सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित सम्पर्क कार्यलय:
घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected] विज्ञापनका लागि 9809855403
फकलालाई जब सहरी मन्त्रीको फोन आयो…
१४ भाद्र २०७९, बुधबार
सूर्य बिसी
शुक्रबारको मध्यान्ह । घाम चर्किदै थियो । लमही–१ स्थित श्री सूर्यविनायक मावि, नर्तिका विद्यार्थीहरु शुक्रबारे हाफ छुट्टीका कारण घरघर लागिसकेका थिए । त्यहीँ विद्यालयमा अवस्थित लावाजुनी छात्राबासका मुक्त कमलहरी भने उत्साहित थिए । उत्साहित यस अर्थमा कि मन्त्री आउने खबर समयमै पुगिसकेको थियो र अब उनीहरुको उज्यालो भविष्यको सपना मन्त्रीमै हातमा पुगेको थियो ।
लावाजुनी छात्राबासमा बसिरहेका मुक्त कमलहरी किशोरीहरुले जीवनमै पहिलो पटक मन्त्रीसँग भेटघाट गर्दै थिए । त्यसो त यो भेट, भेटघाटको सामान्य उपक्रम मात्र थिएन, २ वर्षदेखि उनीहरुको छात्राबासको ऋण झण्डै तीन लाख पुग्दै थियो । बस्ने, खाने र पढ्ने यी जम्मै कुराको वातावरण बिग्रिएर उत्कर्षमा पुगको थियो । र तीनै मुक्त कमलहरी किशोरीका समस्या समाधान गर्न नायक बनेर उभिएका थिए सहरी विकास मन्त्री मन्त्री मेटमणि चौधरी ।
सामान्य स्वागत लगत्तै मञ्जिला चौधरीले कार्यक्रम सुरु गरिन् । कार्यक्रमका संयोजन गरिरहेका र झण्डै १८ वर्षदेखि कमलहरी मुक्त अभियानमा सक्रियतापूर्वक जोडिदै आएका फकला चौधरी बोल्न सुरु गरे, ‘त्यस्तै रातिको पौने एघार बजेको थियो । म भर्खर निद्रामा डुब्न लागेको थिएँ । मोबाइलमा घण्टी बज्यो । यसो हेरेको मन्त्रीज्युको कल रहेछ । यति राति मन्त्रीज्युको फोन अचम्म परेँ । तपाईँको स्ट्याटस पढेँ । अहिलेसम्म बैनीहरुको तिर्नुपर्ने ऋण कति छ, खाद्यान्नको कति । जम्मै बुझ्नुस् । म जिम्मा लिन्छु । भोलि नै विद्यालयमा गएर घोषणा गर्दिनुस् । म पर्सि त्यहीँ आउछु ।’
फकला थारु भावुक देखिए । सम्हालिदै उनी फेरि बोल्न सुरु गरे, ‘नानीहरुको २ वर्षदेखिको खानपिन, पढाई अनि उपचार खर्चको ऋण ३ लाख पुग्न लागेको थियो । कमलहरी बैनीहरुको समस्या समाधान गर्न प्रदेश मन्त्री, मुख्य मन्त्री देखि संघीय मन्त्रीका कोठासम्म पुगेँ । ज्ञापन पत्र बुझाएँ । हार गुहार गरँे तर आजसम्म सबैले आश्वासन मात्र दिए । भन्न बाँकी थियो त सहरी मन्त्रीज्युलाई मात्र थियो । एक्कासि उहाँले म छु । म समाधान गर्छु भनेपछि हेर्नुस् मन यति हलुको भयो कि म कसरी व्यक्त गरुँ ? अनि म ढुक्कले सुतेँ । माननीय मन्त्रीज्यूप्रति विशेष आभार व्यक्त गर्छु ।’
