प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्। प्रधानमन्त्री प्रचण्डले तीन उपप्रधानमन्त्री र चार मन्त्रीसहित आठ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन्।
उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने छन्। पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
अन्य मन्त्रीहरूमा जनमत पार्टीबाट अब्दुल खान, एमालेबाट तीन मन्त्री ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राईले शपथ लिएका छन्।
सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा प्रधानमन्त्री प्रचण्ड, तीनजना उपप्रधानमन्त्री र चारजना मन्त्रीलाई शपथ गराएकी हुन्।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बनेका छन्। उनलाई सरकारमा दोस्रो वरीयता मिलेको छ।
त्यस्तै नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक योजना तथा निर्माणमन्त्री बनेका छन्। उनी मन्त्रिपरिषद्मा तेस्रो वरीयतामा रहनेछन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेका छन्। उनले मन्त्रिपरिषद्मा चौथो वरीयता पाएका छन्।
त्यसैगरी प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा एमालेबाट बारा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद ज्वालाकुमारी साह, बैतडीका सांसद दामोदार भण्डारी र धनकुटाका सांसद राजेन्द्रकुमार राई पनि मन्त्री बनेका छन्।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।