• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ क्षेत्र नम्बर २ को प्रतिबद्धतापत्र सार्वजनिक, निःशुल्क शिक्षा र गुणस्तरीय स्वास्थ्य प्राथमिकतामा (पूर्ण पाठसहित)




आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि संयुक्त प्रगतिशील लोकतान्त्रिक गठबन्धन दाङ क्षेत्र नम्बर २ तथा २(१) र २(२)ले संयुक्तरुपमा प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । पूर्वसभामुख कृष्णबहादुर महरा, प्रतिनिसभा सदस्य उम्मेदवार रेखा शर्मा, प्रदेशसभा सदस्यका उम्मेदवारद्वय राजु खनाल र प्रचण्डविक्रम न्यौपाने, कांग्रेस नेता अनिता देवकोटालगायताका नेताहरुले संयुक्तरुपमा प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो ।

यस्तो छ साझा प्रतिबद्धता–पत्र

देशभित्र र संसारभरि फैलिएर रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दिदी बहिनी तथा दाजुभाइहरुको लोकतन्त्रप्रतिको निष्ठा, समर्पण र सङ्घर्षलाई हार्दिकतापूर्ण अभिनन्दन गर्दै,
सात दशकभन्दा लामो लोकतान्त्रिक सङ्घर्ष यात्राका विभिन्न कालखण्डमा गौरवपूर्ण शहादत प्राप्त गर्ने प्रातःस्मरणीय प्रथम सहिद लखन थापा, गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, लोकतान्त्रिक आन्दोलनका प्रथम सहिद उमेशचन्द्र थापालगायत सम्पूर्ण लोकतान्त्रिक तथा गणतान्त्रिक आन्दोलनका अमर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै,
लोकतान्त्रिक आन्दोलनको आदर्श र चेतनालाई जीवित राख्न कठोर सङ्घर्ष, कारावास, निर्वासन र आन्तरिक विस्थापनको अकल्पनीय पीडा भोग्नुपरेका लाखौं नेपालीहरूको अदम्य साहस र समर्पणको स्मरणसहित उहाँहरूप्रति उच्च सम्मान प्रकट गर्दै,
२००७ सालको क्रान्ति, २०४६ साल, दश बर्षे जनयुद्ध र २०६२–०६३ सालका ऐतिहासिक जनआन्दोलन, नेपालको शान्ति प्रक्रिया, संविधानसभा निर्वाचन, गणतन्त्रको स्थापना, संविधानसभाबाट संविधान निर्माण र तत्पश्चात तीनै तहको निर्वाचन सम्पन्न गरी नेपालको राजनीतिलाई नयाँ गति प्रदान गर्न खेलेको युगान्तकारी र समन्वयात्मक भूमिका र संविधान निर्माणको त्यो ऐतिहासिक क्षणप्रति गौरव गर्दै,
मधेशी, मुश्लिम, आदिवासी जनजाति, थारू, महिला, दलित, पछाडि परेका विकट भौगोलिक क्षेत्र, अपांगता भएका, भूमिहीन, कमैया एवं बादी समुदायलगायत देशका विभिन्न जाति, वर्ग, लिङ्ग र क्षेत्रले आफ्नो विशिष्ट भाषिक, जातीय र साँस्कृतिक पहिचान तथा सङ्घीय शासन प्रणालीका लागि गरेको शान्तिपूर्ण सङ्घर्ष, लोकतन्त्रलाई जीवन्त, गतिशील र प्रभावकारी बनाउने दिशाका महत्वपूर्ण पाइलालाई आत्मसात गर्दै,
विगतमा सरकारको नेतृत्व गर्दा वा प्रतिपक्षको भूमिकामा जानीनजानी भएका त्रुटि, कमजोरीहरूप्रति जनतासमक्ष क्षमा माग्दै त्यसबाट शिक्षा लिएर तिन लाईफेरि दोहोरिन नदिने प्रतिवद्धता व्यक्त गर्दै,
संविधानको रक्षा र कार्यान्वयन, त्यसकै जगमा मुलुकलाई समुन्नतितर्फ डो¥याउनु नै आजको मुख्य राष्ट्रिय जिम्मेवारी भएको मनन गर्दै,
सातदशकभन्दा लामो गौरवपूर्ण इतिहास, यसको विचार एवं आदर्शको श्रेष्ठता, हजारौ जुझारु, कर्मठ, स्वाभिमानी र इमान्दार स्वयंसेवी कार्यकर्ताको ऊर्जा र जनताको अनवरत स्नेह तथा समर्थनको आत्मविश्वासका साथ पुनः एकपटक नेपाली राजनीतिमा देखिएका ज्वलन्त मुद्दाहरुको सम्बोधन गर्ने अठोट गर्दै,
सङ्घीय लोकतन्त्रको सीमाभित्र ‘विविधताबीचको एकता, आम नेपालीको सच्चा राष्ट्रियता’ भन्ने मान्यताका साथ संविधान कार्यान्वयन गर्दै समुन्नत नेपालको आफ्नो ध्येयलाई पूरा गरी छाड्ने प्रण गर्दै,
सबै नेपालीका पहिचान, पहुँच, प्रतिनिधित्व, प्रगति र प्रतिष्ठामा नै नेपालको राष्ट्रिय पहिचान उच्च हुन्छ भन्ने मान्यताका साथ आम नेपालीको जीवनमा गुणात्मक परिवर्तन ल्याउने अठोटसहितको समुन्नत नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने आफ्नो अभियानमा सामेल हुन देश विदेशमा रहेका सम्पूर्ण दाङबासी आमाबुवा, दिदीबहिनी, दाजुभाइमा हार्दिक आह्वान गर्दछौं ।

जब देशका हरेक बालबालिकाले उचति शिक्षा पाउने छन्,
जब देशका हरेक नागरिकले उचति उपचार पाउने छन्,
जब देशका हरेक महिलाले सुरक्षा, न्याय र आत्मसम्मान पाउने छन्,
जब देशका हरेक घर परिवारले सहुलियतमा बिजुली र पानी पाउने छन्,
जब देशका हरेक नागरिकले भूगोल, जाति, धर्मभन्दा माथि उठेर नेपाली भावना पाउने छन्,
तब देशमा समाजवाद आउनेछ, नेपाली आकाशमा चन्द्रसूर्य अंकित झण्डा शानले फरफराउने छ ।

उज्यालो दाङ, शिक्षित दाङ
प्रदूषणमुक्त दाङ, हरियाली दाङ
महिलाका लागि सुरक्षित दाङ
बिशेषज्ञसहितको उपचार, पोषिलो आहार
सस्तो सुलभ अपाङ्गमैत्री यातायात
स्वच्छ पानी, स्वस्थ जिन्दगानी
विपन्नलाई निःशुल्क घर
व्यवस्थित गाउँघर, सन्तुलित सहर


आदरणीय आमाबुवादिदीबहिनीतथादाजुभाइहरु

हामी यतिबेला प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको निकटमा छौं । यही मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । नेपाली जनताको लामो संघर्षको परिणामस्वरुप हामी अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा रमाउन पाएका छौं । राजनीतिकरुपमा ठूलो परिवर्तन आए पनि यसको सकारात्मक परिणाम पूर्णरुपमा जनताले उपभोग गर्न पाइसकेका छैनन् । एकातिर राजनीतिक परिवर्तनको प्रतिफल जनताको प्रत्यक्षजीवनमा जतिसक्दो चाँडो पु¥याउनुपर्ने दायित्व बढिरहेको छ भने अर्कोतिर जनताको ठूलो संघर्ष र बलिदानपछि प्राप्त लोकतन्त्रमाथि पटकपटक आक्रमण भइरहेको छ ।

संविधान निर्माणपछि निर्वाचित पहिलो प्रतिनिधिसभालाई दुईपटक भंग गरेर संविधान र लोकतन्त्रमाथि बलात् आक्रमण गरेको घटनाले अझै पनि प्रतिगामी तत्वहरुविरुद्धको संघर्ष सकिएको छैन भन्ने पुष्टि भएको छ । यो बेलामा जुन राजनीतिक शक्तिहरुले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न नेतृत्वदायी भूमिका निर्वाह गरे, उनीहरुबीचको सहकार्यमार्फत प्राप्त राजनीतिक उपलब्धिको रक्षा र विकास गर्दै यसलाई समृद्धि र विकासको माध्यमबाट जनताको जीवन बदल्ने कार्यक्रममा जोडेर लैजानु आजको एक मात्र राष्ट्रिय आवश्यकता बनेको छ ।

बदलिएको राजनीतिक व्यवस्थामा जनताको अवस्था बदल्ने प्रभावकारी कार्यक्रम र त्यसलाई कार्यान्वायन गर्ने एकताबद्ध प्रयास आजको मूल आवश्यकता हो । त्यसकै अभ्यासको रुपमा गत स्थानीय निर्वाचनदेखि सुरु भएको प्रमुख राजनीतिक दलहरुबीचको सहकार्य र गठबन्धनको संस्कृति अहिलेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनसम्म आइपुग्दा राष्ट्रियस्तरबाटै प्रभावकारीरुपमा स्थापित हुन सफल भएको छ । यही मूल मर्मका साथ लोकतन्त्र, परिवर्तन र सामाजिक न्यायका लागि, विकास र समृद्धिका लागि, बदलिएको व्यवस्थामा जनताको अवस्था बदल्ने ऐतिहासिक कार्यभार पूरा गर्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक गठबन्धनलाई विजयी बनाउनु अहिलेको अहम् दायित्व बन्न पुगेको छ ।

