• १५ मंसिर २०७९, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सात बर्षको विच्छेदपछि जोडिन थालेको प्रचण्ड–बाबुराम सम्बन्ध




आफू नेतृत्वको नेपाल समाजवादी पार्टीले काठमाडौंमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उपस्थितिमा शुभकामना आदानप्रदान गरेपछि डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएको छ– नेसपा काठमाण्डौको शुभकामना आदानप्रदानः प्रचण्ड–बाबुरामको नयॉ संश्लेषण,संकल्प र सहकार्य ।’

भट्टराई प्रायः कुनै शब्द नापतौल गरेर मात्र प्रयोग गर्नुहुन्छ । उहाँले आज प्रयोग गरेका तीन शब्द ‘नयॉ संश्लेषण, संकल्प र सहकार्य’ अर्थपूर्ण नै छन् । यसबाट के बुझ्न सकिन्छ भने लामो उतारचढावपछि दुई नेता नयाँ संश्लेषणमा पुगेका छन्, नयाँ संकल्प गरेका छन् र टुटेको सहकार्य पुनः जोडिएको छ ।

राजनीतिमा समयको रोजाइ पनि अर्थपूर्ण हुन्छ । २०७२ असोज ३ गते संविधान जारी भएपछि बाबुरामले प्रचण्डसँग पारपाचुके गर्ने मिति असोज ९ गते रोज्नुभएको थियो । सो दिन पत्रकार सम्मेलन गरेर उहाँले ‘अब भत्किएको पुरानो घरमा फर्कन्नँ भन्दै पार्टी साधारण सदस्य तथा सा‍ंसद पदबाटसमेत राजिनामा दिनुभएको थियो ।

‘कुनै राजनीतिक शक्तिको उद्देश्य पूरा भएपछि त्यो उद्देश्यका लागि खडा भएको पार्टीको औचित्य सकिन्छ, राजिनामाबारे जानकारी दिन २०७२ असोज ९ गते आयोजित पत्रकार सम्मेलनमा लामो भूमिका बाधेपछि भट्टराईले भन्नुभएको थियो– ‘अब पूर्ण रुपबाट नयाँ सोचसहितको पार्टी बन्नुपर्छ। एउटा चरण पूरा भयो। अब आजैका मितिबाट लागू हुने गरी एमाओवादीका सबै पद र साधारण सदस्यतासमेत परित्याग गर्छु। गोर्खा क्षेत्र नम्बर १ बाट अत्याधिक मतले जितेर आएको म पार्टी परित्याग गरिसकेकाले अब संसद सदस्य समेत रहने छैन।’

त्यसो त अध्यक्ष प्रचण्डका कटाक्ष पनि कम थिएनन् । ८ असोजको पार्टी बैठकमा प्रचण्डले भन्नुभएको थियो– ‘अब हामी अलग–अलग बाटो हिँड्दा पनि हुन्छ ।’ लगत्तै ९ गते प्रचण्ड र बाबुरामबीच सम्बन्ध विच्छेद भएको थियो ।

पछिल्लो समय दुबै नेताबीच उठबस बढेको मात्र होइन, भावनात्मक सम्बन्ध पुनस्र्थापित गर्न पारिवारिक बैठक पनि भइरहेका छन् । ८ असोजमा नेसपाको कार्यक्रममा प्रचण्डले भन्नुभयो– ‘माओवादी विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका भएको छ । अब समाजवादका लागि एउटा नयाँ खालको जनयुद्धको आवश्यकता छ । बाबुराम र म मिल्दा नेपालमा युगान्तकारी जनयुद्ध सफल भएको हो । अब समाजवादको लागि पनि हामी मिल्नैपर्ने निश्कर्षमा पुगेका छौं । त्यो जनयुद्धमा डा. बाबुराम भट्टराई र म फेरी मिलेर लड्नेछौं ।’

प्रचण्डले भनेजस्तै समाजवादका लागि अर्को आन्दोलन हुन्छ वा यो विचारोत्तेजक भनाई मात्रै हो, यो त अहिले नै भन्न सकिन्न तर उहाँले प्रयोग गरेको ‘मिल्नैपर्ने निश्कर्षमा पुगेको’ तथ्य पनि यथार्थ हो । यसका पछाडि धेरै लामो कारण खोजिरहनुपर्दैन, जवाफ सहज छ– दुबैले भनेजस्तो भएन । यसबीचमा बाबुरामले नयाँ शक्ति, जसपा, नेसपासम्मका दल बनाएर वा एकता गरेर केही गर्न खोजेकै हो तर उहाँका नयाँ घरहरु त्यही पुरानो ‘भत्केको’ घर जति पनि भएनन् ।

