• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यी १४ क्षेत्र, जहाँ गठबन्धनभित्रै प्रतिष्पर्धा हुनेछ




प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्र भागबन्डा गरे पनि दुवै पक्षको उम्मेदवारी परेपछि तीन क्षेत्रमा गठबन्धनबीचमै प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनका शीर्ष नेताहरूले केन्द्रबाट भएको भागबन्डाअनुसार अर्को पक्षलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका थिए तर दुवै पक्षले फिर्ता नलिएपछि तीन क्षेत्रमा प्रतिस्पर्धा हुन लागेको हो ।

गठबन्धनका शीर्ष नेताहरूले शुक्रबार एक विज्ञप्तिमार्फत साझा उम्मेदवारहरूको सूची सार्वजनिक गर्दै प्रतिनिधिसभाका तीन स्थानमा प्रतिस्पर्धा हुने जनाएका हुन् । काठमाडौं–१० मा कांग्रेसका राजेन्द्र केसी र माओवादीकी अञ्जना विशंखेबीच प्रतिस्पर्धा हुनेछ । शीर्ष नेताबीच गठबन्धनमा भागबन्डा हुँदा यो क्षेत्र कांग्रेसको भागमा परेको थियो । ०७४ को निर्वाचनमा यो क्षेत्रमा केसीले नै जितेका थिए ।

धनुषा–२ मा कांग्रेसका रामकृष्ण यादव र एकीकृत समाजवादीका रामचन्द्र झा उम्मेदवार छन् । ०७४ को निर्वाचनमा यो क्षेत्र तत्कालीन संघीय समाजवादीले जितेको थियो । सर्लाही–२ मा लोसपाका राजेन्द्र महतो र माओवादीका महिन्द्रराय यादवबीच प्रतिस्पर्धा हुने भएको हो । यादवलाई सत्ता गठबन्धनको समर्थन छ । ०७४ को निर्वाचनमा यो क्षेत्रमा यादवले नै जितेका थिए ।

यस्तै, प्रदेशसभाका ३ सय ३० मध्ये ११ क्षेत्रमा गठबन्धन दलहरूबीच प्रतिस्पर्धा हुने भएको छ । काठमाडौं–३ (२) मा कांग्रेस र माओवादी, काठमाडौं ५ (२) मा कांग्रेस र एकीकृत समाजवादी, काठमाडौं–६ (२) र काठमाडौंं–१० (१) मा कांग्रेस र माओवादीबीच प्रतिस्पर्धा हुने गठबन्धनको विज्ञप्तिमा उल्लेख छ । यसबाहेक सर्लाही–१ (१) मा माओवादी र लोसपा, बारा–१ (२) मा कांग्रेस र एकीकृत समाजवादी, पर्सा–३ (२) मा कांग्रेस र एकीकृत समाजवादी, बाँके–२ (१) मा कांग्रेस र एकीकृत समाजवादी, बाँके–२ (२) मा कांग्रेस र माओवादी, कञ्चनपुर–२ (२) मा कांग्रेस र एकीकृत समाजवादी, कञ्चनपुर–३ (१) मा माओवादी र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा हुने भएको छ ।

यस्तै, प्रदेशसभाका अन्य आठ क्षेत्रमा सहमतिका लागि छलफल जारी रहेको विज्ञप्तिमा उल्लेख छ । प्रदेशसभातर्फ सिरहा–३ (२), महोत्तरी–२ (१), स्याङ्जा–२ (१), कपिलवस्तु–१ (१), हुम्ला (१), सुर्खेत–२ (१) र (२), बाजुरा (१) मा सहमति जुटाउने प्रयास छ ।

रूपन्देही–२ मा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गरेको छ । गठबन्धन दलबीच अझै मत ‘ट्रान्सफर’ को चिन्ता भएकाले केन्द्रदेखि स्थानीय तहसम्म गठबन्धन उम्मेदवारलाई जिताउन गृहकार्य थालेका छन् । त्यसका लागि गठबन्धन संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गरेको नेताहरूको भनाइ छ ।

Facebook Comments