• ४ माघ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एमालेको टिकट वितरणमा चरम असन्तुष्टि, अछाम र मोरङका नेताले दिए राजीनामा




नेकपा एमालेका पूर्वउपाध्यक्ष डा।भीम रावलको टिकट खोसिएपछि उनको गृहजिल्लामा असन्तुष्टि तीव्र भएको छ।

अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस रावलको टिकट खोसिएपछि एमाले अछाममा विद्रोहको तयारी भएको छ।

एमाले क्षेत्र नम्बर १ समन्वय समिति, प्रदेश समन्वय समिति, पालिका कमिटी तथा जिल्ला कमिटी सदस्यहरुले शनिबार सामूहिक राजीनामा दिने तयारी गरेका छन्।

त्यसका लागिग शनिबार दिउँसो १२ बजे भीम रावलनिकट नेताहरुले अछाममा भेला डाकेका छन्।

‘एकल सिफारिस भएका लामो समयदेखि सक्रिय जित्ने उम्मेदवारको टिकट खोसेर अरुलाई दिइएको छ, यो षड्यन्त्रपूर्ण अन्यायको विरोध गर्छौँ,’ अछामका एकजना एमाले नेताले भने, ‘क्षेत्र नम्बर १ का सम्पूर्ण कमिटी र जिल्ला कमिटी पदाधिकारीले जिम्मेवारीबाट सामूहिक राजीनामा दिँदैछौँ।’

जिल्ला कमिटी हुँदै प्रदेश कमिटीबाट अछाम १ का लागि सर्वसम्मत सिफारिस रावलको टिकट खोसेर एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट आएका झपड बोहरालाई दिएका छन्।

सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिलामन्त्री समेत रहेका अछाम १ मा टिकट पाएका बोहरा माओवादीबाट एमालेमा समाहित भएका नेता हुन्।

१० औँ महाधिवेशनताका सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहनामा रावलले धावा बोलेका थिए। त्यसपछि उनीहरु दुईबीचको सम्बन्ध बिग्रिएको छ।

एमाले विभाजन हुँदा १० बुँदे सहमतिपछि माधवकुमार नेपालको साथ छोडेर रावल एमालेमै बसेका थिए।

एमाले नेता रावलले अछामबाट वि।सं। २०४८ सालदेखि नै चुनाव लडिरहेका छन्। ०४८ सालमा चुनाव हारेका रावल ०५१ सालको मध्यावधि चुनावमा अछाम १ बाट जितेका थिए।

भीम रावल ०५६ सालको चुनावमा एमाले–माले फुटेको कारण फेरि चुनाव हारे। त्यसपछि ०६४ को चुनावमा उनी समानुपातिकतर्फ लागे। ०७० र ०७४ को चुनावमा रावल क्षेत्र नम्बर १ बाटै दुईचोटि सांसद बनेका थिए।
त्यस्तै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि भएको टिकट वितरणमा असन्तुष्टि जनाँउदै एमाले मोरङका सचिव रुपेश खतिवडाले राजीनामा दिएका छन्।

उनले दिएको राजीनामा पत्रमा एमाले मोरङका तर्फबाट उम्मेदवार सिफारिस गर्दा पार्टीको नीति सिद्धान्त र विधिविपरीत केही व्यक्तिको स्वार्थ अनुकुल सामाजिक सञ्जालमा प्रचार गरिएकाले असहमत भएको जनाएका छन्।

उनले पार्टीका कमिटीहरु मानार्थ र बोधार्थ मात्रै नभएको भन्दै राजीनामा पत्रमा पार्टी निर्णयमा पदीय जिम्वेवारी अनुसार सचिवको भूमिका रहनु पर्ने दावी गरेका छन्।

अहिले उम्मेदवारको प्रचार पजनी शैलीमा भएको उनले राजीनामा पत्रमा लेखेका छन्। उनले एमाले प्रदेश १ कमिटी र केन्द्रीय कमिटीलाई बोधार्थ दिँदै राजीनामा दिएका हुन् ।

खतिवडाले पार्टीले विधि र पद्धतिविपरीत भएको निर्णयको साक्षी किनारा भएर बस्न नसक्ने पनि उल्लेख गरेका छन्।

Facebook Comments