाषा र संस्कृति मुन्धुममा आधारित भएकोले लिम्बु समाजको विकास र स्थायित्वको श्रोत मुन्धुम भएको उनको भनाई थियो । लिम्बू भाषाको व्याकरणको व्याख्या गर्दै उनले लिम्बू समृद्ध भाषा भएको बताए ।

सोमबहादुर धिमालले धिमाल जातिको संस्कृतिमा ४ वटा शक्तिको महत्त्वपूर्ण स्थान रहेको उल्लेख गरे । उनका अनुसार प्रकृतिलाई शक्तिको रूपमा धिमालहरूले पूजा गर्ने गर्दछन् । पितृ शक्ति उनीहरूका लागि मुख्य श्रोत हुन । धामी झाँक्रीमा शक्ति हुन्छ भन्ने धिमालहरूको गहिरो आस्था छ । राज शक्ति धिमाल जातिले शक्तिको प्रतिकका रूपमा मान्दछन् ।

दीपक न्यौपानेको कार्यपत्रमा प्रदेश १ का मातृभाषाहरूको विश्लेषणात्मक अध्ययन गरिएको छ । प्रदेशमा ६ दर्जन जति भाषा बोलिने गरेको पाइने उनको कार्यपत्रमा उल्लेख छ । लिम्बु भाषा पठनपाठनमा आएको समृद्ध भाषा भएको उल्लेख गर्दै प्रदेशको सरकारी कामकाजको भाषाको लागि लिम्बु र मैथिली भाषा सिफारिस भए पनि अझै धेरै काम गर्न बाँकी रहेको देखिने उनको भनाई थियो ।

डा.कैलाश मेवाहाङ राईले आफ्नो कार्यपत्रमा मेवाहाङ किरातहरूको पुर्खा भएको दाबी गरेका छन् । उनले भने ‘मेवाहाङहरु पहिले नुन खाँदैन थिए ।’ नुन खान मेवाहाङहरुबाट सिकिएको चर्चा गर्दै उनले पहिले पहाडबाट निस्किएको ढुङ्गा जस्तो नुन गाईबस्तुले चाटेको देखेपछि जिज्ञासा पूर्वक मेवाहाङका पुर्खाले चाटेर चाख्दा नुनको स्वाद पत्ता लगाएको उल्लेख गरे ।

सङ्गोष्ठी नेपाल संस्कृत विश्वविद्यालय, राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्र एवं टङ्कप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्रद्वारा आयोजना गरिएको हो । सहआयोजक किरात देवान समाज केन्द्रीय समिति रहेको थियो । सङ्गोष्ठीमा विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा. भीमप्रसाद खतिवडा, सांस्कृतिक केन्द्रका निर्देशक जर्मन चौधरी लगायतको उपस्थिति थियो ।

प्रदेश १ का खानेपानी मन्त्री तिलकुमार मेन्याङबोले उद्घाटन गरेको सङ्गोष्ठीमा इतिहास, भाषा संस्कृतिका अध्येता इलामका युद्धप्रसाद वैद्यलाई सम्मानित गरिएको थियो ।

Facebook Comments