नेपालको संविधान २०७२ जारी भएपछिको पहिलो निर्वाचनपछिका पाँच बर्षको अवधिमा देशमा परिवर्तनविरोधी हर्कत उच्च मात्रामा देखा परे । केन्द्रमा पटकपटकको संसद विघटनलगायत प्रतिगमनकारी हर्कतहरु भइरहे भने हाम्रो लुम्विनी प्रदेशमा सांसद अपहरण, सत्ताको आडमा ३/३ वटा अविश्वासको प्रस्तावको खिल्ली उडाउने हर्कत, विपक्षीमाथि प्रहरी दमन गरेर निवासमै मुख्यमन्त्रीको सपथ ग्रहण, सत्ता पक्षबाट सदन बहिष्कार गरेर अध्यादेशमार्फत वजेट ल्याउनेजस्ता अत्यन्त अशोभनीय र गैरसंसदीय अभ्यास तत्कालीन एमालेका मुख्यमन्त्रीबाट भए । विपक्षीबाट यस्ता हर्कतहरु बारम्बार भइरहेकाले अहिले पनि आन्दोलनका बलमा प्राप्त उपलब्धिहरु रक्षा गर्नुपर्ने चुनौती हाम्रासामु रहेको छ ।

यस अर्थमा प्राप्तउ पलब्धिहरुको रक्षा गर्दै लोकतन्त्र र समाजवादको यात्रामा अगाडि बढ्न हामी परिवर्तनका पक्षधर शक्तिहरुले प्रगतिशील लोकतान्त्रिक गठबन्धन निर्माण गरी जनतामाझ जाने निर्णय गरेका छौं । परिवर्तनलाई संस्थागत गर्ने कि परिवर्तन बिरोधी हुने ? लोकतन्त्रको रक्षा गर्ने कि समाप्त पार्ने ? सामाजिक न्याय स्थापित गर्ने कि विभेदलाई बढावा दिने ? हाम्रा अगाडि प्रश्नका रुपमा खडा छन् । यस ऐतिहासिक अवसरमा उपयुक्त विषयहरुलाई गम्भीरतापूर्वक महसुस गरी आफ्नो अमूल्य मतको सदुपयोग गर्दै गठबन्धनका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी गराउनु हुनेछ भन्ने पूर्ण विश्वास गरेका छौं ।

बर्षौदेखि विद्यमान गरीबी, बेरोजगारी, कुशासन, भ्रष्टाचार, न्यून उत्पादन, न्यून वेतन आम नेपालीका साझा दुश्मनका रुपमा रहिआएका छन् । स्वास्थ्य, शिक्षा, विद्युत, पिउने पानी, कृषि सामग्रीजस्ता अतिआवश्यक सार्वजनिक सेवाबाट आम नागरिक वञ्चित छन् भने विपन्न तथा मजदूरहरु ती सेवाको पहुँचमा नै छैनन् । संविधानले समावेशितालाई मूल सिद्धान्तको रुपमा अंगिकार गरे पनि व्यवहारतः अहिले पनि हरेक क्षेत्रमा अर्थपूर्ण महिला सहभागिता स्थापित गर्न सकिएको छैन ।

यसपटक हामीले यो क्षेत्रमा प्रतिनिधिसभा सदस्य उम्मेदवार महिलालाई अघि बढाउन पाउनु आम आमा, दिदीबहिनीसहित जनसमुदायका लागि ठूलो गौरवको बिषय बन्न पुगेको छ । यो गौरव र प्रतिष्ठालाई स्थापित गर्न पनि गठबन्धनलाई अत्यधिक मतले विजयी गराउनुपर्ने थप दायित्व हामीमाझ आएको छ । प्रदेशसभा सदस्यका लागि पनि हामीले दुबैतर्फ शान्ति, लोकतन्त्र र विकासमा अविचलित नेतृत्व गर्दै आएका युवा नेताहरुलाई अघि सार्न पाउनु आम युवासहित जनसमुदायका लागि गौरवको बिषय बन्न पुगेको छ ।

अहिले राजनीतिक क्षेत्रमा तमाम विकृति र विसंगति बढिरहेका छन् । राजनीति पेशा होइन, सेवा हो भन्ने मूलमन्त्रका साथ शुद्ध सेवामुखी राजनीति स्थापित गर्नैपर्ने अवस्थामा हामी आइपुगेका छौं । राजनीतिक परिवर्तनसँगै सबै क्षेत्रमा रुपान्तरण आउने आम जनताको ठूलो अपेक्षा अझै पूरा हुन सकेको छैन । यसबाट जनतामा निराशा र आक्रोश बढ्दै जानु समग्रमा लोकतन्त्रकै लागि शुभ संकेत होइन । त्यसैले विकृतिमुक्त राजनीतिक अभ्यास अघि बढाउँदै हरेक क्षेत्रमा पद्धति र सुशासन स्थापित गर्ने सवाल हामीलाई गहिरो गरी बोध भएको छ । भ्रष्टाचार र कुशासनको अन्त्य गर्न लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गर्न, सार्वजनिक सेवालाई पारदर्शी र प्रभावकारी बनाउन, सबै तहका सरकारलाई मजबुत बनाउन, विकासमा जनताको सहभागिता र अपनत्वबोध स्थापित गराउन, दिगो विकासको लक्ष्य प्राप्त गर्न, वातावरणको संरक्षण गर्न, स्थानीय कला संस्कृति र सम्पदाको जगेर्ना गर्न, स्थानीय उत्पादन र उत्पादकत्व बृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रको जग बलियो बनाउन र रोजगारीका अवसरहरु सिर्जना गर्न हाम्रो गठबन्धनका उम्मेदवारहरुलाई आफ्नो अमूल्य मत दिई बिजयी गराउन यहाँहरुसमक्ष हार्दिक अपिलगर्दछौं ।

हामीलाई यहाँबाट निर्वाचित गराएर प्रतिनिधिसभा तथा प्रदेशसभामा नेतृत्व गर्ने अवसर दिनुभयो भने निम्नलिखित कार्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछौः

शिक्षा
मानव संशाधनको आधारः शैक्षिक क्षेत्रमा आमूल सुधार

शिक्षा राष्ट्र विकासका लागि पूर्वाधारको पनि पूर्वाधार हो । गुणस्तरीय, वैज्ञानिक र सर्वसुलभ शिक्षा र शिक्षामा सबैको पहुँच स्थापित गर्न निम्नाअनुसारको व्यवस्था गरिनेछ ः
१. संविधानको मर्मअनुसार कक्षा १२ सम्म निःशुल्क र प्रबिधियुक्त गुणस्तरीय शिक्षा सुनिश्चित गरिने छ ।
२. सामुदायिक विद्यालयहरुलाई पूर्वाधार तथा सुविधासम्पन्न बनाउँदै शैक्षिक गुणस्तर बृद्धि गरिने छ ।
३. नेपाल संस्कृत विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सा शिक्षा, कृष्णसेन बहुप्राबिधिक शिक्षालय, घोराही इञ्जिनियरिङ क्याम्पस, नर्सिङ कलेजहरु, सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई प्रभावकारी बनाएर दाङलाई शैक्षिक हबको रुपमा स्थापित गरिने छ ।
४– महेन्द्र बहुमुखी क्याम्पसको भौतिक पूर्वाधार निर्माण, शैक्षिक सामग्री तथा प्रविधियुक्त पुस्तकालय विकास गर्न पहल गरिने छ ।
५. नेपाल संस्कृत विश्वविद्यालयलाई पूर्वीय दर्शन र सांस्कृतिक अध्ययन केन्द्रको रुपमा विकास गर्दै लैगिंक तथा महिला अध्ययन विभाग स्थापना गर्न पहल गरिने छ ।
६. विभिन्न धार्मिक संस्थामा सञ्चालन गरिएका गुरुकुल, मदरसा, गुम्बा पद्धतिमा आधारित शैक्षिक क्रियालापलाई प्रोत्साहन गरिने छ । त्यसका लागि भौतिक पूर्वाधार, शैक्षिक सामग्री, दिवा खाजालगायतको ब्यवस्था गरिने छ ।
७. मजदूर तथा विपन्न परिवारका जेहेन्दार छात्रछात्राहरुलाई बिशेष नीति बनाई प्राबिधिक शिक्षाको अवसर प्रदान गरिने छ ।
८. विभिन्न सीपमूलक तालिम प्रदायक संस्थाहरुसँग समन्वय गरी सरकारी सेवा तथा संस्थान र आयोगहरुमा प्रतिष्पर्धा गर्न चाहनेहरुका लागि तयारी कक्षा तथा विभिन्न पेशा ब्यवसायमा प्रवेश गर्नेहरुका लागि निःशुल्क उद्यमशील तालिमको ब्यवस्था गरिने छ ।
९. दाङमा महिला विश्वविद्यालय स्थापनाका लागि पहल गरिने छ ।
१०.घोराही बालमन्दिरमा स्थापित फरक क्षमताका बालबालिकाले अध्ययन गर्ने विद्यालयलाई बिशेष विद्यालयको रुपमा स्थापित गरिने छ ।
११. बिपन्न थारु, मगर, दलित, सीमान्तकृत, सहिद तथा बेपत्ताका परिवार, द्वन्द्वपीडित, हिंसापीडित र मुक्त कम्लरी तथा उनीहरुका सन्तानलाई बिशेष छत्रावृत्ति प्रदान गरी औपचारिक शिक्षा प्रदान गर्न सहयोग पु¥याइने छ ।
११. बंगलाचुली गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर विकासमा बिशेष जोड दिइने छ । साथै बिपन्न परिवारका विद्यार्थीको पोशाक र शैक्षिक सामग्रीको समेत अभाव रहेकाले संघ, प्रदेश र पालिकाको दायित्वबाट बिशेष शैक्षिक कोष बनाएर त्यसबाट आवश्यक सहयोग प्रदान गर्ने ब्यवस्था मिलाइने छ ।
१२. कक्षा १० उत्तीर्ण गरेर आर्थिक अभावकै कारण माथिल्ला तहको शिक्षा अध्ययनबाट वञ्चित हुने स्थितिको अन्त्य गर्न छात्रवृत्तिका लागि बिशेष योजना बनाइने छ ।
१३. प्राबिधिक शिक्षालयहरुमा सीप सिकाउने र उत्पादन बढाउने उद्देश्यले सिक्दै कमाउँदै (‘लर्निङ एण्ड अर्निङ) कार्यक्रम लागु गर्न पहल गरिने छ ।
१४. पद्योदय, सिद्धरत्ननाथलगायत सामुदायिक क्याम्पसलाई बजेटको व्यवस्थासहित स्तरोन्नति गरिने छ ।
१५. सबै सामुदायिक विद्यालयहरुमा एउटै शैक्षिक कार्यक्रम दोहोरिने भएकाले कक्षा ११ र १२ तथा प्राविधिक शिक्षातर्फ आपसी समन्वयमा ‘एक विद्यालय एक नमूना शैक्षिक कार्यक्रम’को व्यवस्थापन गर्न पहल गरिने छ ।
१६. सबै सामुदायिक विद्यालयमा व्यवस्थित पुस्तकालय स्थापना गरिने छ भने सर्वोदयलगायतका सामुदायिक पुस्तकालयलाई थप व्यवस्थित गर्न पहल गरिने छ ।
१७. शैक्षिक संस्थाहरुमा अपांगमैत्री संरचना निर्माणमा बिशेष जोेड दिइने छ ।
१८. बंगलाचुली गाउँपालिकामा आंगिक क्याम्पस स्थापना गरिने छ ।

