• ५ माघ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
देशभरि डेंगुको प्रकोप, ७० जिल्लाका संक्रमण विस्तार




दाङसहित ७० जिल्लाका विभिन्न भागमा डेंगु संक्रमण विस्तार भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत पुसदेखि आइतबारसम्म २ हजार ५ सय ३९ जनामा डेंगु पुष्टि भइसकेको छ ।
दाङमा दैनिक एक जना जतिमा यो रोगको संक्रमण देखिने गरेको छ ।

काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सोमबार उपचाररत डेंगुका बिरामी । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म २ हजार ५ सय ३९ जना संक्रमित भइसकेका छन्।

टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै १७ जना उपचाररत छन्, तीमध्ये चार जना आईसीयूमा छन् । यहाँ दिनहुँ ७० जनासम्म संक्रमित उपचारका लागि आउने गरेका छन् ।

ललितपुरको महालक्ष्मीस्थानस्थित होस्टलमा बस्दै आएकी १९ वर्षीया किशोरीलाई हातखुट्टा दुख्न र ज्वरो आउन थालेपछि सिभिल अस्पतालमा जँचाउने क्रममा डेंगु पुष्टि भएको थियो । टेकु अस्पताल रेफर गरिएकी उनी तीन दिनदेखि आईसीयूमा छिन् । डेंगु देखापरेपछि नुवाकोटका एक युवक र सिन्धुपाल्चोकका एक ज्येष्ठ नागरिक पनि आईसीयूमा छन् ।

टेकु अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार डेंगु भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेले टोक्दा संक्रमण हुन्छ । ‘लामखुट्टेले प्रायः दिनमा टोक्छ, यद्यपि घाम उदाएको २ घण्टा पछाडि र घाम अस्ताउनुभन्दा २ घण्टा अगाडि यो लामखुट्टे बढी सक्रिय हुने भएकाले थप सचेत हुनुपर्छ,’ उनले भने, ‘टिनका डब्बा, प्लास्टिकका खोल, टायर, सिसी, अन्डाको बोक्रा, ड्रम, गमला, पानी ट्यांकीजस्ता पानी जम्ने भाँडामा यो लामखुट्टेले फूल पार्छ ।

संक्रमितमध्ये अधिकांशमा १०४–१०५ डिग्रीसम्म कडा ज्वरो आउने, टाउको, पेट र जीउ दुख्ने, खान मन नलाग्ने, वाकवाकी, बान्ता हुने, एकदमै कमजोरी अनुभव हुनेजस्ता लक्षण देखिन्छ ।’ आँखाको गेडी दुख्ने, हाडजोर्नी, मांसपेशी र ढाड दुख्ने, रिंगटा लाग्ने, श्वासप्रश्वासमा समस्या आउने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तस्राव हुने, बेहोस हुनेजस्ता लक्षण पनि देखा पर्न सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार ७० जिल्लामा डेंगु देखापरेको छ । तीमध्ये सबभन्दा बढी ललितपुरमा ८ सय ५८, रूपन्देहीमा ३ सय ६३, काठमाडौंमा ३ सय ३२, धादिङमा ७३, तेह्रथुममा ६५, सिन्धुलीमा ६१, भक्तपुरमा ५४, संखुवासभामा ५१, अर्घाखाँचीमा ५० र गुल्मीमा ४९ जनामा डेंगु देखापरेको छ । वाग्मती प्रदेशमा १ हजार ४ सय ७८, लुम्बिनीमा ४ सय २, प्रदेश १ मा १ सय ६, सुदूरपश्चिममा ४७, मधेस र गण्डकीमा ३६/३६, कर्णालीमा १८ जनामा डेंगु पुष्टि भएको छ । महाशाखाको किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले रोग नियन्त्रण गर्न नागरिक पनि सचेत हुन जरुरी रहेको बताए । ‘१ सय ३९ पालिकालाई रोग नियन्त्रण गर्न बजेट पनि पठाएका छौं,’ उनले भने, ‘महिला स्वयंसेविका, टोल सुधारजस्ता संघसंस्था पनि सक्रिय हुनुपर्छ ।’

डेंगु २०२१ मा ५ सय ४० र २०२० मा ५ सय ३० जनालाई मात्र लागेको थियो । २०१९ मा महामारीका रूपमा फैलँदा १७ हजार ९ सय ९२ जना संक्रमित भएका थिए भने तीन जनाको मृत्यु भएको थियो ।

के हो डेंगु ? कसरी बच्ने ?

डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने संक्रामक रोग हो, डेंगु । यो लामखुट्टे ग्रामीण क्षेत्रभन्दा पनि शहरी क्षेत्रमा बढी पाइन्छ ।

डेंगु, एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो । एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ ।

यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोम गरी तीन प्रकारको हुन्छ । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो । यो आफैँ निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ ।

यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुन सक्छ ।

लक्षण

डेंगुको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ ।

– शरीरमा विमिरा आउने
– अत्यधिक टाउको दुख्ने
– ढाड, जोर्नी तथा मांसापेशि दुख्ने
– आँखाको गेडी तथा पछिल्लो भाग दुख्ने
– वाकवाकी लाग्ने
– पेट दुख्ने
– नाक वा गिजाबाट रगत बग्ने
– रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने
– बेहोश हुने

यदि डेंगुको यि लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्था जानु पर्दछ । डेंगु ज्वरो घटाउन सिटामोल तथा प्रशस्त झोल पदार्थ खानुपर्छ । तर ज्वरो घटाउने नाममा एस्पीरीन तथा आईबुप्रोफेन भने खान हुँदैन । डेंग ज्वरो विरुद्धको खोप तथा खास उपचार समेत नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो ।

बच्ने उपाय

डेंगु सार्ने लामखुट्टेले पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने स्थानमा यसले फुल पार्दछ । तसर्थ डेंगुबाट बच्न निम्न कुरामा ध्यान दिनु पर्दछ ।

– लामखुट्टेको टोकाइबाट बच्नु र लामखुट्टेको वृद्धि रोक्नु नै डेंगुबाट बच्ने उत्तम उपाय हो ।
– लामखुट्टेको वृद्धि रोक्न, पानी जम्न सक्ने भाँडा गमला, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फुलदानी, खाली बट्टा, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनु हुदैँन ।
– छतमा हुने पानीको ट्याङ्किमा समेत लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने ।
– कुलरको पानी पनि प्रत्येक हप्ता मट्टितेल हालेर सफा गर्ने ।
– यो लामखुट्टेले दिउँसो टोक्ने भएकाले पुरा बाउला भएको वा शरिर ढाकिने लुगा लगाउने ।
– सुत्दा अनिवार्य झुलको प्रयोग गर्ने । साना केटाकेटीलाई विशेष ख्याल गर्ने ।
– लामखुट्टेको टोकाइबाट बच्न पाइने स्प्रे, इलेक्ट्रिक उपकरण, धुवाँ र मल्हम लगाउने ।
– घरका झ्याल ढोकामा सकेसम्म जाली लगाउने ।

Facebook Comments