• २८ श्रावण २०७९, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यस्तो छ रुकुमपूर्व भूमे गाउँपालिकाको बजेट (पूर्ण पाठ)




भूमे गाउँसभाका अध्यक्षज्यू,
गाउँसभा सदस्यज्यूहरु,
राष्ट्रसेवक कर्मचारी, पत्रकार तथा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरु र आम भूमेबासी आमा बुवा, दाजु-भाई तथा दिदी-बहिनीहरु

1. स्थानीय तह सदस्य निर्वाचन २०७९ पछि यस गरिमामय गाउँसभामा अघिल्लो स्थानीय सरकारको अनुभव र नवगठित स्थानीय सरकारको उत्साहका साथ यस गरिमामय सभासमक्ष भूमे गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रम प्रस्तुत गर्न उपस्थित छु ।
2. यो अवसरमा आर्थिक, सामाजिक तथा राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने सबै अग्रजहरुप्रति आदरभाव व्यक्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, १९ दिने ऐतिहासिक जनआन्दोलन २, सशस्त्र संघर्ष, जनयुद्धको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान, राष्ट्र हित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान वीर शहीदहरु प्रति उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, घाइते, अपाङ्ग, बेपत्ता योद्धाहरुको त्याग, तपस्या र बलिदान तथा अग्रजहरुको अतुलनीय योगदानको उच्च सम्मान गर्दछु।
3. भूमे गाउँपालिकाको स्थानीय सरकारको स्थापना कालमा विभिन्न संघर्ष गर्दै विभिन्न उपलब्धि हासिल र महत्वपूर्ण कार्यहरुको थालनी गर्दै स्थानीय सरकार सञ्चालनको जिम्मेवारी हस्तान्तरण गर्ने अघिल्लो कार्यकालका सबै जनप्रतिनिधिहरुलाई धन्यवाद व्यक्त गर्दछु । साथै, यो जिम्मेवारी प्रदानका लागि स्थानीय तहको निर्वाचन सफलतापूर्क सम्पन्न गराउने नेपाल सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दलहरु तथा अन्य संघसंस्था र आम भूमे गाउँपालिकाबासी नागरिकप्रति भूमे गाउँपालिकाको नवनिर्वाचित स्थानीय सरकार आभार प्रकट व्यक्त गर्दछ ।
4. कोभिड १९ महामारीले हाम्रो आर्थिक, सामाजिक, मनोवैज्ञानिक र विकास क्रियाकलापमा गम्भिर असर पार्यो । संक्रमण जोखिम न्यूनीकरण तथा रोकथामका लागि सहयोग गर्ने देश विदेशमा रहनुभएका आम गाउँपालिकाबासी तथा अन्य महानुभावहरु, सञ्चार जगत, विभिन्न संघसंस्था, संघ तथा प्रदेश सरकार र सबै निकाय तथा पदाधिकारीहरु, महामारी विरुद्धको लडाईमा अग्रपङ्तिमा खटिनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि, अगुवा, वुद्धिजिवी र आम समुदायप्रति पुनः सम्मान व्यक्त गर्दछु। कोभिड १९ का कारण ज्यान गुमाउनु हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै उहाँहरूका आफन्त तथा परिवारजनप्रति गहिरो समवेदना पनि प्रकट गर्दछु ।