स्वास्थ्य
स्वस्थ जीवन नागरिकको अधिकारः गठबन्धन सरकार जिम्मेवार

१. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा प्राप्ति प्रक्रिया पूरा गरी नर्सिङ, एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम अविलम्ब शुरु गर्न पहल गरिने छ । साथै प्रतिष्ठानमा महिलाहरुलाई परामर्शसहित निःशुल्क प्रजनन् स्वास्थ्य सेवा उपलब्ध गराउन ‘महिला स्वास्थ्य कक्ष’ स्थापना गरिने छ । प्रतिष्ठानमा ‘सिकलसेल एनिमियाँ उपचार कक्ष’ सञ्चालन गरिने छ भने समुदायस्तरमा परीक्षण शिविर सञ्चालन गरिने छ । प्रतिष्ठानको आकस्मिक कक्षमा २४ सै घण्टा विशेषज्ञसहितको सेवाका लागि संघीय सरकारबाट आवश्यक बजेट व्यवस्थापन गरिने छ । डायलासिस, आइसियू र एनआइसियूको प्रभावकारी व्यवस्थापन गरिने छ ।
२. यस क्षेत्रमा बसोबास गर्ने गर्भवती र सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिने छ ।
३. ६० बर्षभन्दा माथिका नागरिक, गर्भवती महिला, दीर्घरोगी, अपांगता भएका, विपन्न, द्वन्द्वपीडित, एकल महिला तथा स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसकेका नागरिकका लागि निःशुल्क स्वास्थ्य विमासहित घरमै स्वास्थ्यकर्मी पुगेर निःशुल्क नियमित परीक्षण, परामर्श र उपचारको व्यवस्था गरिने छ ।
४.. नेत्रज्योति संघको सहकार्यमा घोराही र बंगलाचुलीमा आँखा अस्पताल सञ्चालन गरिने छ ।
५. सहुलियत र सहज औषधि वितरणका लागि गाउँ–नगर फार्मेसी सञ्चालन गरिने छ ।
६. अस्पताल, विद्यालय र धार्मिक संस्थानजिक मदिराको बिक्री वितरणमा रोक लगाउन पहल गरिने छ ।
७. प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीको स्तरबृद्धि गरी आकस्मिक उपचार सेवासमेत वडामै उपलब्ध हुने ब्यवस्था गरिने छ । साथै एम्बुलेन्स नभएका सबै स्वास्थ्य संस्थामा एम्बुलेन्सको व्यवस्था गरिने छ ।
८. विद्यालयहरुमा लागु औषध दुव्र्यसन न्यूनीकरण र जंक फूड नियन्त्रणका लागि सचेतना अभियान सञ्चालन गरिने छ ।
९. अतिविपन्न तथा मजदूरहरुका लागि परिचयपत्रका आधारमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरी निःशुल्क उपचारको ब्यवस्था मिलाइने छ ।
१०. मानसिक रोग प्रभावितका लागि निःशुल्क मनोविमर्श, उपचार, संरक्षण र पुनस्र्थापनाको उद्देश्यसहित आवासीय सुविधासहितको ‘जनता स्वास्थ्य केन्द्र’ सञ्चालनमा ल्याइने छ । घोराहीको कुहिरेपानीमा रहेको प्रेरणाका लागि अभियानले सञ्चालन गरेको पुनस्र्थापना केन्द्रलाई सरकारी लगानीमा मानसिक रोग अस्पतालको रुपमा विकास गरिने छ ।
११. घोराही १८ नवलपुुर क्षेत्रमा गिरिजाप्रसाद कोइराला मुटुरोग अस्पताल स्थापना गरिने छ ।
१२. बंगलाचुली अस्पतालमा सरकारी दरबन्दी कायम गरी विशेषज्ञ उपचार सेवासहितको ‘नमूना अस्पताल’को रुपमा विकास गरिने छ ।
१३. लुम्बिनी प्रादेशिक आयुर्वेदिक औषधालय बिजौरीलाई ‘प्रादेशिक आयुर्वेदिक औषधि उत्पादन केन्द्र’को रुपमा विकसित गरिने छ ।
१४. स्वस्थ आहारविहार, पोषण, व्यायमलगायत स्वस्थ जीवनशैली अवलम्बन गर्न ‘मेरो गाउँ नगर स्वस्थ अभियान’ सञ्चालन गरिने छ ।
१५. वैकल्पिक उपचारका लागि पतञ्जली स्वस्थ्य जीवन पद्धति (आयुर्वेद, होमियाप्याथी, योग, प्राकृतिक चिकित्सा, अक्यूपन्चर, अक्यूप्रेसर, ध्यान केन्द्र) आदिलाई प्रबर्धन गरिने छ ।
१६. खगेन्द्र नवजीवन केन्द्र झिंगौरालाई अर्थोपेडिक अस्पतालको रुपमा विकास गरिने छ । १७. सर्रा बाल अस्पताललाई व्यवस्थितरुपमा सञ्चालन गरिने छ ।
१८. गाउँगाउँमा अहोरात्र खटेका महिला स्वास्थ्य स्वयंसेविकाहरुको उचित सम्मान र प्रोत्साहनका लागि आवश्यक नीति निर्माण गरिने छ ।

