घोराही, २१ कात्तिक । रोल्पाको दक्षिण भेगमा पर्ने रुन्टीगढी गाउँपालिकाको १० औं कार्यपालिकाको बैठक माओवादी–एमालेबाट निर्बाचित कार्यपालिका सदस्यहरुले बहिष्कार गरेका छन् । पालिका अध्यक्ष जनक पुन एकल ढंगबाट अगाडि बढ्न खोजेको भन्दै उनीहरुले आज सोमबारको उक्त बैठक बहिष्कार गरेको जानकारी प्राप्त भएको छ ।
गाउँपालिकाका अध्यक्ष जनक पुनले कर्मचारी नियुक्त सम्बन्धमा र अन्य क्रियाकलापमा कार्यपालिकाको सहमती र सहकार्य बेगर आफू एकल ढंगबाट अगाडि बढ्न खोजेको भन्दै आज सोमबारको १० औं कार्यपालिकाको बैठक माओवादी–एमालेबाट निर्बाचित कार्यपालिकाका सदस्यहरुले बहिष्कार गरेको वडा नं. ७ का वडा अध्यक्ष टेकलाल पुनले बताए । पालिका अध्यक्ष पुनले पहिलाको निर्णय बेगर काम गरेको, कर्मचारी नियुक्त एकल निर्णय कार्यविधि भन्दा फरक भएको, पहिलाको कार्यपालिकाको निर्णय दिन आलटाल गर्नु, वडासँग समन्वय गर्नुपर्ने काममा कुनै समन्वय नगरेको, प्रवक्ता हालसम्म नटुङ्ग्याएको र पालिकाको मर्मत सम्भार कोष अपारदर्शी ढंगबाट संचालनप्रति असहमति जनाउँदै कार्यपालिकाको बैठक बहिष्कार गरेको उनले स्पष्ट पारे ।
वडा अध्यक्ष टेकलाल पुनका अनुसार रुन्टीगढी गाउँपालिकामा १७ जनाको कार्यपालिका सदस्य मध्ये १२ जना माओवादी–एमालेबाट निर्बाचित सदस्य र बाँकी ५ जना कांग्रेसबाट निर्बाचित सदस्य रहेका छन् ।
उता रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले अरु कुनैपनि विषय नभएर माओवादी–एमालेबाट निर्बाचित कार्यपालिका सदस्यहरुले राजनीतिक आग्रह पूर्वाग्रही ढंगले कार्यपालिकाको बैठक बहिष्कार गरेको बताए । उनले पालिकामा हुने सबै काम तथा निर्णयहरु स्थानीय सरकार संचालन ऐनको नीति भन्दा बाहिर नरहेको कुरा स्पष्ट पारे । ‘कुनै पनि निर्णय नीति र विधि विपरित भएका छैनन् अध्यक्ष पुनले भने, ‘सबै काम तथा निर्णय नीति संगत र विधि संगत भएका छन् । ती निर्णयहरु कानूनी परिधिभित्र रहेका छन् ।’ पालिका अध्यक्ष पुनले पालिकाको प्रवक्ता नियुक्त गर्ने विषय अध्यक्षको अधिकारभित्र रहेको र अध्यक्षकै अधिकारलाई प्रयोग गरी वडा नम्बर ९ का वडा अध्यक्ष चेतलाल खत्रीलाई पालिकाको प्रवक्ता आजै नियुक्त गरेको उनको भनाइ छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।