अब बोल्ने पालो होस्टेल वार्डेन बृजा चौधरीको थियो । नानीहरुको रेखदेख र स्याहारमा खटिएकी बृजाले आफ्ना कुरा यसरी राखिन्, ‘विद्यार्थी ३२ जना छन् । सरकारले जम्मा १४ जनाको जनही ४ हजार दिन्छ । १० महिनाको पैसा दिन्छ, हामीले १२ महिना पु¥याउनुपर्छ । तैपनि समयमा आउँदैन । बेलाबेलामा बिरामी पर्छन् । २ जना सिकल सेलका बिरामी थिए । एउटी त्यही रोगले बितिन् । महंगी बढेको बढ्यै छ । केले खाने, केले पु¥याउने, केले उपचार गर्ने निकै गाह्रो अवस्था छ । तनावले गर्दा राम्ररी पढ्न पनि सकेका छैनन् । घर पठाउँ भने यिनीहरुको घर पनि छैन । आज मन्त्रीज्यु आउँनुभाछ । धेरै खुसी लागेको छ । अब आसा पनि जागेको छ ।’
मुक्त कमलहरीका तर्फबाट आशा चौधरीले पीडा पोखिन्, ‘खानेकुरा छैन । कापी किन्न गाह्रो छ । औषधी उपचार समयमा पाउन सकेका छैनौँ । बाहिर जाँदा साहुले खाद्यान्नको पैसा माग्छ । निकै गाह्रो छ सर हाम्लाई । सहयोग गर्छु भनेर मन्त्रीज्यु आउनुभयो । हाम्रो दुःख हेर्ने कोही रहेछ जस्तो लागेको छ ।’
सबैका कुरा गम्भीरतापूर्वक सुनिसकेपछि सहरी विकास मन्त्री मेटमणि चौधरी बोल्ने समय आयो । ‘तपाईँहरु भाग्यमानी हुनुहुन्छ किनकि यस्तै दुःख पाएका वर्गबाट आएका मानिसहरुले नै दुनियाँ बदलेका छन् । शक्तिशाली भएका छन् । अब्राहम लिङ्कनलाई हेर्नुस्, उनकी आमाले बच्चा पाउने ठाउँसम्म नपाएर मालिकको तबेलामा बच्चा जन्माएकी थिइन् । दाउरा बेचेर बच्चा हुर्काइन् । लिङ्कनले अमेरिका बदले । झमककुमारीलाई हेर्नुस् । सबैले उनलाई हेला गरे तर उनले हिम्मत हारिनन् । ठुलो कुरा आँट हो । हिम्मत हो । पैसा मात्र सब थोक होइन । तपाईँहरु पनि प्रधानमन्त्री, राष्ट्रपति बन्ने सोंच राख्नुस् ।
मेरो घरमा पनि खरको छानो नभएको भए, पानी चुहिने नभएको भए सायद मैले सबैका घरमा टिन लगाउने संकल्प गर्ने थिइनँ । आज तपाईंहरुलाई समस्या छ तर भोलि तपाईँहरुको निकै राम्रो हुनेछ । राम्रोसँग पढ्नुस् । अरु चिन्ता नलिनुस् । तपाईँहरुका समस्या म समाधान गर्छु । ढुक्क भएर पढ्नुस् । म नियमित सहयोग गर्नेछु । सरकारका तर्फबाट पनि सहयोग हुने वातावरण मिलाउनेछु ।’
मुक्त कमलहरी विकास मञ्चको कानुनी सल्लाहकार समेत रहेका फकला थारु निकै उत्साहित दखिए । उनले ती नानीहरुका लागि गरेको प्रयास बल्ल सार्थक हुदै थियो । मन्त्रीको त्यो कल अनि निरन्तर सहयोग गर्ने वाचा उनलाई एक मिठो सपना जस्तो लागिरहेछ ।
उनी सुनाउछन्, ‘मन्त्रीज्युले २ लाख नगद र ४० हजार बराबरको खाद्यान्न उपलब्ध गराउनुभएको छ । ठुलो राहत मिलेको छ । केही महिनालाई खाद्यान्नको समस्या पनि हल भएको छ । मन्त्रीज्युले निरन्तर सहयोगको व्यवस्था मिलाउँछु भन्नुभएको छ । मुक्त कमलहरी बैनीहरु पनि पढ्न कस्सिएकाछन् । निकै खुसी छन् ।’
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।