कृषि/सिंचाई/तटबन्ध
अर्थतन्त्रको प्रमुख आधारः कृषिमा आमूल सुधार

१. कृषिको ब्यावसायिकरण र आधुनिकीकरणका लागि कम्तीमा पशु तथा बाली विज्ञसहित हरेक वडामा कृषि प्राविधिककको ब्यवस्था गरिने छ ।
२. उपलब्ध साधन स्रोतको सिमाभित्र रही कृषकहरुलाई अनुदान र सहुलियतपूर्ण ऋण सहयोग उपलब्ध गराइने छ । कृषि ऋण सहज बनाउन प्रदेश सरकारको दायित्व हुने गरी कृषि विकास बैंकमार्फत शून्य ब्याजदरमा कम्तीमा तीन महिनासम्म उपयोग गर्ने गरी २५०००।– सम्मको ‘किसान क्रेडिट कार्ड’ को व्यवस्था गरिने छ ।
३. किसानलाई बढीमा पाँच बर्षसम्मको ब्याज अनुदानमा कृषि ऋणको व्यवस्था मिलाइने छ ।
४. वातावरण र भौगोलिक बिबिधताका आधारमा ‘एक वडा, एक नमूना उत्पादन’ कार्यक्रमलाई अगाडि बढाइने छ । साथै प्रत्येक वडामा ‘घुम्ती शीत भण्डारण’को स्थापना गरिने छ ।
५. यस क्षेत्रमा मह प्रशोधन केन्द्र स्थापना गरिने छ । पछिल्लो समय दाङ जिल्ला मह उत्पादनको हव बन्दै गएकाले सामूहिक मौरीपालन गर्ने किसानलाई अनुदानको रुपमा आधार चाकासहितको घार उपलब्ध गराइने छ ।
६. पशुपंक्षी र माछापालन व्यवसायलाई बिशेष प्रोत्साहन गर्न विद्युल महसुल छूटको व्यवस्था गरिने छ ।
७. उत्पादन बृद्धिसँगै उत्पन्न हुने बजारीकरणको समस्या समाधानका लागि टोलटोलमा समूह निर्माण तथा सहकारीका माध्यमबाट ‘कृषि एम्बुलेन्स’मार्फत आपूर्तिको व्यवस्था गरिने छ ।
८. कृषि उत्पादनको न्यूनतम समर्थनमूल्य तोकिने छ ।
९. हरेक वडामा कृषि बजारको व्यवस्थापन गरिने छ ।
१०– उत्पादनमा संलग्न कृषकको सीप परीक्षण गरी प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरिने छ । जसको आधारमा कृषक परिचयपत्र बनाइ ‘कृषि विमा र कृषक पेन्सन’ कार्यक्रम अघि बढाइने छ ।
११. हरेक बर्ष खेती लगाउनुअघि नै सबै वडाका कृषि सहकारीमार्फत पर्याप्त कृषि मलको उपलब्धता सुनिश्चित गरिने छ ।
१२– ब्यावसायिक र आधुनिक खेती गर्न चाहने कृषक, कृषि सहकारी वा कृषक समूहलाई सहज ऋण ऋण, निःशुल्क वीउ र कृषि औजार उपलब्ध गराउनुका साथै प्राविधिक सहयोग गरिने छ । पशुपंक्षी र बालीनालीमा विमाको व्यवस्था गरिने छ ।
१३. तोरी, मुसुरो, तिल्की र सिम्ठारो धान, मूला, काउली, अदुवा, पिंडालु, बेसारलगायतका रैथाने बालीको वीउ संरक्षणका लागि कृषि सहकारीहरुलाई अनुदानको व्यवस्था गरिने छ ।
१४. बंगलाचुली गाउँपालिकामा बाख्रापालनको पकेट क्षेत्र स्थापनाका लागि अनुदान व्यवस्था गरिने छ ।
१५. दूध र मासु उत्पादनमा आत्मनिर्भर बन्दै गएको दाङमा अझै व्यवस्थित गर्ने कार्यक्रम बनाइने छ ।
१६. सहकारीमार्फत दूग्धजन्य उद्योग स्थापना गरी रोजगारी बृद्धि गरिने छ । शिवशंकर दूग्ध सहकारी संस्थासहित अन्य विषय सहकारीको स्तरोन्नति गरी उत्पादन र बजारीकरणमा अनुदानको व्यवस्था मिलाइने छ ।
१७. हरेक वडामा कृषि उत्पादनलाई प्राथमिकता राखेर बोरिङ सिंचाइँको व्यवस्था गरिने छ ।
१८. बंगलाचुलीहित पहाडी क्षेत्रमा लिफ्ट र थोपा सिंचाई कार्यक्रम सञ्चालन गरिने छ ।
१९. ग्वारखोला–तेलिया सिंचाइँ नगरलाई मनिकापुर, दूधराश, बघौसी, झिंगै, मंगरीसम्म विस्तार गरिने छ ।
१७. बिजौरी ग्वारखोला तटबन्धलाई प्राथमिकताका साथ अघि बढाइने छ ।
१८. चौध मौजालाई समेट्ने मल्लवारे कुलो सिंचाई आयोजना र मानपुरे कुलो सिंचाइ आयोजनालाई प्राथमिकतामा राखेर स्तरबृद्धि गरी सञ्चालन गरिने छ ।
१९. सौडियारे कुलो, सत्गैया कुलो, लख्वारे कुलोलगायत यस क्षेत्रमा सञ्चालित पुराना नहर र कुलो पक्की, संरक्षण र नियमित मर्मतका लागि बजेट व्यवस्था गरिने छ ।
२०. बबई नदी, कटुवाखोला, सेवारखोला, हापुरखोला, पत्रेखोला, सिस्नेखोलालगायत विभिन्न नदी तथा खोलाको कटान रोक्न तटबन्धनको कामलाई प्राथमिकताका साथ अघि बढाइने छ ।

उद्योग/व्यवसाय/रोजगारी
नागरिक स्वरोजगारः समृद्धिको आधार

१. यस निर्वाचन क्षेत्रभित्र दाङको औद्योगिक क्षेत्र स्थापना गरी सञ्चालनमा ल्याइने छ । घोराही जन्द्रागाउँदेखि दक्षिणको क्षेत्रमा औद्योगिक ग्राम स्थापना गरिने छ ।
२. दाङमा सञ्चालित सिमेन्टलगायत अन्य उद्योगहरुबाट सिर्जित वातावरणीय प्रदूषण व्यवस्थापन गर्न बिशेष जोड दिइने छ ।
३. स्थानीय स्रोतमा आधारित घरेलु तथा साना उद्योगहरुको स्थापना गरी उनीहरुले उत्पादन गरेका वस्तु तथा सेवाको बजारीरणमा सहयोग पु¥याउन निजी क्षेत्र र सहकारीलाई प्रोत्साहित गरिनेछ ।
४. स्थानीय कच्चा पदार्थ, स्थानीय कला र सीप, स्थानीय प्रबिधि र जनशक्ति प्रयोग गर्ने उद्योगहरुलाई सहुलियत प्रदान गरिने छ ।
५. ‘गाउँगाउँमा सहकारी, घरघरमा स्वरोजगारी’ कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेशस्तरमा सहकारी प्रबर्धन कोष स्थापना गरी सहकारीहरुलाई सहुलियत व्याजदरमा ऋण उपलब्ध गराइने छ ।
६. वैकल्पिक औद्योगिक सडक निर्माण र विस्तारका लागि तत्काल पहल गरिने छ । सिमेन्ट उद्योगको ढुवानीका लागि वैकल्पिक सडक तथा रोपवेको ब्यवस्था गरिने छ ।
७. कोइलाबास नाका प्रभावकारीरुपमा सञ्चालन गरी सहज आयात निर्यातको व्यवस्था मिलाइने छ ।
८.उद्योग व्यवसायमा कार्यरत श्रमिकहरुलाई नेपाल सरकारको मापदण्डबमोजिमको न्यूनतम ज्याला, विमालगायतका सुविधा कार्यान्वयनका लागि पहल गरिने छ ।
९. उद्योगी व्यवसायीहरुलाई व्यवसायका आधारमा सहुलियत ऋणको व्यवस्थापन गर्न प्रदेश सरकारमार्फत पहल गरिने छ ।
१०. कर प्रणालीलाई सरलीकृत गर्न आवश्यक संरचनाको व्यवस्थापन गरिने छ ।
११. वन उपभोक्ता समूहहरुको अगुवाई वनजन्य उद्योगमार्फत आयआर्जन बृद्धि गरिने छ ।

सडक/यातायात
दिगो विकासको आधारः सडक पूर्वाधार, कृषिमा रोजगार

१– लामो समयदेखि अलपत्र घोराही–तुलसीपुर चार लेन सडक विस्तार बढीमा दुई बर्षभित्र पूरा गरिने छ ।
२– हालसम्म पनि सडक पुग्न नसकेका वडाहरुमा एक बर्षभित्र नै स्तरीय सडक निर्माण गरिने छ ।
३. कालोपत्रे हुन बाँकी सडकहरुलाई क्रमिकरुपले स्तरीय र टिकाउ हुने गरी कालोपत्रे गर्दै लगिने छ ।
४– कालोपत्रे गरेर भत्केका यस निर्वाचन क्षेत्रभित्रका सम्पूर्ण सडक एक बर्षभित्र मर्मत गरिने छ ।
५. मदन भण्डारी लोकमार्गको घोराही–मुर्कुटी–प्युठान खण्डलाई पुनः कालोपत्रे गरी राष्ट्रिय राजमार्गको रुपमा विकास गरिने छ ।
६. घोराही–लमही सडक विस्तार गर्नुका साथै चौपट्टा–मुसोट वैकल्पिक सडक निर्माणको पहल गरिने छ ।
७. घोराही–मसिना सैघाहुँदै स्वर्गद्वारी जोड्ने सडकलाई स्तरोन्नति गरी कालोपत्रे गरिने छ ।
८. घोराही–सिमलतारा–मूलाबारी–बिर्खे–चैते (बिपी मार्ग)लाई स्तरोन्नति गरी कालोपत्रे गरिने छ ।
९.मूलाबारी–झिंगा–छापडाँडा–कोइरालेहुँदै प्युठान जोड्ने सडकलाई स्तरोन्नति गरी कालोपत्रे गरिने छ ।
१०. लालमटिया–हाँसीपुर–मुर्कुटी–स्वर्गद्वारी (गणतन्त्र मार्ग)लाई स्तरोन्नति गरी कालोपत्रे गरिने छ ।
११. घोराही–मसिना–मर्पेस–बोझपोखरा–उजामन्दिर–स्वर्गद्वारी सडकलाई स्तरोन्नति गरी कालोपत्रे गरिने छ ।
१२. यस क्षेत्रका हरेक वडालाई घोराहीसँग जोड्ने कृषि स्मार्ट सडकको निर्माण गरिने छ ।
१३. होलेरी–नारायणपुर–रिहार सडक निर्माण पूरा गरिने छ ।
१४. दहवन–ग्वारखोला बिजौरी सडक स्तरोन्नति गरी कालोपत्रको पहल गरिने छ ।
१५. बिजौरी–छिल्लीकोट–सक्राम–दूधराश पर्यटन मार्ग स्तरोन्नति गरी कालोपत्रे गरिनेछ ।
१६. घोराही–घोरदौरा सडक स्तरोन्नति गरी कालोपत्रे गरिनेछ ।
१७. घोराहीदेखि सैघा, कमरकोट, वस्तीकोट, मौलाकोट, चाक्लीघाट, सोरेठी, चाँचला, बसेरी, रज्जेमन्नामे, माले, खुङ्कोट, माराकोटलगायतका विकट क्षेत्रहरुमा बाह्रै महिना यातायात सञ्चालन हुने गरी सडक निर्माण, सुधार र स्तरोन्नति गरिने छ ।
१८. घोराही–धारपानी सडक स्तरोन्नति गरी कालोपत्रे गरिने छ ।
१९. जन्द्रागाउँदेखि सौडियारसम्मको तल्लो दामोदर सडक स्तरोन्नति गरी कालोपत्रे गरिने छ ।
२०. घोराही–हापुर–रक्षाचौर सडकलाई एक बर्षपभित्र कालोपत्रे गरी वैकिल्पिक मार्गको रुपमा प्रयोगमा ल्याइने छ ।
२१. कुहिरेपानी–सर्रा दामोदर सडकलाई कालोपत्रे गरी ठूला सवारी साधनको वाइपास रोडको रुपमा प्रयोगमा ल्याइने छ ।
२२. यस क्षेत्रका गाउँनगर समेट्ने गरी निःशुल्करुपमा अपांगमैत्री विद्युतीय नगरबस सेवा सञ्चालन गरिने छ ।
२३. सघन शहरी क्षेत्रभित्र बनेका सडक भत्कने, हिलो र धुलोले बजार कुरुप बन्दै जाने र आवागमन प्रभावित हुने अवस्था बढ्दै गएकाले त्यस्ता ठाउँमा अविलम्ब सुधारका लागि ‘पूर्वाधार एम्बुलेन्स’ खडा गरी भत्केको खबर प्राप्त हुनेबित्तिकै मर्मत गर्ने गरी स्रोत साधन तथा जनशक्ति परिचालन गर्ने नीति बनाइने छ ।
२४.सहिदमार्गको घोराही–होलेरी खण्डलाई तत्काल पुनःकालोपत्रे गरी आवागमन सहज गरिनेछ ।
२५. अहिलेको विमानस्थललाई ठूला जहाज बस्ने गरी स्तरोन्नति गरेर उडान नियमित गरिने छ भने उपयुक्त स्थानमा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पहल गरिने छ ।

