• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू हुने




आगामी शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । पाठ्यक्रम परिवर्तनका लागि काम भइरहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

जसअन्तर्गत कक्षा ५ र १० को पाठ्यक्रमको खाका निर्माण सकिएको र कक्षा ८ को खाका निर्माणकै क्रममा रहेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आगामी शैक्षिक सत्रबाट कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रमअनुसार पढाइ हुनेछ । यसका लागि पाठ्यक्रम विकास केन्द्रले काम गरिरहेको छ । कक्षा ५ र १० को पाठ्यक्रमको खाका तयार भएको छ । अब कक्षा ८ को खाका तयार गर्दैछौं ।

नयाँ पाठ्यपुस्तकको ‘प्रिन्ट रेडी कपी’ (छाप्नका लागि तयार भएको मस्यौदा) जनक शिक्षा सामग्री केन्द्रलाई पठाएपछि केन्द्रले छपाइ गर्नेछ । कक्षा ५ को प्रिन्ट रेडी कपी जनक शिक्षा सामग्री केन्द्रमा पठाइसकिएको उहाँले बताउनुभयो ।

गत वर्ष कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रममा आधारित भएर पठनपाठन सुरु भइसकेको छ । आगामी वर्ष २०८० मा माध्यमिक शिक्षा परीक्षा ९एसइई० पढेर परीक्षा दिने विद्यार्थीले नयाँ पाठ्यक्रममा आधारित भएर परीक्षा दिनुपर्नेछ । तर २०७९ सालको एसइई दिने विद्यार्थीले भने पुरानै पाठ्यक्रममा आधारित भएर परीक्षा दिनेछन् ।

सरकारले २०८० सालसम्म विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू गर्ने योजना यसअघि बनाएको थियो । सरकारको यही योजनाको आधारमा नयाँ पाठ्यक्रम लागू गर्न थालिएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अर्यालले बताउनुभयो ।

कक्षा ८ र १० को अनिवार्य विषयअन्तर्गत अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक विषय तथा कक्षा ५ को अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक र स्वास्थ्य तथा शारीरिक विषयको पाठ्यक्रम नयाँ हुनेछ ।

विश्वव्यापी नियम अनुसार नै हरेक पाँच वर्षमा पाठ्यपुस्तकको पाठ्यक्रम पुनरवलोकन हुने र १० वर्षमा पाठ्यक्रम नै परिवर्तन गर्ने व्यवस्था रहेको छ । यसअघि कुनै कक्षाको १० वर्ष र कुनैको १३ वर्षमा पाठ्यक्रम परिवर्तन गरिएको थियो । २०६३ सालपछि २०७६ सालमा मात्र पाठ्यक्रम परिवर्तन भएको थियो ।

‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ २०७६ अनुसार २०८० सम्म विद्यालय तहका सबै कक्षाको पाठ्यक्रम परिवर्तन गर्ने योजना छ । २०७७ मा मात्र कक्षा १ र ११ को पाठ्यक्रम परिवर्तन भएको थियो । २०७८ मा कक्षा २ ,३ र १२ कक्षाको पाठ्यक्रम परिवर्तन गरी नयाँ लागू भएको थियो । यस्तै २०७९ सालको नयाँ शैक्षिक सत्रदेखि कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम लागू भइसकेको छ ।

Facebook Comments