• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा मानवअधिकारसँग सम्बन्धित २ सय २६ घटना, सबैभन्दा धेरै घरेलु हिंसा




घोराही, २ पुस । दाङमा यो वर्ष मानवअधिकारसँग सम्बन्धित कुल २ सय २६ वटा घटनाहरु  भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले अंग्रेजी वर्ष २०२२ को जनवरीदेखि डिसेम्बरसम्ममा तयार पारेको प्रतिवेदन अनुसार दाङमा सबैभन्दा धेरै गैरराज्य पक्षबाट २०५, राज्य पक्षबाट १३ र अज्ञात पक्षबाट ८ वटा घटना गरी यो वर्ष जम्मा २२६ वटा घटनाहरु भएका हुन् ।
इन्सेकको आयोजनामा शनिबार घोराहीमा भएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि अभिलेख गरिएका घटनाहरुको प्रकाशन पूर्व वार्षिक समीक्षामा कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि जेएन सागरले दाङमा अभिलेख भएकामध्ये सबैभन्दा धेरै घटना घरेलु हिंसाका भएको बताए । उनले उक्त कार्यक्रममा दाङ जिल्लाको संक्षिप्त मानवअधिकारको अवस्था प्रस्तुत गर्दै खान लगाउन नदिएको, आधाभूत आवश्यकता पूर्ति नगरेको, अपहेलना गरेको, मादन पदार्थ सेवन गरेर कुटपिट गरेको, लालनपालन नगरेको र सम्पत्तिकाथि हक नभएकोजस्तो घटना इन्सेकले अभिलेख गरेको भन्दै यो वर्ष ११५ वटा घरेलु हिंसाका घटना अभिलेख भएको जानकारी दिए । जसमा यही तथ्यांकलाई हेर्दा २० देखि ३० वर्ष उमेर समूहका महिला हिंसामा परेको सबैभन्दा धेरै ७७ घटना, ३१ देखि ४९ वर्ष उमेर समूहका ३० घटना र ५० देखि ७० वर्षको उमेर समूहका ८ वटा घटना भएका छन् ।

त्यसैगरी इन्सेकका अनुसार दाङमा यो वर्ष बलात्कार तथा यौनदुव्र्यवहारजन्जय ५५ वटा घटना अभिलेख भएका छन् । जसमा बलात्कारका ४० वटा घटना छन् भने बलात्कारका प्रयास ७ र यौन दुव्र्यवहारका ८ वटा घटना भएका छन् । बलात्कार प्रयासमा सबै महिला छन् भने बलात्कारका २० वटा घटनामा ३ देखि १७ वर्ष उमेर समूहका बालिका र यौन दुव्र्यवहारका ७ घटनामा ४ देखि १२ वर्ष उमेर समूहका बालिका पीडित भएका छन् ।

यो वर्ष धरपकड, कथित बोक्सी आरोप, आर्थिक लाभका लागि अपहरण, बेचविखन, कुटपिट, जातिय विभेद, बम विष्फोटनका घटनाहरु उल्लेख्य भएका छन् । जसमा कुल २२६ वटा घटनामा २५५ जना नागरिक प्रत्यक्ष पीडित भए भने त्यसमा सबैभन्दा बढी १५९ महिला, ३५ बालिका, ३ बालक, २ शिशु र ६१ पुरुष पीडित भएका छन् । घटनामा ३६ संस्थागतसहित २६७ जना पीडक रहेका छन् ।

घोराही उपमहानगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक हुमा डिसीले बोल्न धेरै सजिलो हुन्छ तर व्यबहार उत्तार्न गाह्रो हुने बताइन् । उनले अहिले देश संघीयता प्राणालीको गएदेखि नै वडासम्म न्यायिक समिति भएकोले घटना विवरण न्यूनीकरण गर्नमा सहज भएको उद्घोष गरिन् ।

प्रायः घटनामा अहिले धेरै जसो महिला पीडित भएको र त्यसमा पनि सोजो महिला र निश्पक्ष पुरुषसमेतले दुस्ख पाइरहेको हुँदा अब सबै समाज सहज र सचेत हुनुपर्ने उनको भनाइ छ ।

जिल्ला प्रहरी दाङका प्रहरी निरीक्षक मिरा खड्काले कानूनको दायरामा रहेर आफूहरूले काम गरेको बताइन् । उनले कुनै पनि घटनाका विवरण संकलन गर्दा सम्बन्धित निकायबाट लिनुपर्नेमा जोड दिइन् ।

नागरिक समाज दाङका संयोजक केवी मसालले मानिस जती सचेत भयो, उत्तिकै घटना बढ्दै गएको बताए । उनले प्रविधि युगसँगै अहिले अपराधका स्वरुपहरु पनि परिवर्तन भएको बताउँदै अपराध न्यूनीकरण गर्न समाज सचेत हुनुपर्नेमा जोड दिए ।

मानव अधिकार संजाल दाङका सदस्य बिनोद केसीको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक हुमा डिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम नागरिक समाज दाङका संयोजक केवी मसाल, जिल्ला प्रहरी दाङका प्रहरी निरीक्षक मिरा खड्का, राजनीतिक दलहरूका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण इन्सेकका प्रतिनिधि जेएन सागरले गरेका थिए ।

Facebook Comments