• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रधानमन्त्रीले मगर मौलिक साँस्कृतिक राष्ट्रिय महोत्सवको उद्घाटन गर्ने




भ्यूमान पुन
घोराही, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले मगर मौलिक साँस्कृति राष्ट्रिय महोत्सवको उद्घाटन गर्ने भएका छन् । माघे संक्रान्ति पर्वको अवसरमा नेपाल मगर संघ केन्द्रीय समितिले आयोजना गरेको उक्त महोत्सवको उद्घाटन प्रधानमन्त्री दाहालले गर्ने भएका हुन् ।

बहुसाँस्कृतिक विविधता भएको देश नेपालको तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको साँझा संगठन नेपाल मगर संघले माघे सकराती–२०७९ को अवसर पारेर काठमाडौंको टुँडिखेलमा आयोजना गरेको मगर मौलिक साँस्कृति राष्ट्रिय महोत्सव यही पौष २९, ३० र माघ १ गते ३ दिनसम्म चल्ने र सो महोत्सवको उद्घाटन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आयोजकले जानकारी दिएको छ ।

पितृ, प्रकृति र चेली पुजा गरेर मनाईने यो माघे सकराती चाड मगर जातिको प्रमुख साँस्कृतिक पर्व हो, जसलाई मगर नयाँ बर्षको रुपमा पनि लिइन्छ । मगरहरुको यहि महान चाँड माघे सकराती–२०७९ को अवसरमा “मगरात सभ्यताको संरक्षण–सम्बर्द्धन गर्दै पुस्तान्तरण गरौं, मगर समुदायको महान चाड माघे सकराती–२०७९ भव्यताका साथ मनाऔं ” भन्ने मूलनाराका साथ ३ दिनेसम्म मगर मौलिक साँस्कृतिक महोत्सव गर्न लागिएको छ ।
उक्त महोत्सवमा २ दिनसम्म पूर्णरुपमा मौलिक संस्कृतिहरुको प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

मगर जातिको परम्परागत मौलिक सँस्कृतिहरु “मगर घाटु नाच, मगर कौरा नाच, मगर हुर्रा नाच, मगर सोरठी नाच, मगर भूम्यारभूमे नाच, मगर पैसेरु नाच, मगर सारङ्ग्या नाच, मगर सालैजो नाच, मगर ठाडो भाका (चुट्का, झ्याउरे), मगर नचरी नाच, मगर मारुनी नाच र मगर झाँक्री नाँच” प्रदर्शन गर्न देशैभरीबाट विभिन्न साँस्कृतिक समूहहरु स्वफूर्तमा काठमाडौं आउने तयारी भईसकेको संघका साँस्कृतिक उपाध्यक्ष कविराज मगर बताउनुभयो ।

मगर जातिको परम्परागत खेल (छेलो हान्ने र धनुषवाण)को प्रतिस्पर्धा हुने भएको छ । जसमा धनुषवाणको प्रथम पुरस्कार रोल्पाको थवाङ निवासी (हाल साउदी अरब) रहेका विपिन झाँक्री मगरले ३० हजार, त्यस्तै द्वितीय पुरस्कार म्याग्दी निवासी (हाल दक्षिण कोरिया) मनु रोकामगरले २० हाजार र तृतीय पुरस्कार मगर संसार फोटो ग्यालरी अनलाईन ग्रुपले १० हजार रकम स्पोन्सर गरेका छन्, भने छेलो हान्ने खेल (महिला र पुरष समूह)को प्रथम पुरस्कार रु ५०००।–, द्वितीय पुरस्कार ३०००।– र तृतीय पुरस्कार रु २०००।– गरी एकमुष्ट रु २०,०००।– रकम उदयपुर, कटारी–३ निवासी नेपाल मगर संघका केन्द्रीय सदस्य राजु मगरले स्पोन्सर गरेको नेपाल मगर खेलकुद संघको केन्द्रीय अध्यक्ष निरज पुनमगरले बताउनुभयो ।

मगरहरुको मौलिक संस्कृतिलाई संरक्षण–सम्बद्र्धन गर्दै पुस्तान्तर गर्न यस्ता खालका कार्यक्रम गर्न आवश्यक भएको बताउदै करीव एकसय भन्दा बढी व्यापारिक स्टलहरु राखिने, उक्त स्टलहरुमा मगर परिकारहरु सुलभ मूल्यमा खान पाईनेछ भन्दै अब ३/४ दिन भित्रै स्टल बुकिङ खुला गरिने स्टल व्यवस्थापनका संयोजक तथा संघका उपमहासचिव होमराज खपाङ्गी मगरले बताउनुभयो ।

महोत्वसमा प्रदर्शन गरिएका मगर मौलिक संस्कृतिहरुलाई अत्याधुनिक डिजिटल क्यामेराबाट क्याप्चर गर्दै खिचिएका संस्कृतिहरु नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखा, संस्कृति सम्बन्धि अन्तर्राष्ट्रिय रुपमै काम गर्ने संस्था युनेस्को, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान लगायत विभिन्न सरकारी निकायमा बुझाईने भन्दै संघका उपमहासचिव (संचार) मन बहादुर पुनमगरले बताउनुभयो ।

विभिन्न साँस्कृतिक समूहरुले प्रदर्शन गर्न ल्याउनु भएको संस्कृतिलाई एकदेखि डेढ घण्टासम्म समय छुट्टाईएकोले ढुक्कसँग आफ्नो संस्कृति प्रदर्शन गर्न पाईने भन्दै पूर्णरुपमै मौलिक संस्कृतिको मात्र प्रदर्शन हुने भएको यो वर्षको माघे सकराती ऐतिहासिक हुने बताउदै संघका उपमहासचिव तथा चाडपर्व, उत्सव, महोत्सव तथा अतिरिक्त क्रियाकलाप विभागका संयोजक चन्द्रज्योति आलेमगरले महोत्वसको मुख्य प्रायोजक हाईभिजन ट्रेडिङ ईन्टरनेसनल प्रालि सतुङगल रहेको र अरु सहायक प्रायोजकहरुको खोजि भईरहेको बताउनुभयो ।

मौलिक संस्कृतिहरुको संरक्षण राज्यबाटै हुनुपर्ने कुरामा जोड दिदै मौलिक संस्कृतिहरुको संरक्षण–सम्बर्द्धन र पुस्तान्तर सम्बन्धी यसप्रकारका कृयाकलापहरु गर्दा राज्यलाई नै सघाईएको हुने भन्दै राज्यबाट पनि हामीलाई केही सहयोग हुने आशा राख्दै संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले महोत्सव सम्बन्धीको तयारी भईरहेकोले सम्पूर्ण संस्कृतिप्रेमी नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सहभागीको साथै आर्थिक ,भौतिक ,नैतिक सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्नुभयो छ ।

Facebook Comments