जलस्रोत/वातावरण/सरसफाइ
स्वच्छ पानीः स्वस्थ जिन्दगानी

१– घोराही खानेपानीलगायत यस निर्वाचन क्षेत्रभित्र रहेका सबै खानेपानी आयोजनाको स्तरोन्नति गरी पानीको स्रोत बृद्धि, शुद्धिकरण र आपूर्ति सहज बनाइने छ ।
२– उपलब्ध पानीका स्रोतहरु खोला, सोता, झरना, जरुवा, सिमसार क्षेत्रको उचित संरक्षण गरिने छ ।
३– बंगलाचुली गाउँपालिकाले शुरु गरेको ‘एक घर, एक धारा’ कार्यक्रमलाई सफल बनाउन संघ र प्रदेश सरकारबाट बजेटको व्यवस्था गरिने छ ।
४. आवश्यकता पहिचान गरी संभावित सबै स्थानहरुमा डीप बोरिङ, पोखरी र जलाशय निर्माणलाई प्राथमिकता साथ अगाडि बढाइने छ ।
५– पहाडी क्षेत्रमा पानीका स्रोतहरु निर्माण गर्न र संभावित स्थानमा बर्षातको पानी संकलन कार्य अघि बढाइने छ ।
६. पानीका स्रोतहरु, पानीको दिगो उपलब्धता, मरुभूमिकरणको र नियन्त्रणसम्बन्धी वैज्ञानिक अध्ययन अनुसन्धान गरी जलीय गुरुयोजना निर्माण गरिने छ ।
७. घोराही उमहानगरपालिका १९ लगायत आधारभूत खानेपानी सेवा उपलब्ध नभएका वस्तीमा स्रोत पहिचान गरी खानेपानीको व्यवस्थापन गरिने छ ।
८. घोराहीको घोरदौरालगायत पानीको स्रोत नभएका पहाडी वस्तीमा तत्काल लिफ्टमार्फत खानेपानीको व्यवस्था गरिने छ ।
९.दाङलाई हराभरा बनाउने बहुचर्चित माडी डाइभर्सन आयोजना यथासक्य सञ्चालनमा ल्याउन पहल गरिने छ ।
१०.. हरित, स्वच्छ र सुन्दर वस्ती निर्माणका लागि स्थानीय जनतालाई प्रोत्साहित गर्ने कार्यक्रम सञ्चालन गरिने छ ।
११. आवासीय क्षेत्र, होटल, अस्पताल, वर्कशपलगायतका स्थानबाट उत्पन्न हुने फोहर, फोहर पानी तथा ढल ब्यवस्थापनका लागि स्रोतमै फोहर उत्पादन न्यूनीकरण गर्ने र उत्पादित फोहर तथा फोहर पानीलाई उचित ब्यवस्थापन गरिने छ ।
१२– फोहर ब्यवस्थापनलाई आयआर्यन र रोजगारीको माध्यम बनाइने छ ।
१३– फलाम, प्लाष्टिक, धातुजन्य नगल्ने फोहर पदार्थलाई स्थानीयबासी र निजी क्षेत्रसँगको सहकार्यमा उचित ब्यवस्थापन गरिने छ । अस्पतालबाट निष्काशन हुने फोहरलाई छुट्टै व्यवस्थापन गरिने छ ।
१४. बढ्दो औद्योगिकीकरण र प्राकृतिक स्रोत साधनको दोहनका कारण यस क्षेत्रमा पानीका मुहान सुक्दै गएकाले त्यसको निराकरणका लागि मुहान संरक्षण, हाइड्याम निर्माणलगायत योजना सञ्चालन गरिने छ ।
१५. सामुदायिक वनको प्रभावकारिता र महत्वलाई हृयंगम गरी यस निर्वाचन क्षेत्रभित्रको वन क्षेत्रको संरक्षण र विस्तारका लागि प्रदेश सरकारबाट यथोचित कार्यक्रम बनाइने छ । वनको स्रोत साधनलाई वन समूहहरुको अगुवाईमा जीविकोपार्जनसँग जोड्ने कार्यक्रम बनाइने छ ।
१६. दाङको उत्तरी क्षेत्रमा सौन्दर्यजन्य पुष्प विरुवा रोपन अभियान सञ्चालन गरी दाङको हरियाली तथा सौन्दर्य बृद्धि गरिने छ । लमही–घोराही, घोराही–तुलसीपुर र घोराही–मुर्कुटी सडक खण्डमा ‘सडक श्रृंगार अभियान’ सञ्चालन गरिने छ ।
१७. यस क्षेत्रका विभिन्न स्थानमा निर्मित कृत्रिम जलासयहरु जोखिमयुक्त बन्दै गएकाले मानवीय क्षति रोक्ने कार्यक्रम बनाइने छ ।

विद्युतीकरण
उज्यालो दाङ, समृद्ध दाङ

१. यस निर्वाचन क्षेत्रभित्रका हरेक घर परिवारलाई उज्यालो कार्यक्रमार्फत जोडिने छ ।
२. हालसम्म विद्युतीकरण हुन नसकेका स्थानमा राष्ट्रिय विद्युत प्रसारणमार्फत जोडिने छ ।
३. बंगलाचुली गाउँपालिकामा सव स्टेशन निर्माण गरी विद्युत प्रसारण प्रभावकारी बनाइने छ ।
३. न्यून भोल्टेजको समस्या भएका स्थानहरुमा विद्युत प्राधिकरणसँग सहकार्य गरी थ्रीफेज तार र ट्रान्सफर्मर जडान गरी समस्या समाधान गरिने छ ।
५– विद्युत विस्तार नभएका र भौगोलिक कठिनाइ भएको वस्तीमा अनुदानमा सौर्य उर्जा उपलब्ध गराइने छ ।
६. विद्युत पुग्न नसकेका दुर्गम वस्तीलाई अबको पाँच बर्षभित्र ‘उज्यालो वस्ती’मा परिणत गरिने छ ।
७. अतिविपन्न परिवारलाई विपन्न परिचयपत्रका आधारमा २० यूनिटसम्मको विद्युत निःशुल्क उपलब्ध गराइने छ ।

भूउपयोग/वस्ती विकास/सुरक्षित आवास
व्यवस्थित वस्ती, सुरक्षित घरः सुन्दर र सभ्य गाउँ सहर

