निर्वाचन आयोगले शनिबारबाट चारवटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिकतर्फको मतपत्र छाप्ने भएको छ ।
आयोगका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिकतर्फका मतपत्र छाप्ने भएको छ भने बाँकी लुम्बिनी, कर्णाली र सुुदूरपश्चिम प्रदेशको मतपत्र पछिल्लो चरणमा छाप्ने योजना आयोगले बनाएको छ । चारवटा प्रदेशका लागि करिब एक करोड ३१ लाख मतपत्र छाप्ने आयोगले बताएको छ ।
आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छाप्दै आएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फको नमुना मतपत्र छपाइ सकिए लगत्तै प्रदेश सभा सदस्यको समानुपातिकतर्फको मतपत्र छपाइ सुरु हुने जानकारी दिनुभयो । आयोगका अनुसार प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फ करिब २० लाख नमुना मतपत्र छापिँदैछन् ।
आयोगले भदौ २१ गतेबाट नमुना मतपत्र छाप्न सुरु गरेको हो । देशभरिका ७५३ वटै पालिकामा नमुना मतदान गर्ने योजना बनाएको आयोगले सोही बमोजिम मतपत्र छापेको हो ।
प्रत्येक प्रदेशमा मतदाता सङ्ख्या फरक भएकाले मतपत्रसमेत सोही आधारमा छापिने प्रवक्ता पौडेलले बताउनुभयो । शनिबारबाट चारवटा प्रदेशको मतपत्र छापिनेछ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।