5. भूमे गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा नेपालको संविधान, दीगो विकास लक्ष्य, प्रचलित कानूनी व्यवस्था, नेपाल सरकार, प्रदेश सरकार र भूमे गाउँपालिकाको आवधिक योजनाले निर्दिष्ट गरेका लक्ष्य उद्देश्य, मध्यमकालीन खर्च संरचना, विगतका जनप्रतिनिधिहरुको सुझाव तथा अनुभव, विभिन्न निकाय तथा व्यक्तिहरुबाट प्राप्त सुझावलाई आधार बनाएको छु ।
6. कोभिड-१९ का कारण सामाजिक जनजीवन, आर्थिक क्रियाकलापका साथै विकासका क्रियाकलापमा परेको असरलाई समेत मध्यनजर गर्दै राष्ट्रिय, प्रादेशिक र स्थानीय आकांक्षा र लक्ष्य हासिल हुने गरी बजेट केन्द्रित गरेको छु ।
7. भूमे गाउँपालिकालाई नेपालका सबै स्थानीय तहहरुमध्येको नमूना गाउँपालिकाको रुपमा परिचित गराउनु अहम जिम्मेवारी र चुनौति हामी बीचमा छ। राष्ट्रिय र प्रादेशिक प्राथमिकता, आवधिक योजना, अन्तर्राष्ट्रियस्तरमा गरिएका प्रतिवद्धताका आधारमा गाउँपालिकाको समृद्धि र समुन्नतिका लागि एकीकृत गुरुयोजना र पालिकाको आवधिक योजनाले निर्दिष्ट गरेको दीर्घकालीन सोँच, लक्ष्य र उद्देश्य प्राप्तिमा स्थानीय सरकार प्रतिवद्ध र केन्द्रित छ।
सभाका अध्यक्षज्यू,
अब म चालु आर्थिक वर्षसम्मको अवस्था र नीति तथा कार्यक्रम कार्यान्वयनको समीक्षा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
8. अघिल्लो कार्यकालको स्थानीय सरकारबाट स्थानीय सरकार सञ्चालनका लागि आवश्यक नीतिगत तथा कानूनी पूर्वाधार तयार गरेको छ । आवश्यकतानुसार नयाँ नीति तथा कानून र योजना तर्जुमा गर्नुपर्नेछ ।
9. जिल्लाको साझा सरोकार, अन्तरपालिका समन्वय र सहकार्य तथा आपसी एकतालाई मजबुत पार्ने खालका साझा सरोकारका आयोजनाहरु पहिचान भई जिल्लास्तरको कार्ययोजना समेत तयार भएकाले अन्तरपालिका साझेदारीमार्फत न्यून लागतमा अधिकतम् उपलब्ध हासिल हुने आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्न सकिने अवसर छ ।
10. चालु आर्थिक वर्षको जेठ मसान्तसम्म स्थानीय सञ्चित कोषमा नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान बापत रु. ११ करोड ४२ लाख, सशर्त अनुदान वापत रु. २० करोड ७० लाख ७७ हजार दुई सय पचास, समपूरक अनुदान वापत एक करोड ६६ लाख, विशेष अनुदान वापत रु. ६६ लाख प्राप्त भएको भने प्रदेश सरकारबाट समानीकरण अनुदान वापत रु. ४० लाख २७ हजार पाँच सय, सशर्त अनुदानवापत रु. ४२ लाख ७२ हजार, विशेष अनुदान वापत रु. ३० लाख र समपूरक अनुदान वापत रु. ७५ लाख प्राप्त भएको छ । नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट रु. ५ करोड ७२ लाख १३ हजार तीन सय एघार, प्रदेश सरकारबाट सवारी साधन कर राजस्व बाँडफाँडाबाट रु. ४२ लाख ४५ हजार दुई सय त्रिहत्तर र आन्तरिक आयतर्फ रु. ३४ लाख सात हजार पाँच सय जम्मा भएको छ । गत आर्थिक वर्षबाट बचत भई सञ्चित कोषमा मौज्दात रहेको रु तीन करोड ३१ लाख ७६ हजार दुई सय बयासी समेत गरी कुल ४३ करोड ९३ लाख ८० हजार तीन सय छयासी रुपैया प्राप्त भएको छ ।
