• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बदर मतको संख्या घटाउन मतदाता शिक्षामा जोड दिइने




निर्वाचन आयोगले मतदाता शिक्षा निर्देशिकामा व्यापक फेरबदल गरेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा निर्वाचन शिक्षा प्रभावकारी नहुँदा बदर मतको सङ्ख्या अनपेक्षित रूपमा बढेपछि आयोगले परम्परागत शिक्षामा सुधार गर्न लागेको हो तर कार्यक्रम भने पुरानै ढाँचामा तयार गरिएको छ । स्थानीय निर्वाचनमा २.४० प्रतिशत पूर्ण बदर र करिब १३ प्रतिशत मत आंशिक बदर भएको थियो ।

आयोगले निर्वाचन शिक्षा कार्यान्वयन एकाइ, घरदैलो कार्यक्रम तथा परम्परागत प्रचारप्रसारमा परिवर्तन गर्न लागेको हो । आयोगले तयार गरेको निर्देशिकाबमोजिम निर्वाचन शिक्षा कार्यक्रम सञ्चालनका लागि छवटा समिति हुनेछन् । स्थानीय निर्वाचनमा भने तीन तहको समिति मात्रै रहेको थियो ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भन्नुभयो, “शिक्षालाई व्यावहारिक र परिणाममुखी बनाउन यस प्रकारको व्यवस्था गरिएको छ ।”

मतपत्रको ढाँचाले बदर मत घटबढ हुनाले आयोगले आगामी निर्वाचनमा चार प्रकारको मतपत्र डिजाइन गरेको छ । एक जना मतदाताले चार जना प्रतिनिधि चयन गर्दा चारवटा पानामा स्वस्तिक चिह्न लगाउनेछन् । स्थानीय निर्वाचनमा भने एउटै पानामा सात पदका लागि छ प्रकारको मतपत्र थियो । एउटै पानामा ७० भन्दा बढी निर्वाचन चिह्न थियो ।

सहायक प्रवक्ता अर्यालले आगामी निर्वाचनमा मतपत्रको डिजाइनले बदर मत घटाउने विश्वास व्यक्त गर्नुभयो । प्रतिनिधि सभाअन्तर्गत प्रत्यक्षतर्फ एउटा पानामा बढीमा ३१ र घटीमा मात्र दुईवटा निर्वाचन चिह्न रहनेछन् । समानुपातिकतर्फ भने बढीमा ५५ र घटीमा २७ वटा निर्वाचन चिह्नसहितको मतपत्र रहनेछ । सबै मतपत्रमा ठाडोतर्फ बढीमा १० र तेर्सोमा पाँचवटा लहर राखिएको छ ।

पाँच कार्यक्रम सञ्चालन

निर्वाचन शिक्षाअन्र्तगत आयोगले प्रविधिको प्रयोग गरेर गरिने प्रचारप्रसारमा करिब २० करोड खर्च गर्दैछ । आयोगका अनुसार भिडियो सामग्री उत्पादनका लागि तीन करोड, टेलिभिजनमार्फत प्रसारणमा छ करोड, रेडियो प्रसारणका लागि चार करोड, पत्रपत्रिकाका लागि छ करोड रुपियाँ विनियोजन गरिएको छ ।

निर्वाचन शिक्षाअन्तर्गत घरदैलो, नमु्ना मतदान, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट सूचना प्रकाशन, ख्यातिप्राप्त व्यक्तित्वबाट ‘म निर्वाचनमा भाग लिन्छु’ र साङ्गीतिक टोली बनाएर कार्यक्रम सञ्चालन गरिनेछ । नमुना मतदान शीर्षकमा करिब एक करोड ५० लाख बजेट छुट्याइएको छ ।

Facebook Comments