• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
१४८ मतसहित पुष्पा भुसाल उपसभामुखमा निर्वाचित




प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनकी उम्मेदवार पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार भएको निर्वाचनमा कांग्रेसकी सचेतकसमेत रहेकी भुसालले एमालेकी उम्मेदवार विद्या भट्टराईलाई पराजित गरेकी हुन् ।

उपसभामुखमा निर्वाचि भुसालले १४८ मत प्राप्त गरिन् भने एमाले उम्मेदवार विद्या भट्टराईको पक्षमा भने ९३ मत मात्रै पर्‍यो । साढे २ वर्षदेखि उपसभामुखविहिन रहेको प्रतिनिधिसभामा भुसालले नयाँ जिम्मेवारी पाएकी हुन् । उनी दोस्रो प्रयासमा उपसभामुख बन्न सफल भएकी हुन् ।

उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । हाल २ सय ७१ सांसद छन् । जसको बहुमत १ सय ३६ हो । शुक्रबारको निर्वाचनमा २४२ सांसद उपस्थित थिए । एक सिट रहेको नेपाल मजदुर किसान पार्टी भने निर्वाचनमा सहभागी भएको थिएन ।

२०७४ सालमा भएको प्रतिनिधिसभाको उपसभामुख निर्वाचनमा तत्कालीन वाम गठबन्धनकी एमाले उम्मेदवार शिवमाया तुम्बाहाङ्फेबाट पराजित भुसाल अहिले वाम गठबन्धनमा रहेको माओवादी केन्द्र र तत्कालीन एमालेबाट छुट्टिएर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को भोटको बलमा उपसभामुखमा निर्वाचित भएकी हुन् ।

भुसाललाई जनता समाजवादी पार्टीका साथै लोकतान्त्रिक समाजवादी पार्टीले पनि भोट दिएको छ । २०७४ सालको उपभामुख निर्वाचनमा भुसालले ५८ भोट पाएकी थिइन् । त्यतिबेला तुम्बाहाङ्फेले २०१ भोट प्राप्त गरेकी थिइन् ।

को हुन् भुसाल ?
पुष्पा भुसाल (गौतम) विद्यार्थी राजनीतिबाट उदाएकी नेपाली काँग्रेसकी नेतृ हुन् । राजनीति पृष्ठभूमिमा हुर्किएकी भुसालले काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा प्रारम्भ गरेकी थिइन् । काँग्रेसको महिला विभाग, ट्रेड युनियन काँग्रेस र महिला सङ्घको महामन्त्रीको जिम्मेवारी सम्हालिसकेपछि भुसाल पार्टी राजनीतिमा आएकी थिइन् ।

काँग्रेस निकट डीएलएमा १० वर्ष कानुनी सल्लाहकार रहेकी उनी केही समय वकालत पेसामा समेत आबद्ध थिइन् । कानुन क्षेत्र छोडेर पूर्णकालीन राजनीतिमा होमिएकी उनी काँग्रेसको १२ औँ महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा छन् ।

संसदीय राजनीतिको यात्रामा उतारचढाव भोगेकी उनी यतिबेला काँग्रेस संसदीय दलमा सचेतकको भूमिकामा छिन् । उनी २०६४ सालमा अर्घाखाँची २ बाट सांसदमा निर्वाचित भएकी थिइन् । ०५६ को संसदीय निर्वाचनमा भने सोही क्षेत्रबाट भुसाल पराजित भएकी थिइन् ।

भुषालले १७ वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेकी छिन् । राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक भुषालले आधिकारिक रूपमा भने २०३६ मा नेपाल ल क्याम्पसको नेविसङ्घबाट राजनीति सुरु गरेकी थिइन् । नेपाल वार एसोसिएसनका केन्द्रीय सदस्य रहिसकेकी भुसालले पार्टीको केन्द्रीय कानुनी सल्लाहकार समितिका सदस्य, केन्द्रीय महिला विभाग सदस्य र नेपाल महिला संघको महासचिव भएर काम गरिसकेकी छिन् ।

वरिष्ठ अधिवक्ता समेत रहेकी ६१ वर्षीया भुसाल एक छोरीकी आमा हुन् । पुष्पा चर्चित डाक्टर एवं पूर्वराजदूत डा.चोपलाल भुसालकी पत्नी हुन् । राजनीतिक पृष्ठभूमिकी भुसालका बुवा काशीनाथ गौतम २०१५ सालको बीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री रहेका थिए ।

२०१७ सालमा राजा महेन्द्रको कदमपछि १४ वर्ष पिता काशीनाथ गौतमसहित भारत निर्वासित भएका थिए । भुषाल २०२८ सालदेखि सक्रिय राजनीतिमा होमिएकी हुन् ।

Facebook Comments