11. खर्चतर्फ स्थानीय सञ्चित कोषबाट चालुतर्फ रु. १९ करोड ५७ लाख सैंतीस हजार दुई सय एकहत्तर र पूँजीगततर्फ रु. ९ करोड ७९ लाख ९६ हजार नौ सय चौरासी गरी कूल २९ करोड ३७ लाख ३४ हजार दुई सय छपन्न खर्च भई रु. १७ करोड ५६ लाख ४६ हजार एक सय मौज्दात रहेको छ।
12. चालु आर्थिक वर्षको विषयगत शाखा तथा कार्यालयहरुबाट सम्पादित कार्यको प्रगति र समीक्षा प्रतिवेदन पनि यस सम्मानित सभासमक्ष पेश गरेको छु ।

सभाध्यक्ष महोदय,
13. आगामी आर्थिक वर्षहरुमा गाउँपालिकाको समुन्नतिका लागि सामाजिक न्याय सहितको दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्न लगानी तथा त्यसको उत्पादकत्व बढाउनु पर्नेछ। सरकारी, निजी, सहकारी र सामुदायिक क्षेत्रको सहकार्यबाट यो लक्ष्य हासिल गर्नुपर्नेछ। सरकारको बजेटको खर्चलाई प्रतिफलमुखी बनाउँदै पूजीगत खर्च गर्न सक्ने क्षमता र पूँजीगत खर्चको गुणस्तर बढाउन प्रभावकारी बजेट कार्यान्वयन तथा अनुगमन मूल्याङ्कनका साथै थप मेहनत गर्नु पर्नेछ। आगामी बजेट तथा कार्यक्रम यी विषयहरुलाई सम्बोधन गर्नेतर्फ परिलक्षित भएर घाटा बजेट प्रस्तुत गरिएको छ।
14. कोभिड-१९ का कारण प्रभावित जनजीवन विस्तारै सामान्य अवस्थामा फर्किंदैछ । सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप पहुँचमा ल्याउने नेपाल सरकारको कार्यक्रमबमोजिम यस गाउँपालिकामा लक्षित जनसङ्ख्याको करिब ९८ प्रतिशत नागरिकमा पूर्ण मात्राको खोप लगाइसकिएको छ। खोपको पहुँच, स्वास्थ्यकर्मीहरुको योगदान र आम पालिकाबासीको सावधानीका कारण कोभिड १९ संक्रमण जोखिम क्रमशः सामान्य अवस्थामा फर्किरहेको छ। जस्तोसुकै परिस्थितिमा आधारभूत शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा तथा संरक्षणका अवसर उपलब्ध गराई सुरक्षित र सचेत एवं समुन्नत र सुसंस्कृत समाज निर्माण गर्न गाउँपालिका दृढ छ।
15. सीमित साधन स्रोत र जनशक्ति उपलब्धताका वाबजुद पनि सन्तोषजनक कार्यसम्पादन भइरहेको छ। गुणस्तरीय सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण, सचेत समाज निर्माण, विकासको छनौट, कार्यान्वयन र वितरण लगायत हरेक तहमा हरेकको अर्थपूर्ण सहभागिता र सुशासन प्रवर्द्धनमा यो पालिका प्रतिवद्ध छ।
16. स्थानीय तह निर्वाचन २०७९ सँगै स्थानीय सरकार सञ्चालन गर्ने जिम्मेवारी प्राप्त हुँदै गर्दा यसभन्दा अगाडिको सरकारले हासिल गरेका उपलब्धि, नीति तथा कार्यक्रम र अनुभवलाई पनि सदुपयोग गर्दै संविधान प्रदत्त अधिकार क्षेत्रको प्रयोग गर्दै नेपाल सरकारले लिएको सुखी नेपाली समृद्ध नेपाल नारा र प्रदेश सरकारले लिएको समृद्ध लुम्बिनीः आत्मनिर्भर प्रदेश नारालाई सार्थक बनाउन तथा स्थानीय सरकारकोतर्फबाट समृद्ध र समुन्नत गाउँपालिका निर्माण गर्न महत्वकाङ्क्षी र दूरगामी लक्ष्यसहितको योजनाको सुरूवात भई कार्यान्वयनको दिशातर्फ अग्रसर छ। यस सन्दर्भमा विगतको अनुभव र सिकाई, वर्तमानको आधार र उत्प्रेरणाले भविष्य सुनौलो बनाउन सहयोगी हुने विश्वास मैले लिएको छु।