बाबुरामको जीवनवृत्ति हेर्दा उहाँ केही न केही गर्न चाहने हुटहुटी भएको व्यक्ति हो । उहाँसँग परिस्थितिलाई चिन्नसक्ने अभूतपूर्व क्षमता छ र केही न केही नयाँ विचार वा कार्यक्रम दिइरहनसक्नुहुन्छ । तर, उहाँको जीवनको विडम्बना भनौं वा यथार्थ के भइदियो भने आफैले पार्टी संगठन बनाएर चलाउन चाहिं सक्नुहुन्न ।

केही गर्न चाहने, नयाँ पनि सोच्ने तर परिस्थितिलाई काबुमा राख्न नसक्ने बाबुरामको बिशेषता हो ।

ठीक त्यसैगरी प्रचण्डका थुप्रै बाध्यता छन् । जनयुद्धकालका दोस्रो र तेस्रो तहका नेता क्रमशः मोहन वैद्य र भट्टराइले अलग बाटो रोजेपछि माओवादी केन्द्रभित्र विचार सिद्धान्तका हिसाबले साथ दिने दोस्रो तहका नेता नै छैनन् । क्षमताका हिसाबले नारायणकाजी श्रेष्ठको वैचारिक दख्खल राम्रै भए पनि सांगठनिक प्रभाव र जनयुद्धकालीन लिगेसीको अभावमा माओवादी केन्द्रभित्रको मनोविज्ञान उहाँमाथि केन्द्रित हुँदैनन् ।

प्रचण्डको बुझाइमा त्यसभन्दा तलका नेताहरुले सहयोगभन्दा बढी हैरानी नै दिएका छन् । महाधिवेशन गरेको लामो समयसम्म पदाधिकारी छान्न नसक्नु र लामो समयपछि छान्दा पनि गतिशील नेतृत्वलाइ अघि सार्न नसक्नुका प्रचण्ड दुःख यसमै झल्किन्छन् ।

यी घटनाक्रमका बीच लामै ठक्करपछि यी दुई नेता भेट भएका छन् । प्रचण्डले ८ असोजको कार्यक्रममा यो पनि भन्नुभयो कि ‘बाबुरामजी मैले नै जनयुद्धमा जाने निर्णयको लेखाजोखा गरेका हौं । सोही अनुसार भएको १० वर्षको त्यो जनयुद्धले देशलाई ठूलो उथलपुथल गर्‍यो । अहिले फेरी समाजवादका लागि एउटा नयाँ खालको जनयुद्धको आवश्यकता छ भन्ने निष्कर्षमा पुगेका छौं ।

यी प्रयोग गर्दा हाम्रो उद्देश्य जति सुकै राम्रो र ठुलो भए पनि सफल हुन सकेन । घटनाक्रमले के साबित गर्‍यो भने हामी अलग–अलग प्रयोग गर्न हिँड्दा माओवादी जनयुद्ध, त्यसको ऐतिहासिक भूमिका, त्यसले स्थापित गरेका मूल्य मान्यताहरू, त्यसले ल्याएका परिवर्तनहरू धरापमा पर्ने खतरा देखापर्यो । प्रतिक्रियावादी, बर्जुवाहरुले माओवादी आन्दोलनका नेता–कार्यकर्ताहरूलाई अपमानित गर्ने र यसका उपलब्धिहरू उल्ट्याउन अनेक खालाका कसरतहरू गर्ने बीचमा देखा परे ।’

प्रचण्डले यी घटनाहरूको समीक्षा गर्न आवश्यक देखिएको बताउँदै यसको समीक्षा नगर्ने हो भने युगान्तकारी आन्दोलनका उपलब्धिहरू नै उल्टिने र देश फेरि अराजकतातिर जाने खतरा सबैले महसुस गरेको पनि स्पष्ट पार्नुभयो ।

‘यो परिवर्तन ल्याउन जसले विचार र राजनीतिक दृष्टिकोणको नेतृत्व गर्‍यो उनीहरू अलग–अलग हुँदा प्रतिक्रान्ति र प्रतिगमनले टाउको उठाउने प्रत्यक्ष महसुस गर्‍यौँ,’ प्रचण्डले अगाडि भन्नुभयो, ‘प्रचण्ड–बाबुराम दुईवटा नाम भएर मात्र परिवर्तन आएको होइन । नेपाली जनताले ठुलो बलिदान र त्यागबाट पैदा गरेका नाम हुन् यी । इतिहासले पैदा गरेको नेतृत्व अलग हुँदा आन्दोलन नै धक्का खाँदो रहेछ भन्ने तितो मार्मिक यथार्थ भोगिरहेका छौँ ।’

‘संविधानको घोषणापछि आफू र बाबुराम भट्टराईले एमालेसँग एकता र नयाँ शक्तिको स्थापना गर्ने दुस्हासिक प्रयोग गरेको बताउँदै उहाँले ती दुवै प्रयोग असफल भएको स्वीकार गर्नुभयो ।

