• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सङ्गीतकार श्रेष्ठकाे फरैना उपन्यास विमोचन




दीपक समीर / नेपाली आधुनिक सुगम सङ्गीतको क्षेत्रमा प्रसिद्ध सङ्गीतकार सन्तोष श्रेष्ठ उपन्यासकारमा रुपमा आउनुभएको छ । उहाँको पहिलो उपन्यास कृति ‘फरैना’ शुक्रबार काठमाडौंमा एक विशेष सामारोहबीच विमोचन गरिएको छ ।

महानायक राजेश हमाल, प्रा.डा. कृष्णहरि बराल, डा. भीमार्जुन आचार्य र लेखक एवम् नेत्री शान्ता चौधरीले सामूहिक रूपमा उपन्यासको विमोचन गर्नुभएको हो ।

सङ्गीत, साहित्य र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको विमोचन समारोहमा सांसद चौधरीले कमलरी प्रथाको बारेमा गहिराइमा पुगेर लेखिएको उपन्यासले आफ्नै कथा, विषयवस्तु उठाएको जस्तो लागेको टिप्पणी गर्नुभयो । ‘यो उपन्यासका हरेक पानाहरू पढ्दै जाँदा आफ्नो अतितका दिनहरूमा फर्कन बाध्य भएँ, जुन कुराहरू म बिर्सन कोशिस गरिरहेको हुन्छु ।’ सांसद चौधरीले भन्नुभयो, ‘सन्तोष श्रेष्ठले हैन कि कोही सन्तोष थारुले लेखेको जस्तो महसुस भयो ।’

वक्ता डा. कृष्णहरि बरालले प्रकृतिको सुन्दर चित्रणसहित मानवीय संवेदनालाई यस उपन्यासले जबर्जस्त प्रस्तुत गरेको बताउँदै गायक र सङ्गीतकारका रुपमा उचाईमा पुगेको सन्तोषको व्यक्तित्वमा अब उपन्यासकार जोडिएको बधाई तथा शुभकामना दिनुभयो ।

आफ्नो भनाइ पस्कदै डा. भीमार्जुन आचार्यले बनोट र बुनोटका हिसाबले हेर्दा अत्यन्त माझिएको अभिव्यक्तिले फरैना पठनीय बनेको टिप्पणी गर्नुभयो ।

फरैना पूर्ण अध्ययन गरेर बोल्दै महानायक राजेश हमालले यस कृतिमा संवेदनालाई सरलीकरण गरिएको सुन्दर नमुना यस उपन्यासको विशेषता रहेको बताउनु भयो ।

उपन्यासकार श्रेष्ठले आफनो मानसपटलमा लामो समयदेखि सलबलाएको गम्भीर प्रश्नले आख्यानको यो आकार ग्रहण गरेको बताउनुभयो । ‘यसलाई मैले आफ्नो संवेदनाको प्रतिरूप मानेको छु’, उहाँले भन्नुभयो । उहाँले सानैदेखि देखेको विकृति, विसङ्गतिलाई उपन्यासमा उतार्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । कोरोना महामारीका कारण भएको बन्दाबन्दीको समयमा उपन्यास लेखेको अनुभव उहाँले सुनाउनुभयो ।

थारु समुदायमा वर्षौँसम्म कुप्रथाको रुपमा रहेको कमलरी, त्यसभित्रका दुख, पीडा, किशोरावस्थाका सपना र सफलताका लागि आवश्यक अठोट उपन्यासका मूल विषयवस्तु छन् ।

Facebook Comments