17. बजेट विनियोजन कुशलता, कार्यान्वयन दक्षता र वित्तीय अनुशासनका लागि राजनीतिक संयन्त्र, व्यवसायिक कर्मचारीतन्त्र र सहयोगी समाजको सहयोगमा पालिकामा उपलब्ध प्राकृतिक तथा मानवीय लगायत सबै प्रकारका स्रोत तथा साधनको कुशलतापूर्वक परिचालन र उपयोग गर्दै सुशासन, विकास र समृद्धिमार्फत नागरिकको जीवनस्तरमा सकारात्मक एवं गुणात्मक परिवर्तन र समृद्ध पालिका निर्माण गर्ने पर्याप्त सम्भावना हामीसँग छ ।

सभाअध्यक्षज्यू महोदय,
18. यी सम्भावनाहरुलाई मूर्तरुप दिन यस गाउँपालिकाको अर्थतन्त्रमा देखिएका मूलभूत चुनौतिहरु यस प्रकार प्रस्तुत गरेको छुः
क) आन्तरिक उत्पादन र उत्पादकत्व वृद्धि
स्थानीय माटो र हावापानी सुहाउँदो उत्पादनका साधनहरुमाथि उत्पादक शक्तिको पहुँच वृद्धि गरी सार्वजनिक, निजी र सहकारी क्षेत्रको लगानी सहकार्यबाट उत्पादकत्व र उत्पादन वृद्धि गर्नुपर्ने चुनौति छ। उत्पादित वस्तुको उचित बजार व्यवस्थापनका माध्यामबाट आन्तरिक तथा बाह्य बजार सुनिश्चित गर्नु अर्को चुनौति रहेको छ।

ख) कार्यान्वयन क्षमता वृद्धिः
गाउँपालिकाभित्र सञ्चालन हुने विकास आयोजनाहरुको न्यून व्यवस्थापकीय क्षमता, निर्माण व्यवसायी र उपभोक्ता समितिको कमजोर वित्तीय र प्राविधिक क्षमता, कानूनी, नीतिगत र प्रक्रियागत जटिलताका कारण आयोजनाहरु तोकिएको समय सिमाभित्र सम्पन्न हुन नसक्ने तथा आयोजना कार्यान्वयनमा संलग्न सरोकारवालाहरुको काम गर्ने उत्साहमा कमी, नतिजा प्राप्तिप्रतिको उदासिनता र समग्र मानवीय क्षमताको कमीका कारण कार्यान्वयन क्षमता कमजोर देखिन्छ। स्थानीयस्तरमा दक्ष र सीपयुक्त जनशक्ति उत्पादन, आपसी समन्वय र प्रभावकारी अनुगमन प्रणालीको विकास गरी लक्ष्य बमोजिम कार्यसम्पादन गर्नु चुनौतिपूर्ण छ।

ग) सार्वजनिक निर्माणको गुणस्तरीयता र संरक्षणः
सार्वजनिक निर्माण कार्यको सुक्ष्म सुपरिवेक्षण, निर्माण व्यवसायीहरुको कमजोर क्षमता र सघन अनुगमनको अभावमा निर्माण भएका संरचनाहरु छोटो समयमा नै जीर्ण र लथालिङ्ग हुने गरेका छन्। सार्वजनिक निर्माणको गुणस्तर कमजोर रहेको अवस्थामा यसमा सुधार गरी सार्वजनिक निर्माणको गुणस्तर वृद्धि गर्नुपर्ने र दोहोरो खर्च रोक्नुपर्ने र निर्मित सार्वजनिक सम्पतीको उचित उपयोग र संरक्षण कार्य चुनौतिपूर्ण छ।
घ) आर्थिक तथा सामाजिक विकास गर्नु
भौतिक पूर्वाधार विकास क्रमशः भैरहे पनि आम नागरिकको जीवनस्तर माथि उकास्न शिक्षा, स्वास्थ्य, सरसफाई, रोजगारी क्षेत्रमा आमूल परिवर्नत नभएसम्म वास्तविक विकासको आभास नहुने भएकाले मानव विकास सूचकाङ्कमा पछि परेको पालिकाबासीको चिन्तन, जीवनशैली, शिक्षा स्वास्थ्यमा गुणस्तर ल्याउनु र रोजगारी सृजना गर्नु चुनौतिपूर्ण छ ।
ङ) स्थानीयस्तरमा रोजगारी सृजनामार्फत यूवाहरुलाई गाउँमै फर्काउनु,