१. बजार क्षेत्रलाई थप ब्यवस्थित, सफा र सुन्दर राख्न विद्यमान नियम कानूनलाई व्यवस्थित गरिने छ ।
२. खेतीयोग्य जमीनलाई संरक्षण गरी उत्पादनमा मात्रै प्रयोग गर्ने नीति बनाइने छ ।
३. जनसंख्याको बढ्दो चापलाई मध्यनजर गर्दै ब्यवस्थित एकीकृत आवास तथा वस्ती विकास योजनालाई अगाडि बढाइने छ ।
४. पहिरोको जोखिममा रहेका बंगलाचुलीलगायतका पहाडी वस्तीको पहिचान गरी त्यहाँका बासिन्दालाई स्थानान्तरण गरेर सुरक्षित नमुना वस्ती स्थापना गरिने छ । साथै बबई नदी र अन्य खोलाबाट खतरामा रहेको वस्तीहरुको पनि पहिचान गरी सुरक्षित बसोबासको व्यवस्था मिलाइने छ ।
५. घरवारविहीन, सुकुम्वासी, भूमिहीन परिवारका लागि स्थानीय तह र भूमि आयोगसँग समन्वय गरी लालपूर्जासहित तत्काल जग्गा व्यवस्थापन गरिने छ ।
६. सम्बन्धित क्षेत्रका विज्ञहरुसँगको परामर्शमा सुरक्षित आवास निर्माण कार्यक्रमलाई अगाडि बढाइने छ ।
७. यस निर्वाचन क्षेत्रभित्रको सार्वजनिक जमीनको वास्तविक अभिलेख तयार पारी आवश्यकताअनुसार वैज्ञानिक प्रयोग, संरक्षण र खुला क्षेत्रका रुपमा विकास गरिनेछ ।
८. यस क्षेत्रमा रहेको सम्पूर्ण वस्तीहरुमा आधारभूत सेवा उपलब्ध भए नभएको एकिन गरी एकीकृतरुपमा सेवा प्रवाहको व्यवस्था मिलाइने छ ।
९.नारायणपुर, दुधराश, बिजौरी, कमिरेचौर, मुर्कुटी, गोग्ली, दुईखोली, राम्चेलगायतका उदीयमान बजारलाई थप व्यवस्थित गरिने छ ।
१०. आगामी पाँच वर्षभित्र यो निर्वाचन क्षेत्रमा कोही पनि घरवारविहीन रहनुपर्ने छैन । संविधानको व्यवस्थाअनुसार पाउन नसकेका विपन्न दलित तथा सीमान्तकृत समुदायका सबै परिवारले सुरक्षित आवास पाउने छन् भने बिपन्नताका कारण खरको छानोमुनि बस्न बाध्य परिवारका लागि संघ, प्रदेश र स्थानीय सरकारको समन्वय तथा सहयोगमा ‘खरको छानोमुक्त घर’ निर्माण गरिने छ ।
११. स्थानीय तहसँगको समन्वयमा जोखिम व्यवस्थापन कोष व्यवस्थित गरिने छ । बर्षा सुरु हुनुपूर्व कुला, नहर तथा जोखिमका वस्तीहरुको प्राविधिक अनुगमन गरी जोखिम न्यूनीकरण गरिने छ ।
१२. बबई नदी क्षेत्र, सेवार गुर्जेखोला, घनिबगियालगायतका आवश्यक स्थानमा आधुनिक शवदाह गृह निर्माण गरिने छ ।

पर्यटन
जनताको रहरः पर्यटकीय गाउँ शहर

१– धार्मिक मठ मन्दिरहरुको जीर्णोद्धार, संरक्षण र प्रबर्धन गर्दै पर्यटकीय क्षेत्रको रुपमा विस्तार गरिने छ ।
२. कृषि पकेट क्षेत्र तथा जलाशयहरुलाई सौन्दर्यकरण गरी कृषि तथा पर्यापर्यटनको विकास गरिने छ ।
४. उद्योग वाणिज्य संघ, यातायात ब्यवसायी तथा होटल ब्यवसायीसँग सहकार्य गरी स्थानीय पर्यटकीयस्थलहरुको प्रचारप्रचार गरिने छ ।
५. विभिन्न स्थानमा मनोरञ्जन पार्क निर्माण र सञ्चालनका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरिने छ । समुदायले यस्ता पार्क सञ्चालन गर्न चाहेमा पार्क पूर्वाधार निर्माणमा अनुदानको ब्यवस्थाप गरिने छ ।
६. स्थानीय कला संस्कृतिलाई पर्यटन प्रबर्धनसँग जोडिने छ ।
७. यस क्षेत्रभित्र रहेका प्रशिद्ध धार्मिकस्थलहरु स्वर्गद्वारी आश्रम, अम्बिकेश्वरी मन्दिर, गोरक्षरत्ननाथ मठ चौघेरा, धारपानी मन्दिर, बराह क्षेत्र बाह्रकुने, मन्ठोरिया भवानी मन्दिर नारायणपुर, उजादेवी भगवती मन्दिर, बिजौरीको शिवालय, राधाकृष्ण मन्दिर गुलरिया, बंगलाचुली शिवालय, रतननाथ मन्दिर थानगाउँ, कालिकामालिका मन्दिर छिल्लीकोट, गढीटाकुरा भगवती मन्दिर, बौद्ध गुम्बा, मस्जिद, चर्चलगायत धार्मिक सम्पदाहरुको संरक्षण र सम्बर्धनमा जोड दिइने छ ।
८.. यस क्षेत्रका प्रमुख पर्यटकीयस्थल बाह्रकुने, ज्यामिरे, मौलाकोट, घोरदौरा, सवारीकोट, भोटे दह, ज्यामिरे दह, चेपे दह, लरैना ताल, छिल्लीकोट, ंबंगलाचुली, गढीलेक, रानीथुम्की, धिमधिमे, जलकुण्डी गुफा, हेमन्तपुरको दूधेगजेरी जलाशयमा शिव मन्दिर निर्माणलगायतका पर्यटकीय पूर्वाधार निर्माण गरिने छ ।
१०. बिजौरीको गिद्ध रेष्टरेन्टमा अवलोकन टावर निर्माण गरिने छ ।
११. डिपिआर तयार भएको संक्रामको ‘क्रान्ति संग्रहालय’ निर्माणको काम तत्काल थालिने छ ।
१२. हेमन्तपुरको दुधेगजेरी जलाशय–क्रान्ति संग्रहालय–गिद्ध रेष्टुरेन्ट–छिल्लीकोटहुँदै स्वर्गद्वारीसम्मको पर्यटकीय पदमार्ग निर्माण गरिने छ ।
१३. घोराहीको बराहथान शिवमन्दिरदेखि ज्यामिरे दह सिमसारहुँदै मौलाकोट बराह मन्दिर भ्यूटावरसम्मको पदमार्ग निर्माण गरी एकीकृत पर्यटन विकास योजना बनाइने छ ।
१३. यस निर्वाचन क्षेत्रका उत्तरी भेगलाई प्राथमिकतामा राखेर उद्यान निर्माण र होमस्टेको व्यवस्था गरिने छ ।
१४. रिहार–धारपानी–चौघेरा–अम्बिकेश्वरी–बाह्रकुने–मौलाकोट–मारोकाट–छिल्लीकोट जोड्ने पर्यटन माग निर्माण गरी दाङका सबै पर्यटकीय सम्पदालाई समेटेर फरक फरक पर्यटन सर्किट बनाइने छ ।

इतिहास/कला/संस्कृति
कला, संस्कृति मौलिक पहिचानः गठबन्धन सरकारको विशेष अभियान

१– यस क्षेत्रका आदिवासी थारुहरुको कला र संस्कृति संरक्षणका लागि योजना बनाइ लागु गरिने छ । थारु वस्तीमा ‘ग्रीन भिलेज’को अवधारणाअन्तर्गत थारु ग्राम, मन्ठोरिया, ठाँटीघर, भूइँयार, महतवालगायत मौलिक थारु संस्कार र प्रणालीको संरक्षण गरिने छ ।
२. महतवा संस्कृति जोगाउन र अन्य समुदायसँग सद्भाव जोगाइराख्न पूजा परम्पराका लागि उचित स्रोतको व्यवस्थापन गरिने छ ।
३. अहिले स्थापित थारु संग्रहालयलाई ब्यवस्थित गरिने छ । मानपुरमा नयाँ थारु संग्रहालय निर्माण गरिने छ ।
४. मगर, नेवारलगायत अन्य जाति समुदायका मौलिक संस्कृतिको संरक्षण गरिने छ ।
५. विभिन्न जाति समुदायका कुलदेवता, वराहथान, भूइँयारथान संरक्षणमा जोड दिइने छ ।
६. यस क्षेत्रभित्रका साहित्यिक संस्थाहरुको भौतिक निर्माण, पुस्तकालय ब्यवस्थापन तथा सिर्जनात्मक गतिबिधिका लागि नियमित सहयोगका कार्यक्रम बनाइने छ ।
७. नेपाल मगर संघ, थारु कल्याणकारिणी सभालगायत संस्थाले हरेक बर्ष आयोजना गर्ने मौलिक सांस्कृतिक महोत्सवलाई प्रोत्साहन गरिने छ ।
८. मौलिक तथा लोपोन्मुख भाषा, पोशाक झाँकी, गाथा, बाध्यबादन, नृत्य नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रशिक्षणका साथै विभिन्न बिधाका कार्यशाला र प्रतियोगिताहरु सञ्चालन गर्न गरिने छ । थारु समुदायभित्र प्रचलित मौलिक सांस्कृतिक भेषभूषा र कलालाई दाङको बिशेष सांस्कृतिक पहिचानको रुपमा स्थापित गर्न कार्यक्रम बनाइने छ ।
९. घोराहीमा निर्माणाधीन मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्रको भवन निर्माणलाई पूर्णता दिइने छ ।
१०. घोराही १३ तुरुन्तपुरस्थित विपश्यना ध्यान केन्द्र, विभिन्न स्थानमा निर्मित योग केन्द्र, घोराहीको कल्पु धर्मशाला, शाइ मन्दिरलगायत मानव जागरण केन्द्रहरुको स्तरबृद्धि र उचित व्यवस्थापनका लागि जोड दिइने छ । सामुदायिक संस्कृतिलाई बढावा दिन मागको आधारमा आवश्यक स्थानमा समुदायिक भवन, योग हल र ध्यान केन्द्रहरु निर्माण गरिने छ ।
११. घोराहीमा निर्माणाधीन बहुउद्देश्यीय सांस्कृतिक मगर भवनलाई पूर्णता दिइने छ ।
१२. घोराहीको सहिद लखन थापा पार्कको स्तरोन्नति गरिने छ ।
१३. साहित्यकार तथा सर्जकहरुलाई नियमित पुरस्कार र सम्मान गर्ने कार्यक्रम बनाइने छ ।
१४. शिक्षा, स्वास्थ्य, साहित्य, कला, संस्कृति, सञ्चारलगायत विभिन्न बिधाको माध्यमबाट समाज रुपान्तरणमा योगदान पु¥याउने विशिष्ठ महानुभावहरुलाई बिशेष सम्मानको ब्यवस्था मिलाइने छ ।
१५. प्राचीन दाङ राज्यको राजधानी सवारीकोट र चौघेरा, प्राचीन छिल्ली राज्यको राजधानी छिल्लीकोट र बाँसगढी तथा राप्तीको पुरानो सदरमुकाम मानपुरलगायत प्राचीन सांस्कृतिक क्षेत्रको अध्ययन, अनुसन्धान र संरक्षण गरिने छ ।

