• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
‘विश्वभरि छरिएका रोल्पालीलाई संगठित गरेर सामाजिक सेवामा जुट्दैछौं’




खाडीलगायतका देशहरुमा रहेका नेपालीको अवस्था अनि अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले खेलेको भूमिका, दायित्व र परदेशी जीवन कति सहज र कति असहजलगायतका यावत बिषयमा सिस्ने अनलाइन मिडिया पर्सन प्रेम क्षेत्रीले अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदी शाखाका अध्यक्ष नरेन्द्र घर्तीसँग लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छः

अध्यक्षज्यू सञ्चै हुनुहुन्छ ?
↪️ हजुर, आरामै छ ।

परदेशको जीवन कति सहज र कति असहज ?
↪️ थोरै सहज, धेरै असहज छ । यहाँको फरक वातावरण अनि भाषा, कला संस्कृति, रितिरिवाज, रहनसहन, नीति नियम नजानेको काममा निकै सकस हुने गर्दछ । परदेशी भूमि न हो, साहुको ऋण, कामको तनाव, परिवार, घरदेशको याद इत्यादि कुराहरुले मानसिक तथा भौतिक रुपमा निकै असर गर्दछ ।

नेपाली युवाहरुको पहिलो रोजाई किन बिदेश नै बन्दै गैरहेको छ ? के नेपालमा त्यो संभावना नभएकै हो त ?
↪️प्रमुख कुरा त नेपालमा बढ्दो बेरोजगारी र उचितखाले रोजगारी नहुनु नै हो । नेपाल एउटा सम्भाव नै सम्भावनाको सुन्दर देश हो, मलाई गर्व लाग्छ। तर, राज्यको लापरबाहीले उचित ब्यबस्थापन नहुनु, रोजगारीको ग्यारेन्टी नगरिनु नै प्रमुख कारक हो। युवाहरुको मनोभावना र चाहना वा रोजाई विदेश होइन त्यो बाध्यता हो । मरुभूमिको ५०÷५५ डिग्री गर्मीमा रगत पसिना बेच्न र आफ्नो सुन्दर रुप कुरुप बनाउन कसैलाई रहर हुदैन । युवा श्रमलाई स्वदेशमै रोक्न र मुलुकलाई आत्मनिर्भर बनाउन राज्यले यातायात, विद्युत, पर्यटन, कृषि तथा पशुपालन आदि क्षेत्रमा जोड दिनु पर्यो । उद्योग तथा कलकारखानाको स्थापना गर्‍यो भने त्यो बाध्यताको बिषय बन्नेछैन ।

धेरै मान्छेहरु भन्छन् बिदेश गएर पैसा कमाउछु अनि नेपालमै केही गर्छु, तर आएको केही समयमै पासपोर्ट मेनपावरमै बुझाउने बाध्यता के हुन्छ ?
↪️ मान्छे स्वाभावैले पनि सपना देख्छ । केही पूरा हुन्छन, केही अधुरा । यसो हुनुको पछाडि दीर्घकालीन योजनामा कमजोरी, राज्य संयन्त्रसम्म पहुँच नहुनु, चर्को महंगी आदि नै मुख्य समस्या हो । उसले कमाएको थोरै पैसा लगानी गरेर त्यही भविस्य देख्न सक्थ्यो भने फेरि मेनपावर धाउनु पक्कै पनि रहर हुदैन ।

तपाई लामो समयदेखि खाडीमा बसिरहँदा देख्नुहुन्छ, कति नेपालीहरुले दुख पाईरहेका छन् । त्यसको उद्धारमा कति तत्पर रह्यो यो संस्था ?
↪️ हामी हरेकको समस्यालाई आफ्नै समस्या भनेर लाग्यौं र लाग्ने छौ । त्यसैले हामी सधै तत्पर छौं भन्नुपर्छ । प्रवास हो, धेरै समस्याहरु हुने गर्छन । केही देखियो, केही भोगियो पनि । त्यसैले यी समस्यासँग जुध्न र सकेजति हल गर्न भनेर अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज आज विभिन्न संघ संस्था, बुद्धिजीवी, समाजसेवी, यहाको सरकार, नेपाली राजदूतावास, हरेक प्रवासी नेपालीसँग हातेमालो र सहकार्य गर्दै साउदीमा उभिएको छ ।

तपाई दुई दुई कार्यकाल अध्यक्ष चयन हुनुमा तपाईले के चाहिँ काम गर्नुभयो, जुन सबैको मन जित्न सक्नुहुन्छ ?
↪️ सबैभन्दा ठूलो कुरा त विश्वास, इमान्दारिता, आफ्नो कर्तव्य र जिम्मेवारी हो । त्यो म भित्र कतै डगमगाउन दिएको छैन र दिने पनि छैन। सबैको साथ सपोर्ट पाएको छु । त्यसैले होला दोस्रो कार्यकालको लागि पनि चयन गर्नुभयो ।