गाउँमा रोजगारी तथा आम्दानीको सम्भावना नभएर वा नदेखेर गाउँ छोडेका यूवाहरुलाई स्थानीय स्तरमै टिकाउन सकेमा गाउँपालिका विकासमा कोषेढुङ्गा सावित हुनेछ। उनीहरुलाई गाउँमै काम दिन सक्ने वातावरण सिर्जना गर्ने कार्य निकै चुनौतिपूर्ण छ।
च) औपचारिक अर्थतन्त्रको विकासः
आर्थिक क्षेत्रको ठूलो हिस्सा औपचारिक क्षेत्रभन्दा बाहिर रहेको कारण अर्थतन्त्रको वास्तविक पहिचान गर्न गाह्रो छ। बैंक तथा वित्तीय संस्थाहरुको स्थापना हुन नसकेको अवस्थामा सबै आर्थिक कारोवारहरुलाई औपचारिक दायरामा ल्याई सबै आर्थिक कारोबारहरु बैकिङ प्रणाली मार्फत् गर्ने कार्य चुनौतिपूर्ण छ।

छ) सूचना तथा सञ्चार प्रविधिको विकासः
भौगोलिक विकटताका साथै सूचना तथा सञ्चारको पहुँच नभएकाले विकास निर्माण, कार्यान्वयन, आपसी समन्वय, सेवा प्रवाहका क्रममा असहजता पैदा हुनुका साथै लागत समय र स्रोत महँगो पर्न जान्छ। गाउँपालिकाभित्रका सबै जनताले सूचना तथा सञ्चारमा सहज रुपमा पहुँच स्थापित गर्नका लागि आवश्यक सूचना तथा सञ्चार प्रविधिहरुको पूर्वाधारहरुको निर्माण र निजी क्षेत्रलाई आकर्षण गर्ने कार्य पनि चुनौतिपूर्ण छ।
ज) सुशासन अभिवृद्धिः
सबै वर्ग क्षेत्रको अर्थपूर्ण सहभागिता, कानूनको परिपालना, सेवा प्रवाहमा प्रभावकारिता, सुदृढ र सक्षम संस्थागत सुशासन कायम गरी सेवा प्रवाहमा प्रभावकारीता ल्याउने तथा व्यवसायिक कर्मचारीतन्त्र र सहयोगी समाजको निर्माण गर्ने कार्य चुनौतिपूर्ण छ।
सभाअध्यक्षज्यू महोदय,
19. हाम्रा थुप्रै चुनौतिहरु रहेता पनि समृद्ध नेपालको बलियो जगको रुपमा रहेको स्थानीय तहलाई मजबुट बनाउन आम जनताको उल्लेख्य तत्परता र सहभागिता लगायतका स्वयंसेवा प्रणाली तथा मुद्रा परिचालन लगायतका प्रचुर सम्भावनाहरुको परिचालन मार्फत सफा र हरियालीः समृद्ध भूमे निर्माण गरी नागरिकको जीवनस्तरमा गुणस्तरीयता ल्याउने अवसर प्राप्त भएको छ। विद्यमान अवसरहरुको सदुपयोग र चुनौतिहरुको सामना गर्ने गरी आर्थिक वर्ष २०७९।०८० को वार्षिक बजेट तथा कार्यक्रम तयार गरिएको छ। यो बजेटका उद्देश्यहरु यसप्रकार प्रस्तुत गरेको छुः
क) उत्पादन र उत्पादकत्वमा वृद्धि गरी आर्थिक स्थायित्व कायम गर्ने,
ख) शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै आम नागरिकहरुलाई गुणस्तरीय सेवा उपलब्ध गराउने,
ग) सबै वर्ग, लिङ्ग, समूहको अपनत्वकरण मार्फत समतामूलक सभ्य समाजको निर्माण र सरकारको प्रभावकारिता अभिवृद्धि गरी सुशासन प्रवर्द्धन गर्ने,
घ) कृषि, उद्योग, पर्यटन र सेवा क्षेत्रहरुमा उत्पादन तथा रोजगारी वृद्धि गरी गरिबी न्यूनीकरण गर्ने,
ङ) उपलब्ध साधन स्रोतको अधिकतम उपयोग र प्रभावकारी परिचालनमार्फत् आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने,
च) दिगो, अन्तरसम्बन्धित भौतिक पूर्वाधारहरुको विकास तथा विस्तारमार्फत सुरक्षित संरचनामा जोड दिने ।
27. यी उद्देश्यहरु हासिल गर्नको लागि आर्थिक वर्ष २०७९।०८० को बजेटका प्राथमिकताहरु देहाय बमोजिम निर्धारण गरिएको छः
