• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रदेश राजधानीका लागि देउखुरीमा पर्याप्त छन् संरचना




लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी)मै प्रदेशसभा सदस्यको शपथ र सभा सञ्चालनको तयारी शुरु भएको छ । दाङ देउखुरीको लालमटियामा निर्माणाधीन प्रदेशसभा भवन निर्माण भइसकेकाले यहीबाट प्रदेशसभा सञ्चालनको तयारी थालिएको हो ।

प्रदेशसभाको दुई तिहाइले २०७७ असोज २० गते प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) तोक्ने निर्णय गरे पनि पूर्वाधार अभावको कारण राजधानीको कामकाज अस्थायी मुकाम बुटवलबाटै हुने गरेको छ । स्थायी राजधानीको क्षेत्रभित्र दाङको राप्ती गाउँपालिका, गढवाका तीन वटा र अर्घाखाँचीको शीतगंगा नगरपालिका दुई वडा पर्दछन् । हाल राप्ती गाउँपालिकाको लालमटियाबाट प्रदेश राजधानीको काम गर्ने तयारी थालिएको छ ।

प्रदेशसभा सदस्यको शपथ र सभा सञ्चालन स्थायी राजधानीमा निर्माण भएको प्रदेशसभा भवनबाट गर्ने योजना सरकारले बनाएको छ । यसका अतिरिक्त नयाँ बन्ने मुख्यमन्त्री र मन्त्रीहरुको पनि शपथग्रहण स्थायी राजधानीमै गर्ने तयारी छ । अब नयाँ बन्ने मुख्यमन्त्री र मन्त्रीहरुको शपथ, प्रदेशसभा भवनमा सदन सञ्चालन गर्ने जिम्मेवारी प्रदेश सरकारको भएको स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले जानकारी दिनुभयो ।

‘प्रदेशसभाको निर्णय हो । प्रदेशसभाले निर्णय गरिसकेपछि कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको रहन्छ । प्रदेश सरकारका सबै कामकाजहरु शुरु गर्ने भनेर तयारी भइरहेको छ’– उहाँले भन्नुभयो– ‘मुख्यमन्त्रीको शपथग्रहण, प्रदेशसभा सदस्यहरुको शपथग्रहण गर्ने दायित्व र जिम्मेवारी प्रदेश सरकारको हो ।’

स्थायी राजधानीबाटै प्रदेशसभा र प्रदेश सरकारको कामकाज थाल्ने तयारीसँगै बुटवलमा रहेर काम गरिरहेका कर्मचारीले बखेडा निकाल्न थालेका छन् । उनीहरुले तत्काल राजधानी नसार्न आग्रह गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाए पनि सरकारले यसपटक स्थायी राजधानी व्यवस्थापनमा कुनै सम्झौता नगर्ने संकेत गरेको छ ।

‘यसमा राजनीतिक दाउपेच छ , तर मुख्य कुरा के छ भने प्रदेशसभाको दुई तिहाई बहुमतले निर्णय गरेको विषयलाई प्रदेश सरकारले कार्यान्वयन गर्छ’– स्वास्थ्यमन्त्री थारुले भन्नुभयो– ‘प्रदेश राजधानीको निर्णय उल्ट्याउन कसैले पनि सक्दैन । पटक–पटक प्रदेश राजधानी निर्धारण गरिराख्ने विषय पनि होइन ।’ यसअघि दुईवटा मन्त्रालय स्थापना भइसकेका छन् । कर्मचारीहरु बस्न मन नगरेपछि सुनसान जस्तै बनेका मन्त्रालयमा पछिल्ला दिनमा केही चहलपहल भने देखिन थालेको छ ।

निर्वाचन आचार संहिता सकिने बितिक्कै एक औपचारिक समारोह गरेर स्थायी राजधानीलाई कार्यान्वायनमा ल्याउन सरकारको तयारी छ । त्यसका लागि मुख्यमन्त्री कुलप्रसाद केसी केही दिनदेखि देउखुरीमै रहनुभएको छ । चाँडै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थायी राजधानीबाटै सञ्चालनको तयारी भइरहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह बिश्वकर्माले जानकारी दिनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् रहने भवन मर्मतको काम युद्धस्तरमा अघि बढाइएको छ । राप्ती प्राविधिक शिक्षालयले प्रशिक्षणको लागि प्रयोग गर्दै आएको भवनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बनाउन थालिएको छ । भवनको भित्री कोठा मर्मत गर्ने, शौचालय थप गर्ने, मन्त्रिपरिषद् बैठक बस्ने कक्ष तयार पार्ने काम चलिरहेको छ । प्रदेशको प्रशासनिक केन्द्र निर्माणको लागि तत्काल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्रीको निवास, प्रमुख सचिवको निवास व्यवस्थापनको कामले तीब्रता पाएको छ ।

मन्त्रिपरिषद्को कार्यालय तत्काल तयार पार्ने योजनाअन्तर्गत काम भइरहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका इञ्जिनियर विष्णु केसीले जानकारी दिनुभयो । हालका लागि राप्ती प्राविधिक शिक्षालयका संरचनाबाट कामकाज थालिने छ, जसमा साना ठूला गरी २४ वटा भवन छन् । यी संरचना संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गसिकेको छ भने प्राबिधिक शिक्षालय राप्तीपारिको गढवा गाउँपालिकामा सारिएको छ ।

Facebook Comments