घटनाक्रम जे जसरी अगाडि बढे पनि अहिले प्रचण्ड–बाबुराम सहकार्यका लागि वस्तुगत र आत्मगत दुबै आधार सकारात्मक रहेको देखिन्छ । वस्तुगत आधारको माथि संक्षिप्त चर्चा गरियो । आत्मगत अवस्था हेर्दा वैचारिकरुपमा प्रचण्ड र बाबुरामको लाइनमा भिन्नता छैन । त्यसो त जनयुद्धकालको फुन्टीबाङ बैठकबाट बांगिएको लाइन चुनबाङ बैठकसम्म पुग्दा सोझिएकै थियो । चुनबाङ बैठकबाट अन्य दलसँग मिलेर शान्तिपूर्ण संघर्षको बाटोहुँदै लोकतान्त्रिक गणतन्त्रलाई तात्कालीन राजनीतिक कार्यदिशा बनाउने लाइन सिंगो पार्टीको लाइन बन्यो, त्यो मूलतः बाबुरामकै लाइन थियो ।

शान्ति प्रक्रियाहुँदै पहिलो संविधानसभाको पूर्वसन्ध्यासम्म आइपुग्दा यो सिंगो पार्टीकै लाइन थियो तर पछि जोडकोण शुरु भयो । खासगरी यो लाइन पारित हुँदा भारतीय जेलमा रहेका वैद्यको लाइन पार्टीमा बलशाली बन्दै गएपछि पहिले बाबुरामसँग मिलेर ल्याएको लाइनमा प्रचण्डको फरक ब्याख्या आउन थाल्यो । ‘मुखमा निर्वाचन र मनमा बिद्रोह’ भन्दै दोहोरो अर्थ लाग्ने गरी नेताहरु पार्टीका आन्तरिक मञ्चमा खडा हुन थालेपछि बाबुराम अलि सशंकित हुँदै गएको देखिन्छ ।

यो सवालमा बाबुरामको सवल पक्ष भनेको के हो भने अब नेपालमा परम्परागत रुपमा युद्ध र बिद्रोह भनेर मात्रै क्रान्ति हुँदैन, जनताको जीवनमा देखिने गरी परिवर्तन नगरी अघि बढ्न सकिन्न र त्यसका लागि माक्र्सवादी ब्याख्याले मात्रै पनि नपुग्नसक्छ भन्ने उहाँको दृष्टिकोण स्पष्ट नै छ ।

पछिल्लो समय कल्पनासमेत नगरिएको एमालेसँगको एकताहुँदै बिबिध घटनाक्रमलाई हेर्दा प्रचण्ड पनि पुरानै तरिकाले अघि बढ्न सकिदैन भन्नेमा स्पष्ट देखिनुहुन्छ । बरु सहज के भएको छ भने हिजोको जस्तो क्रान्ति र बिद्रोह भन्दा भड्निे नेता कार्यकर्ता अब प्रचण्डसँग छैनन् । सांगठनिक जिम्मेवारीमा केही असुष्टि देखिए पनि पछिल्लो समय प्रचण्डको नीति र नेतृत्वमा चुनौती दिने नेता छैनन् ।

कार्यकर्ता तहमा पनि केही नहुनुभन्दा थोरै परिवर्तन हुन्छ भने जस्तो बाटो अंगिकार गरे पनि हुन्छ भन्नेको जमात धेरै छ । एक त धेरै नेता कार्यर्ता सत्ताको चाख्नी चाख्न बानी परेर क्रान्ति परिवर्तन भन्ने आदर्शबाट च्यूत भइसकेका छन् भने बाँकी परिवर्तनको सपना देख्नेहरु पनि नहुने क्रान्तिकारी गीत गाउनुभन्दा पनि थोरै भए पनि सुधारवादी कार्यक्रमबाट जनताबिच गरिएका वाचा पूरा गर्न सकिन्छकि भन्नेमा आशावादी छन् । क्रान्तिकारी जार्गन दिइरहेका विप्लव, धर्मेन्द्रहरुको राजनीतिक चक्कर देखेर पनि नहुने क्रान्तिकारिताभन्दा हुने सुधारवाद सही भन्नेमा धेरै कार्यकर्ता पुगेका छन् ।

यो भनेको प्रकारान्तरले बाबुरामकै लाइन हो । यसरी वस्तुगत आधार हेर्दा प्रचण्डलाई सहयोगी नेताको अभाव तथा बाबुरामलाई संगठनसहितको नेतृत्वको अभाव हुनु तथा आत्मगतरुपमा दुबै नेताको वैचारिक बुझाइमा समानता आएकाले पनि प्रचण्ड–बाबुराम सहकार्यको नयाँ कडी जोडिन थालेको बुझ्न गाह्रो छैन ।

Facebook Comments