क) कृषि, पर्यटन, उद्योग तथा मानव संशाधनको क्षेत्रमा जोड,
ख) घरेलु तथा साना उद्योग प्रवर्द्धनबाट उत्पादन र उत्पादकत्व वृद्धि र बजारीकरणमा जोड,
ग) गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाई लगायतका क्षेत्रमा जोड
घ) पर्यटन पूर्वाधारको विकास तथा प्रवर्द्धन, जलविद्युत उत्पादन, उद्योग स्थापना लगायतका क्षेत्रमा सरकारी, निजी र सहकारी क्षेत्रको लगानी आकर्षण तथा रोजगारी प्रवर्द्धन
ङ) स्थानीय उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारण
च) अन्तरसम्बन्धित पूर्वाधार विकास र पूँजी निर्माण
छ) विपद् व्यवस्थापन, वन तथा भू–संरक्षण, जलवायु परिवर्तन अनुकूलन
ज) संस्थागत विकास तथा शासकीय सुधारमार्फत विधिको शासन, सार्वजनिक सेवाको प्रभावकारिता, जवाफदेहिता र विकासमा नागरिकको जनसहभागिता सहितको सुशासनमा जोड,
झ) नवप्रवर्तन, वैज्ञानिक अनुसन्धान र विकास ।
सभाध्यक्ष महोदय,
अब म यिनै चुनौति, उद्देश्य र प्राथमिकताको सेरोफेरोमा रहेर तयार गरिएको आगामी आर्थिक वर्ष २०७९/०८० को व्ययको अनुमान यस सम्मानित सभासमक्ष प्रस्तुत गर्दछु।
20. नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान, राजस्व बाँडफाँड वापत प्राप्त हुने रकम, आन्तरिक आय तथा ऋणबाट प्राप्त हुने रकमलाई अनिवार्य दायित्व, क्रमागत आयोजना, पालिकास्तरीय आयोजना र वस्तीस्तरबाट माग भएका वडास्तरीय आयोजनाहरुमा आवश्यक बजेट विनियोजन गरेको छु ।
21. सशर्त अनुदानका रुपमा नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त आयोजना तथा कार्यक्रमहरु पालिकाको प्राथमिकताको आधारमा छनौट गरी प्राप्त मार्गदर्शन बमोजिम समयमै कार्यान्वयन गर्ने व्यवस्था मिलाएको छु।
22. यस गाउँपालिकाबाट सिफारिश भई माग गरिए बमोजिम नेपाल सरकार र प्रदेश सरकारबाट स्वीकृत भई आएका समपूरक अनुदानतर्फको आयोजना कार्यान्वयन गर्न तथा स्थानीय तहको लागत सहभागिता सुनिश्चित गर्न रु. दुई करोड विनियोजन गरेको छु।
23. पालिकाको सिफारिश बमोजिम नेपाल सरकारबाट प्राप्त विशेष अनुदानतर्फ पोषणमैत्री नमूना टोल र स्वास्थ्य प्रवर्द्धन कार्यक्रमका लागि रु. ५० लाख र शैक्षिक गुणस्तर वृद्धि तथा STEM शिक्षा कार्यक्रमका लागि रु. ५० लाख विनियोजन गरिएको छ। त्यसैगरी लुम्बिनी प्रदेश सरकारबाट प्राप्त विशेष अनुदानतर्फ मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका लागि रु. ६० लाख विनियोजन भएको छ ।
सभाध्यक्ष महोदय,
अब म मुख्य मुख्य क्षेत्रगत कार्यक्रम तथा विनियोजन प्रस्ताव पेश गर्ने अनुमति चाहन्छु।
पालिकास्तरीय गौरवका आयोजना
24. गाउँपालिकाका सबै वडा तथा वस्तीहरुलाई सडक सञ्जालमा जोड्ने गरी सडक पूर्वाधार विकासतर्फ मुख्य सडक, चक्र सडक र सहायक सडकमा विभाजन गरी बजेट व्यवस्था गरेको छु । कुचिबाङ सिमखोला लाबाङ सडक, सिमा झुम्लाबाङ क्याङ्सी गाबाङ काँक्री सडक, धर्मशाला लाबाङ चुनबाङ सडक लगायतका चक्र सडकहरुमा आवश्यक क्रमागत बजेटको व्यवस्था मिलाएको छु ।