तपाईहरुको यो संस्थाका उद्देश्यहरु भनिदिनुहोस् न ।
↪️ अवस्य पनि । रोल्पाली सेवा समाज विश्वभरका रोल्पालीहरु गोलबन्द हौं भन्ने मुल नाराका साथ जन्मिएको हो । संस्था आज आधा दशक पार गर्दै गर्दा एसिया, युरोप र अफ्रिकी मुलुकसम्म विस्तार भएको छ । दर्जनौं मुलुकबाट आज हजारौं रोल्पाली एउटा मालामा उनिएका छौं । मूलभूतरुपमा संस्थाले विभिन्न किसिमका प्राकृतिक बिपत्ति, आकस्मिक हुने घटना, दीर्घरोगी वा अन्य विरामीको उपचार तथा उद्धार, प्रवासमा हुने विभिन्न किसिमका समस्या परेकाहरुलाई सहयोग र उद्धार आदि कार्य गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले अहिलेसम्म गरेका बुँदागत लोकप्रिय काम खोजे भने के दिनुहुन्छ ?
↪️अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले अतुलनीय मानवीय उद्धार तथा राहत, उपचार र आर्थिक सहयोग गर्दै आइरहेको छ । सबै कुरा त व्याख्या गरेर साध्य नहोला । दिलबहादुर बचाउ अभियानबाट सुरुवात हाम्रो यात्रामा अहिले टीका घर्ती उद्धारसम्म आइपुग्दा ३० लाख रुपैयाँ बढिको आर्थिक सहयोग गरेका छौं । अन्य मानवीय उद्धार तथा समाजसेवालाई यसरी बुझ्नसक्नहुन्छः
–रोल्पा धवाङका साउदिमा फाँसीको सजाय पाएका दिल बहादुर घर्तिको उद्धार ।
–साउदीमा अलपत्र ३८ जना नेपालीको उद्धार तथा रासनपानी ।
–साउदीमा बन्धक बनाइएकी सुनसरीकि मन्जु ऋषिदेवको उद्धार र नेपाल फिर्ती ।
–बारा पर्सा बाढी पीडिततलाई सहयोग ।
–म्याग्दीमा पहिरोले बिचल्ली बनाएकालाई सहयोग ।
–रोल्पाको भावाङ, जंकोट र गंगादेवका बाढीपीडितलाई आर्थिक सहयोग ।
–कोरोनासँग लड्न अक्सिजन सिलिन्डर, फेस मास्क, सर्जिकल पंजा इत्यादी सहयोग ।
–रोल्पा त्रिवेणीका आगलागी पीडितलाई आर्थिक सहयोग ।
–बोनम्यारो पिडित प्रेम पुनलाई आर्थिक सहयोग ।
–टीका घर्ती उद्दर र केस फिर्ती आदि

पछिल्लो समयमा समाजसेवाको नाममा ठगी धन्दा धेरै चलेको देख्न पाउँछौ, तपाइको यो संस्थालाई कसरी पारदर्शी बनाउनुभएको छ ?
↪️एकाध त्यस्तो अमुक व्यक्तिको फाइदाको लागि बनाइएका अबैधानिक संघसंस्थाहरु होलान्, त्यो फरक पाटो हो । तर, रोल्पाली सेवा समाजलाई त्यसरी नजर अन्दाज गर्न मिल्दैन। हाम्रो बैधानिक संस्था हो । आफ्नै नीति नियम र बिधान छन् । जसअनुरुप आर्थिक मात्रै नभएर हरेक कुराको समाजले पारदर्शिता कायम गर्छ र खोज्छ पनि ।

निकट भविष्यमा केन्द्रिय अधिबेशन हुँदैरहेछ, तपाइँको उम्मेदवारी रहन्छ कि रहँदैन ?
↪️तत्काललाई त्यो सम्भावना छैन । त्यसपछिका अधिबेशनमा सोचौला। मेरो कामप्रति साथीहरुले कसरी मूल्यांकन गर्नुहुन्छ, त्यसैमा निर्भर हुन्छ । सबैले रुचाउनुभयो भने त्यो पनि संभव होला तर अहिले सोचेको छैन।

अन्तमा केही भन्न चाहनुहुन्छ ?
↪️सर्वप्रथम त मेरो बिचारलाई प्रस्तुत गर्न अवसर दिनुहुने तपाईंलगायत तपाईको सिस्ने अनलाइन मिडियालाई विशेष धन्यवाद दिन चाहन्छु । साथै देश बिदेशमा छरिएर रहनु भएका आम रोल्पाली दाजुभाइ, दिदीबहिनीहरुलाइ यस अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजमा आवद्ध भएर मानव सेवामा हातेमालो गर्न हार्दिक अनुरोध गर्द्छु। अन्य देशमा स्थापन भएका शाखाहरुमा, केन्द्रमा आवद्ध सम्पूर्ण रोल्पाली दाजुभाइ दिदिबहिनीमा हार्दिक आभार प्रकट गर्न चाहन्छु।

Facebook Comments