• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
३३ प्रतिशतले घट्यो निर्यात, ५ महिनाको व्यापार घाटा ४७ खर्बमाथि




चालु आर्थिक वर्षको ४ महिनामा वैदेशिक व्यापारमा निर्याततर्फ ३३ प्रतिशतले गिरावट आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । साउनदेखि कात्तिक मसान्तसम्म ३३.३ प्रतिशतले निर्यातमा कमी आई कुल ५४ अर्ब ७७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको राष्ट्र बैंकले जनाएको छ ।

 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०४.३ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४२.३ प्रतिशत र ३४.२ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ७.४ प्रतिशतले वद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, ऊनी गलैँचा, चिया, तयारी पोसाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, लत्ताकपडा लगायतका वस्तुको निर्यात घटेको छ ।

यद्यपि, आर्थिक वर्ष २०७९/८० को चार महिनामा यता कुल वस्तु आयात १८.१ प्रतिशतले कमी आई ५ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँको मात्र आयात भएको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६१.६ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.५ प्रतिशत, २०.९ प्रतिशत र २०.१ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, सुन, हवाइजहाजका स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्स, एम.एस.विलेट, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात घटेको बैंकले जनाएको छ ।

आयात निर्यातको दरलाई हेर्दा आर्थिक वर्ष २०७९/८० को चार महिनामा कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले कमी आई ४ खर्ब ७७ अर्ब ९२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५६.८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १२.६ प्रतिशत रहेको थियो ।

Facebook Comments