• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लमहीसहित ३२ स्थानमा ५१ वटा चार्जिङ स्टेसन बन्दै




नेपाल विद्युत् प्राधिकरणले देशभरका विभिन्न ३२ स्थानमा ५१ वटा चार्जिङ स्टेसन बनाइरहेको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगबाट करिब ३८ करोड रुपैयाँ लागतमा यी संरचना निर्माण भइरहेका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मंगलबार प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कमा बनाइएको अत्याधुनिक फास्ट चार्जिङ स्टेसन उद्घाटन गरिन् । आन्तरिक विद्युत् खपत बढाउन विद्युतीय सवारी प्रयोगलाई बढावा दिनु अहिलेको आवश्यकता रहेको र त्यसका लागि चार्जिङ स्टेसन स्थापना महत्त्वपूर्ण कदम रहेको मन्त्री भुसालको भनाइ छ ।

प्राधिकरणले विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत अहिले सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहर पर्ने ५१ स्थानमा विद्युतीय सवारीसाधन छिटो चार्ज गर्न मिल्ने स्टेसन बनाइरहेको छ । त्यसमध्ये २६ वटा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटा सानाठूला कार चार्ज गर्न मिल्नेछन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित तथा प्रस्तावित पेट्रोल पम्प र कार्यालयका उपयुक्त स्थानमा चार्जिङ स्टेसन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ ।

कुन–कुन ठाउँमा बन्दै छन् 

झापाको बिर्तामोड बसपार्कमा २ र दमक चार्जिङ केन्द्रमा थप २ गरी ४ वटा चार्जिङ स्टेसन बनाइनेछ । मोरङको विराटनगर बसपार्क र सुनसरीको इनरुवा बसपार्कमा पनि चार्जिङ स्टेसन राखिनेछ । उदयपुरको बेलका, सप्तरीको प्रहरी कल्याण कोष पेट्रोल पम्म, इलाका प्रहरी कार्यालय निजगढ र मकवानपुरमा दुई–दुईवटा चार्जिङ स्टेसन राखिनेछन् । चितवनको पारस बसपार्कमा दुई र मुग्लिङ पुलमा एउटा चार्जिङ स्टेसन राखिनेछ । सर्लाहीको हरिऔन रिफ्रेस सेन्टर र धादिङको इलाका प्रहरी कार्यालयमा पनि चार्जिङ स्टेसन बनिरहेका छन् ।

काठमाडौं उपत्यकाभित्र साझा सेवा बल्खुमा दुई, ललितपुरको साझा यातायातमा दुई, नेपाल पुलिस क्लबमा एउटा र नेपाल विद्युत् प्राधिकरणमा एउटा चार्जिङ स्टेसन रहनेछन् । काभ्रेको बनेपामा रहेको साझा सेवामा पनि दुई चार्जिङ स्टेसन बन्नेछन् ।

रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रदेश प्रहरी कार्यालय, नवलपरासीको बर्दघाटस्थित इलाका प्रहरी कार्यालय र कपिलवस्तुको गोरुसिंगेस्थित इलाका प्रहरी कार्यालयमा पनि दुई–दुईवटा चार्जिङ स्टेसन राख्ने तयारी छ । दाङको लमही बसपार्क, बाँकेको कोहलपुरस्थित नेपाल एपीएफ स्कुल र सुर्खेतको नयाँ बसपार्कमा पनि दुई–दुई चार्जिङ स्टेसन राखिनेछ ।

रूपन्देहीको भैरहवा बसपार्क र कैलालीको सशस्त्र प्रहरी बल बैजनाथ वाहिनीमा चार्जिङ स्टेसन राखिनेछ । पोखराको पर्यटक बसपार्क र लेकसाइडमा पनि चार्जिङ स्टेसन बनाइँदै छ । नुवाकोटको बसपार्कमा एउटा र हावा घरमा अर्को चार्जिङ स्टेसन बन्नेछ । सिन्धुलीको सिन्धुलीगढी बसपार्क र खुर्कोट रिसोर्ट सेन्टर, महोत्तरीको बर्दिबासस्थित इलाका प्रहरी कार्यालय र कञ्चनपुरको शैलेश्वरीस्थित सशस्त्र प्रहरी बलमा पनि चार्जिङ स्टेसन बन्दै छन् ।

Facebook Comments