25. गाउँपालिकाको मापदण्ड बमोजिमको प्रशासनिक भवन निर्माणका लागि क्रमागत रु. ७० लाख, वडा कार्यालयहरुको भवन निर्माणतर्फ १ नं वडा कार्यालयको भवन निर्माणका लागि रु. एक करोड बजेट विनियोजन गरी यसै आर्थिक वर्षदेखि सञ्चालन गर्ने व्यवस्था मिलाएको छु ।
26. मारिङ कृषि अनुसन्धान केन्द्रलाई कृषि उद्योग र कृषि पर्यटनको नमूनाको रुपमा विकास गर्न पूर्वाधार विकासतर्फ जोड दिएको छु । मारिङमा नयाँ प्रजातिको विरुवा परीक्षण स्थल तथा कृषि अनुसन्धानका लागि प्रयोगशाला स्थापना र सामूहिक खेती प्रणालीको नमूनाको रुपमा विकास गर्न अनुसन्धान केन्द्रका लागि कूल रु. ५९ लाख ८० हजार रुपैया विनियोजन गरेको छु।
27. थबाङखोला जलविद्युत आयोजनालाई सार्वजनिक निजी साझेदारी अवधारणामार्फत कार्यान्वयन गर्न आवश्यक नीतिगत व्यवस्था गरी आम नागरिकको समेत लगानी र प्रतिफलमाथि अधिकार हुने गरी निर्माण कार्य अगाडि बढाउन आन्तरिक ऋणबाट बेहोर्ने गरी सुरुवातमा रु. एक करोड विनियोजन गरेको छु ।
28. स्थानीय कृषि उपज तथा उत्पादनको संकलन, तथा बजारीकरणका लागि स्थापित सहकारी बजार सञ्चालन तथा व्यवस्थापनमा जोड दिनुका साथै पालिकामा एक चिस्यान केन्द्र निर्माणका लागि प्रदेश सरकारसँगको साझेदारीमा रु. असी लाख र कृषि उपज संकलन केन्द्र तथा हाट बजार निर्माणका लागि रु. २५ लाख बजेट विनियोजन गरेको छु ।
मर्यादित जीवनः स्वास्थ्यमा ध्यान
29. गाउँपालिकाद्वारा सञ्चालित अस्थायी अस्पतालको सुदृढीकरण, निर्माणाधीन ५ शैय्या अस्पतालको कार्यसम्पन्न तथा व्यवस्थापन, सडक दूर्घटनालाई मध्यनजर गरी मध्यपहाडी लोकमार्ग आसपासमा ट्रमा अस्पताल तथा टेलिमेडिसिन सेवा सञ्चालन गर्न आवश्यक समन्वय र पहल गरिनेछ ।
30. स्वास्थ्य सम्बन्धी पूर्वाधार निर्माण तथा संस्थागत प्रणालीमा थप सुदृढिकरण गर्दै स्वास्थ्य संस्थाहरुमा औषधी, उपकरण, द्रुत टिम, स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था तथा परिचालन र आवश्यकतानुसार सेवा इकाई विस्तार गरी आम गाउँपालिकाबासीको स्वास्थ्य सुविधा पहुँच वृद्धि गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
31. स्वास्थ्य संस्थाहरुलाई न्यूनतम सेवा मापदण्डको प्रगतिको आधारमा दण्ड, पुरस्कार र सुदृढीकरणमा जोड दिने व्यवस्था मिलाएको छु । स्वास्थ्य जोखिम हस्तान्तरणका लागि सङ्घीय सरकार तथा प्रदेश सरकारसँगको समन्वयमा स्वास्थ्य बीमा कार्यक्रमलाई सहज, सरल र थप प्रभावकारी बनाउन सबैभन्दा बढी बीमा बनाउने दर्ता सहायकलाई पुरस्कार, बीमा गराए वापत थप ५ प्रतिशत प्रोत्साहनका लागि बजेट विनियोजन गरेको छु । द्वन्द्व पीडित, अति विपन्न परिवार, घाइते तथा अपाङ्गता भएका व्यक्ति र दीर्घ रोगीहरुको निःशुल्क स्वास्थ्य बीमा गर्न शुल्क वापतको रकम रु ६ लाख विनियोजन गरेको छु ।
