आलोक भावुक
गढवा, १६ पुस। हुलाकी सडक खण्डको कालाकाटे गढवाको बाटो निर्माण कार्य एक सातामै सुरु हुने भएको छ। हुलाकी सडक खण्ड निर्माणाधिन अवस्थामा रहँदा स्थानीयहरुको जनजीवन बेहाल बनेको छ।
राष्ट्रिय गौरवको योजना कालाकाटे सिक्टा सडक खण्डको काम तिब्र गतिमा गरिने बताइएको छ । कालाकाटेबाट शुरु भई बाँकेको नेपालगंज जोड्ने सडक निर्माणको लागि २०७६ कात्तिकबाट योजना सम्झौता भइ काम शुरु भएको योजना मुआव्जा विवाद, वनसंगको समन्वय नहुँदा समस्या भएपनि अहिले कामले तिब्रता पाउने भएको छ ।

कुल १ अर्व ३७ करोडको लागतमा निर्माण हुनथालेका कालाकाटे सिक्टा हुलाकी राजमार्गमा पर्ने ६ वटा पुल निर्माण हुने भएपनि अहिले दाङको गढवा गाउँपालिकाको महदेवामा खोलाको पुल र गढवा गाउँपालिकाको मानपुर खोलापुल निर्माणधिन अवस्थामा छन्। 
त्यसैगरी कालाकाटे देखि गढवासम्मको २० किलोमिटर हुलाकी राजमार्गको योजना बज्रगुरू कान्छाराम जेभिले लिएको छ । ०७६ कार्तिक २९ गते देखि बज्रगुरूले निर्माणको काम सुरु गरेको हो । उक्त कम्पनीले तीन वर्षमा काम सक्ने गरि ठेक्का लिएको थियो । तर बिभिन्न कारण देखाई काम रोकेको थियो। गढवा गाउँपालिकाको पटक पटकको अनुरोध पछी अहिले निर्माण कार्यमा लाग्ने तयारीमा रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।
“हामी तयारी गरिरहेका छौ, धेरै महिनादेखि काम बन्द भएकोले गाडीहरु खराब भएका छन्, सबै गाडीहरुको सर्भिस् र मर्मत गराइरहेका छौ सम्भवतः यही पुस महिनाको तेस्रो साता बाटै निर्माण कार्य सुरु गर्छौ” बज्रगुरू कान्छाराम जेभिका साईड इन्चार्ज प्रकाश रानाले जानकारी दिनुभयो।
कालाकाटे देखि गढवा सम्म २० किलोमिटर उक्त हुलाकी राजमार्ग रहेको छ । राजमार्गमा उड्ने धुलोले जनजीवन कष्टकर बनेको छ। पालिकाको अनुरोधमा पानी हाल्ने काम भएको छ भने दैनिक हिड्ने टिप्पर र गाडीहरूले बाटो धुलाम्मे बनेको छ ।
०७६ मंसिर १ देखि गढवा जंग्रहवा जोड्ने हुलाकी राजमार्गको निर्माणको जिम्मा खड्का कृष्ण प्रालिले लिएको थियो ।जो अन्तिम चरणमा रहेको छ। यो योजनाको काम तीन वर्ष भित्र सक्ने गरि सम्झौता भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्ज बाँकेले जनाएको छ।
कालाकाटे-गढवा-राजपुर-सिक्टा ५५ किलोमिटर बाटो भारत चेन्नेईको जीबीआर इन्फ्रा प्रोजेक्ट्स लिमिटेडले ठेक्का लिएको हो । कालाकाटे-गढवा राजमार्गको २५ किमि कालोपत्रे भइसकेको छ भने बाँकीको काम हुन सकेको छैन । उक्त राजमार्ग कालोपत्रे गर्ने योजना भए पनि काम अघि बढ्न नसकेको गढवा कालाकाटे आवतजावत गर्न ठुलो समस्या हुने गरेको सर्वसाधारणको गुनासो रहेको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

