• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शिवराज गौतमजस्तै शीर उँचो पारेर बाँच्न सकौंः शर्मा




नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्व सामान्य प्रशासनमन्त्री रेखा शर्माले अग्रज कम्युनिष्ट नेता शिवराज गौतमजस्तै शीर उँचो पारेर बाँच्न सक्नुपर्ने बताउनुभएको छ ।

माओवादी केन्द्र घोराहीले आयोजना गरेको शिवराज गौतमको नवौं स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेपाली राजनीति र राजनीति गर्नेहरुको सोंच शैलीमा प्रश्न उठिरहेको उल्लेख गर्दै उहाँले राजनीति गर्नेहरुले यसमा ख्याल गर्नुपर्ने बताउनुभयो ।

‘अहिले नेपाली राजनीति र कम्युनिष्ट आन्दोलनमा देखिएका बेथिति र विसंगतिको अन्त्य गर्न सक्छौं कि सक्दैनौं, शिवराज गौतमको सपना यहीनेर जोडिएको छ’– आसन्न आम निर्वाचनका लागि दाङ क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहनुभएका शर्माले भन्नुभयो– ‘आज म यो क्षणमा प्रण गर्न चाहन्छुकि हामी शिवराज गौतमजस्तै हुन सकौंला, नसकौंला तर यो कम्युनिष्ट आन्दोलनमा निष्ठाको राजनीति छाड्ने छैनौं । हामी राम्रो कति गरौंला, प्रयास गर्ने छौं तर गल्ती नगर्ने प्रयास हरदम गरिरहने छौं ।’

कम्युनिष्ट आन्दोलनको कोणबाट हेर्दा कृष्णसेन, शिवराज गौतम, बिष्णु पोख्रेलजस्ता त्याग र निष्ठाका पर्याय नेता दाङले पाउनु सौभाग्यको कुरा भएको बताउँदै कम्युनिष्ट पार्टी दाङका संस्थापक सचिव नारायणप्रसाद शर्माजस्ता अग्रजबाट अझै साक्षात् प्रेरणा लिएर अघि बढ्न आफूहरु तयार रहेको बताउनुभयो ।

आन्दोलनका रुप र मोर्चाहरु बदलिएकाले परिवर्तित समयअनुसार अघि बढ्नुपर्ने र जस्तो अवस्थामा पनि आफ्नो राजनीतिक आस्था र निष्ठालाई केन्द्रमा राख्नुपर्ने उहाँले बताउनुभयो । निष्ठा र आदर्शअनुरुप व्यक्ति जीवन बिताउनु नै आजका सन्दर्भमा मुख्य सवाल भएको पनि उहाँले बताउनुभयो ।
बिशिष्ठ नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सचिव नारायणप्रसाद शर्माले अहिले कम्युनिष्ट आन्दोलनसहित समग्र राजनीति विकृति र विसंगतिको भारीले थिचिएको उल्लेख गर्दै नयाँ पुस्ताले यसबाट मुक्त गर्नुपर्ने बताउनुभयो । आजीवन सादगी जीवन बिताएका गौतमबाट आजका कम्युनिष्टहरुले थोरै सिके पनि महत्वपूर्ण उपलब्धि हुने बताउनुभयो ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्य स्मृति दिवस नियमित गर्न नसकेकोमा आत्मालोचना गर्दै स्मृति प्रतिष्ठान गठन गर्ने घोषणा, आत्माचालोन गर्दै शिवराज गौतमस्मृति प्रतिष्ठान गठन गरेर आगामी दिनमा उहाँको स्मरण र सम्मानमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल बुद्धिजीवि संगठनका अध्यक्ष माधव न्यौपानेसहितले बोल्नुभएको थियो ।

माओवादी केन्द्र दाङका अध्यक्ष रमेशकुमार ओलीको अध्यक्षतामा भएको कार्यक्रममा शिवराज गौतमकी जीवनसाथी भक्तादेवी गौतम, माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य दामा शर्मा, ज्येष्ठ कम्युनिष्ट मञ्चका केन्द्रीय सल्लाहकार मष्तबहादुर श्रेष्ठ, पार्टीका प्रदेश सल्लाहकार नरबहादुर अधिकारी, केन्द्रीय शिक्षा विभाग सदस्य अरुणकुमार शर्मालगायतको उपस्थिति रहेको थियो ।

माओवादी केन्द्र घोराहीका उपाध्यक्ष खिमबहादुर चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन सदस्य गिरबहादुर महराले गर्नुभएको थियो ।

Facebook Comments