सामाजिक सुरक्षा/न्याय
सुरक्षा, न्याय र आत्मसम्मानः नेपाली हुनुको गौरव र पहिचान

१– यस क्षेत्रमा बसोबास गर्ने शारीरिक, मानसिक र आर्थिकरुपमा हिंसामा परेका महिला, बालबालिका, युवा, किशोरकिशोरी, अपांगता भएका, लोपोन्मुख र ज्येष्ठ नागरिकका लागि परामर्शसहितको सम्पूर्ण आधारभूत सेवा निःशुल्क गर्ने गरी राज्यस्तरबाट ‘सुरक्षा गृह’ सञ्चालन गरिने छ ।
२. सुरक्षा गृहमा रहेका पीडितहरु तथा कारागारमा रहेका वन्दीहरुलाई स्थानीय बजारको मागबमोजिमका वस्तु तथा सेवा उत्पादनका लागि तालिममार्फत स्वरोजगार बनाई उनीहरुले उत्पादन गरेको वस्तुको बजारीकरणका लागि योजना बनाइने छ ।
३. बालबालिका तथा युवाहरुलाई लागु औषध दुव्र्यसनबाट जोगाउन टोलटोलमा स्वास्थ्य जाँच तथा विद्यालयमा सचेतना अभियान सञ्चालन गर्ने व्यवस्था मिलाइने छ ।
४. बैंक तथा वित्तिय संस्था र स्वास्थ्य संस्थाहरुमा कार्यरत महिला कर्मचारीका लागि समान कामको समान पारिश्रमिक सुनिश्चितता गर्ने कार्यक्रम बनाइने छ ।
५. ज्येष्ठ नागरिकका लागि प्रत्येक वडामा ‘ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र’ स्थापना गरी पोषणयुक्त खाजाको व्यवस्था गरिनेछ । सो केन्द्रबाट ज्येष्ठ नागरिकका लागि नियमित स्वास्थ्य परीक्षणको ब्यवस्था मिलाइने छ ।
६. यस क्षेत्रमा निर्माण हुने हरेक सार्वजनिक भवनलाई लैंगिक तथा अपांगमैत्री बनाइने छ ।
७. सामाजिक विभेद तथा जातीय छुवाछूत अन्त्यका लागि बनेको कानूनलाई पूर्णरुपमा कार्यान्वयन गरिनेछ । बिशेषतः समाजलाई पछाडि पार्ने घरेलु हिंसा र बोक्सीलगायत विभिन्न कुप्रथाजन्य हिंसा नियन्त्रणका लागि सरकारीस्तरको संयन्त्र तयार गरिने छ ।
८. हरेक वडामा बाल उद्यान निर्माण गरिने छ ।
९. सामुदायिक विद्यालयमा अध्यापनरत निजी स्रोतका शिक्षक शिक्षिकाहरुको आर्थिक जीवन सुरक्षाका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाइने छ ।
१०. बिपन्न नागरिकका लागि जन्म तथा मृत्यु संस्कार खर्च सामाजिक सुरक्षाको रुपमा उपलब्ध गराउने व्यवस्था गरिने छ ।
११. हरेक वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता घरघरमै पु¥याउने व्यवस्था मिलाइने छ ।

युवा/खेलकूद
समाजमा भातृत्वः युवाको नेतृत्व

१– युवा नेतृत्व तथा क्षमता विकासका लागि युवाकेन्द्रित कार्यक्रम बनाइने छ ।
२– ‘एक वडा एक खेल मैदान’ निर्माण गरिने छ ।
३. वडादेखि केन्द्रीयस्तरसम्म नियमित खेलकूद प्रतियोगिता सञ्चालन गर्ने कार्यक्रम बनाइने छ । संघ, प्रदेश र स्थानीय सरकारबाट कार्यक्रम बनाई विद्यालयस्तरीय खेलकूद प्रतियोगितालाई बृद्धि गर्ने कार्यक्रम बनाइने छ ।
४. घोराही बजार क्षेत्रमा अत्यधिक खेलकूद गतिबिधि सञ्चालन गर्न सकिने संभावना बोकेको घोराही १८ स्थित नवलपुर खेलकूद मैदानको गुरुयोजना बनाइ विकास गरिने छ । तत्काल तारजाली, पक्की नाला तथा शौचालय निर्माणबाट काम थालिने छ ।
५. बेलझुण्डी रंगशाला निर्माणको काम यथासक्य सम्पन्न गरी हस्तान्तरणको व्यवस्था मिलाइने छ ।
६. करौतीडाँडामा निर्माणाधीन प्रादेशिक खेल मैदानको कामलाई तीब्रता दिन पहल गरिने छ भने गुलरिया क्रिकेट मैदानको स्तरोन्नति गरिने छ ।
७. घोराही १७ ढिकपुरस्थित खेल मैदानलाई खोलाको तटबन्धसहित स्तरोन्नति गरिने छ ।
८. बंगलाचुली, हापुर, नारायणपुर, बिजौरी, ढिकपुरलगायतका क्षेत्रमा रहेका साना खेल मैदानको विस्तार र आवश्यक स्थानमा नयाँ खेल मैदान निर्माण गरिने छ ।
९ लागु औषध दुव्र्यसनलाई नियन्त्रण तथा निरुत्साहित गर्न युवा क्लवहरुसँगको सहकार्यमा सचेतना कार्यक्रम सञ्चालन गरिने छ ।
१०. समुदायकेन्द्रित सचेतना, उत्पादन र विकासका कार्यक्रममा युवा क्लव तथा युवा समूहसँग साझेदारी गर्ने नीति निर्माण गरिने छ ।

उपभोक्ता हितः
गुणस्तरीय वस्तु, सुभल दरः उपभोक्ताको हित राज्यको सरोकार

१. प्रत्येक स्थानीय तहमा उपभोक्ता हक संरक्षणसम्बन्धी निकाय स्थापना गरी खाद्य निरीक्षण राख्ने कानुनी व्यवस्था कार्यान्वायन गरिने छ ।
२. प्रत्येक स्थानीय तहमार्फत सबै पसलमा मूल्यसूचि अनिवार्य गर्ने तथा मूल्य र गुणस्तरको नियमित अनुगमन गर्ने व्यवस्था गरिने छ ।
३. प्रत्येक स्थानीय तहमा खाद्यान्न, औषधि र अत्यावश्यकीय वस्तुको संकटकालीन मौज्दातको विशेष व्यवस्था गरिने छ । त्यसका लागि शीत भण्डार र गोदाम घर निर्माण गरिने छ ।
४. उपभोक्ता अधिकार स्थापित गर्न उपभोक्ताको हितमा क्रियाशील नागरिक समाजका संघ संगठनहरुलाई प्रोत्साहन गरिने छ ।
५. आवश्यक स्थानमा उपभोक्ता सहकारीमार्फत सहुलियत पसल स्थापना गरी अत्यावश्यकीय वस्तुको सहज र सुलभ बिक्री वितरणको व्यवस्था मिलाइने छ ।
६. संविधानको मौलिक हकमा रहेको खाद्य अधिकार उपभोगको सहज वातावरण बनाउन ‘आलीदेखि थालीसम्म, मुहानदेखि मुखसम्म सुरक्षित खाद्य वस्तु’ कार्यक्रम सञ्चालन गरिने छ ।
७. डरलाग्दो गरी बढिरहेको बिषादी न्यूनीकरणका लागि अर्गानिक खेतीमा अनुदान र अर्गानिक वस्तुको फरक मूल्य निर्धारण गरी बजारीकणको जिम्मा लिइने छ ।
८. स्थानीय तहमार्फत फलफूल, तरकारीलगायतको बिषादि मापन गर्ने प्रबन्ध मिलाइने छ ।

