दुई दिनदेखि अविरल परिरहेको वर्षाका कारण बाँकेस्थित राप्ती नदीमा आएको बाढी डुडुवाका केही गाउँमा पसेर स्थानीय बिस्थापित भएका छन् । राप्ती नदीमा बुधबार दिउँसोदेखि पानीको सतह खतराको चिन्हभन्दा माथि पुगेपछि बाढी गाउँमा पसेको हो ।
बुधबार राति नै डुडुवा १ को कृषि चौफेरी र टेपरि गाउँमा करिब तीन चार फिट पानी पसेपछि स्थानीय वासिन्दाले गाउँ छाडेर नजिकै अग्लो ठाउँमा रहेको बिद्यालयमा बसेको स्थानीय राम यादवले बताउनुभयो । सबै गाँउलेले बिद्यालयमा रात बिताएको बताउनुभयो ।
अझै पनि पानी परिरहेकाले थप गाउँहरुमा पनि बाढी पस्ने स्थानीयको चिन्ता छ । सोही प्रकारले नरैनापुरका पनि केही वडामा बाढीले क्षति गरेको नरैनापुरका पत्रकार बिनय दिक्षितले बताउनुभयो ।
यसैगरी बर्षा निरन्तर भैरहेकोले राप्तीसोनारिका पनि धेरै ठाउँमा बाढी र डुबानबाट क्षति पुगेको स्थानीय हेमन्त चौधरीले बताउनुभयो । उता जिल्ला आपतकालिनन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले राप्ती नदीमा पानीको सतह बढ्नेक्रम जारी रहेकाले खतरा बढ्दै गएको बताउनुभयो ।
राप्तीमा बाढी बढेपछि खतरा स्वरुप निरन्तर रूपले साइरन बजाउन सुरु गरिएको छ । राप्तीको तल्लो तटीय क्षेत्र फत्तेपुर, गंगापुर, होलिया, बेतहनी, कम्दी लगायत स्थानमा बाढीले डुबान गर्न थालिसकेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले पनि राप्तीको तल्लो तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपाउन आग्रह गरेपछि खतरा स्थानबाट स्थानीयलाई सुरक्षित ठाउँमा सार्ने कार्य भैरहेको जनाएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले राप्ती नदीमा पानीको सतह निरन्तर रुपले बढिरहेकाले स्थानीयलाई अग्लो ठाउँमा सार्ने काम भइरहेको बताउनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।