सुशासन
भ्रष्टाचाररहित पारदर्शी सोंचः सार्वजनिक सेवामा नागरिकको सहज पहुँच

१. सरकारी सेवामा नगरवासीको पहुँच स्थापित गर्न सबै स्थानीय तहमा गुनासो सुनुवाइ तथा ब्यवस्थापन एकाई स्थापना गरिने छ ।
२. यस क्षेत्रभित्रका सार्वजनिक सेवा प्रदायक निकायबाट प्रदान गरिने हरेक सेवालाई छिटो, छरितो, भेदभावरहित र पारदर्शी ढंगबाट प्रवाह गरिने छ ।
३. नातावाद क्रिपावाद निरुत्साहित गरी दक्षता र क्षमताका आधारमा अवसर प्रदान गरिनेछ ।
४. यस क्षेत्रका पालिकाहरुमा वडास्तरीय योजना निर्माण, कार्यान्वायन र भुक्तानीसमेत वडाबाटै हुने ब्यवस्था मिलाइने छ ।
५. यस क्षेत्र भित्रका सरकारी कार्यालय र विद्यालय आदिबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन स्वचालित विद्युतीय हाजिरी अनिवार्य गरिनेछ ।
६. यस क्षेत्रका स्थानीय तहअन्तर्गत निर्माण हुने प्रत्येक योजनामा टोल विकास संस्थाहरुको भूमिकालाई प्रभावकारी बनाई विकास योजनामा जनसहभागिताको पूर्ण सुनिश्चितता गरिनेछ ।
७. यस क्षेत्रभित्रका सरकारी तथा सावजनिक निकायबाट सूचनाको हकबमोजिम सूचना प्रवाहको अनिवार्य व्यवस्था मिलाइने छ ।
८. यस निर्वाचनभित्र समाज विकासको क्षेत्रमा क्रियाशील सामाजिक संस्था, सहकारी, बैंक तथा वित्तिय संस्थाको कार्य क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने छ ।

सूचना/सञ्चार
आधुनिक जीवनको आधारः सूचना र सञ्चार

१– सेवा प्रदायक निकायहरुको साझेदारीमा हरेक वडामा केवल इन्टरनेट पु¥याउन पहल गरिने छ ।
२– सेवा प्रदायक निकायहरुको साझेदारीमा महत्वपूर्ण चोक तथा सार्वजनिक स्थानहरुमा फ्री वाइफाइ सेवा सञ्चालन गरिने छ ।
३. संघ, प्रदेश र स्थानीय सरकारको सहयोगमा पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि स्तरीय तालिमको ब्यवस्था गरिने छ ।
४. सार्वजनिक सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउने नीति निर्माण गरिने छ ।
५. सूचना प्रविधिमा नवप्रवर्तनलाई प्राथमिकता दिने नीति निर्माण गरिने छ ।
६. नागरिकमा डिजिटल साक्षरता र साइबर नैतिकता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने छ ।
७. यस क्षेत्रभित्रका सञ्चारमाध्यमको सवलीकरणका लागि विशेष कार्यक्रम ल्याइने छ ।

बिशेष प्रतिज्ञाः
यी प्रतिबद्धता हाम्रा चुनावी नारा मात्र होइन, चुनावपछि बिषयविज्ञसहितको परामर्शमा यही प्रतिबद्धताका आधारमा पञ्चवर्षीय कार्ययोजना निर्माण गरिने छ । गठबन्धनका नेताहरु र विज्ञसहितको निर्वाचनस्तरीय संयन्त्र गठन गरी त्यसमार्फत प्राप्त योजनाको प्राथमिकीकरण गरी पाँच बर्षभित्र सबै लागु गर्ने बिशेष प्रतिज्ञ गर्दछौं ।


गठबन्धनलाई भोट किन ?

–संविधान र लोकतन्त्रको रक्षा गर्न ।
–स्वच्छ, सफा, सुन्दर तथा भ्रष्टाचारमुक्त नमूना गाउँ शहरको विकास गर्न ।
–संविधानले व्यवस्था गरेका शिक्षा, स्वास्थ्य, रोजगारी, समानता तथा सामाजिक न्यायको ग्यारेन्टी गर्न ।
–बेरोजगार युवाहरुलाई विभिन्न उत्पादन क्षेत्रमा संलग्न गरी रोजगारी प्रबर्धन गर्न ।
–अव्यवस्थित भू–खण्डीकरण रोकी व्यवस्थित गाउँ शहर निर्माण गर्न ।
–धुलो र हिलोरहित जोखिममुक्त सडक निर्माण गर्न ।
–सबै वडामा बाह्रै महिना यातायात सञ्चालन गर्न ।
–अतिविपन्न तथा मजदूरहरुको निःशुल्क उपचारको ब्यवस्था गर्न ।
–अति विपन्न परिवारका लागि विद्युत र खानेपानी महसुल निःशुल्क गर्न ।
–वृद्धबृद्धाका लागि घरमै सुरक्षा भत्ता, निःशुल्क स्वास्थ्य परीक्षण, उपचार र स्वास्थ्य विमा लागु गर्न ।
–खानेपानी तथा सिंचाइको सुलभ व्यवस्था गर्न ।
–द्वन्द्वपीडितहरुको उचित सम्मान र व्यवस्थापन गर्न ।
–रंगशाला, कभर्ड हल, खेल मैदान, बाल उद्यान तथा पार्क निर्माण गर्न ।
–उद्योगहरुको उचित वातावरणमैत्री व्यवस्थापन गर्न ।
–कृषक परिचयपत्र, कृषि अनुदान, सहुलियत ऋण र कृषक पेन्सनको ब्यवस्था गर्दै मल, बीउलगायत कृषि सामग्रीको सहज ब्यवस्थापन गर्न ।
–मुख्य चोक, सार्वजनिक निकाय रस्थानमा फ्री वाइफाई ब्यवस्था गर्न ।
–सुकुम्वासीहरुलाई लालपूर्जासहित जग्गाको व्यवस्थापन गर्न ।
–राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल नर्सिङ र एमबीबीएस कक्षा शुरु गर्न । प्रतिष्ठानमा आइसियू, एनआइसियू, डायलासिस सेवासहित गुणस्तरीय उपचारको व्यवस्था गर्न ।
–औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमजीवीलाई सरकारको मापदण्डअनुरुपको पारिश्रमिक लागु गर्न ।
–हिंसा र विभेदरहित खुशी, सुखी र समृद्ध सभ्यता अनि समतामूलक समाजको निर्माण गर्न ।

हामी के चाहन्छौं ?
–लोकतन्त्र र स्थायित्वः सामाजिक न्याय र सुरक्षा राज्यको दायित्व
–अर्थतन्त्रको प्रमुख आधारः कृषिमा आमूल सुधार
–प्रत्येक क्षेत्रमा राखिने छ विज्ञः एक वडा एक कृषि पशु विशेषज्ञ
–गुणस्तरीय सिपमूलक शिक्षा र रोजगारीः गठबन्धन सरकारको जिम्मेवारी
–मानव संशाधनको आधारः शैक्षिक क्षेत्रमा आमूल सुधार
–स्वस्थ जीवन नागरिकको अधिकारः गठबन्धन सरकार जिम्मेवार
–दिगो विकासको आधारः सडक पूर्वाधार, कृषिमा रोजगार
–फराकिलो एअरपोर्ट, नियमित उडानः क्षमता बृद्धि यसको निदान
–नागरिक स्वरोजगारः समृद्धिको आधार
–हरेक क्षेत्रमा पहिलाः नेतृत्वमा महिला
–एक घर, एक उद्यमः छोराछोरी सबै सक्षम
–युवालाई जिम्मेवारीः स्वदेशमै रोजगारी
–स्वच्छ पानीः स्वस्थ जिन्दगानी
–व्यवस्थित सिंचाइमा राज्यको काँधः खेत–खेतमा कुलो, ठाउँठाउँमा बाँध
–प्राकृतिक प्रकोपमा राज्यको जिम्माः विपत्तिमा राहत, बालीनालीमा विमा
–कृषि उत्पादनमा सुधारः बिचौलियाविहीन बजार
–उत्तरदायी प्रशासनः समृद्धि र सुशासन
–फराकिलो बाटोः न धुलो, न माटो
–जनताको रहरः पर्यटकीय गाउँ शहर
–स्थानीय कला, संस्कृति मौलिक पहिचानः गठबन्धन सरकारको विशेष अभियान
–भ्रष्टाचाररहित पारदर्शी सोंचः सार्वजनिक सेवामा नागरिकको सहज पहुँच
–समाजमा भातृत्वः युवाको नेतृत्व
–आधुनिक जीवनको आधारः सूचना र सञ्चार
–एक वडा खेल मैदानः खेल क्षेत्रमा राज्यको पर्याप्त अनुदान
–टोलटोलमा सहकारीः घरघरमा स्वरोजगारी
–बिपन्न श्रमिक मजदूर परिवारः उनीहरुको स्वास्थ्य र जीवन राज्यको सरोकार
–सुखी, शान्त र समृद्ध परिवारः बन्नेछ अब राज्यको सरोकार
–गुणस्तरीय वस्तु, सुभल दरः उपभोक्ताको हित राज्यको सरोकार
–उच्च आर्थिक बृद्धिः गठबन्धनको दृष्टि
–गठबन्धनको जिम्मेवारीः शान्ति, समृद्धि र रोजगारी
–हाम्रो प्रतिबद्धताः संविधान र स्थिरता
–गठबन्धनको अभियानः पहिचान र बिबिधताको सम्मान
–गठबन्धनको आवाजः समतामूलक समाज
–सुरक्षा, न्याय र आत्मसम्मानः नेपाली हुनुको गौरव र पहिचान
–विज्ञान क्षेत्रमा उन्नतिः सबैको पहुँचमा प्रविधि

Facebook Comments