32. प्राकृतिक प्रकोपका कारण राहत, उद्दार तथा जोखिम न्यूनीकरण सम्बन्धी कार्यक्रम सञ्चालन गर्न प्रकोप व्यवस्थापन कोषलाई वृद्धि गर्न रु १० लाख बजेट विनियोजनको व्यवस्था गरेको छु । खोज, उद्धार, राहत, पुनर्स्थापना कार्यलाई योजनावद्ध व्यवस्थित गर्न पालिका तथा समुदायस्तरसम्म द्रुत प्रतिकार्य टोलीलाई आवश्यक सामग्री सहित तयारी अवस्थामा राखिनुका साथै विपद् व्यवस्थापन सूचना केन्द्रको रुपमा स्थानीय आपतकालीन केन्द्रलाई सुदृढिकरणका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
33. संघ तथा प्रदेश सरकारले लिएको स्वास्थ्य सम्बन्धी नीतिलाई स्थानीयकरण गर्दै परिवार कल्याण कार्यक्रम, क्षयरोग नियन्त्रण कार्यक्रम, महमारी रोग नियन्त्रण कार्यक्रम, एकीकृत बाल स्वास्थ्य तथा पोषण कार्यक्रम, राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना, उपचारात्मक सेवा, नर्सिङ तथा सामाजिक सुरक्षा कार्यक्रम जस्ता कार्यक्रमहरुलाई प्रभावकारी कार्यान्वयन गर्न नेपाल सरकारबाट सशर्त अनुदान वापत प्राप्त रकम रु तीन करोड विनियोजन गरेको छु ।
34. आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचको सुनिश्चितताका लागि गुणस्तरीय स्वास्थ्य सम्बन्धी उपचारात्मक, निरोधात्मक र प्रवर्द्धनात्मक कार्यक्रमलाई कार्यान्वयन गर्न नेपाल सरकार, प्रदेश सरकार र अन्य सरकारी तथा गैरसरकारी संघसंस्थाहरुसँग समन्वय, सहकार्य र साझेदारी गरिनेछ।
35. नसर्ने तथा दीर्घ रोगहरुको पहिचान र निदानका लागि सबै वडामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्न रु १३ लाख ५० हजार, स्वास्थ्य सेवाको पहुँच कम भएका टोलहरुमा एकीकृत घुम्ती स्वास्थ्य सेवा सञ्चालन र स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्न रु ५ लाख ४० हजार रकम विनियोजन गरेको छु ।
36. संस्थागत सुत्केरी सेवालाई थप प्रभावकारी बनाउन सुत्केरी भान्छा घर निर्माण तथा सुदृढीकरणमा जोड दिइनेछ । स्थानीय परम्परागत उपचार पद्धतिका ज्ञाता, धामी, झाँक्रीहरुको परम्परागत ज्ञान र विधिको सदुपयोग गर्न स्वास्थ्य तथा पोषण सम्बन्धी जानकारी दिन अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ ।
37. संस्थागत प्रसूति दर वृद्धि गरी गर्भवती र सुत्केरी आमाको मृत्युदरलाई शून्य पार्न विगतमा अपनाइएको नीति तथा कार्यक्रमलाई निरन्तरता दिँदै प्रसूति चेकजाँच र रेफरका लागि निःशुल्क एम्बुलेन्स सेवा र पोषण झोला कार्यक्रमका लागि बजेट विनियोजन गरेको छु ।
38. अति विपन्न तथा घाइते व्यक्तिको उपचार सहायताका लागि नेपाल सरकार तथा प्रदेश सरकारसँग समन्वय सिफारिसका साथै निःशुल्क एम्बुलेन्स सेवा तथा उपचार सहायताका लागि कोषका लागि आवश्यक बजेट विनियोजन भएको छ।
39. सबै वडामा स्थापना भएका स्वास्थ्य संस्थाहरुको प्रभावकारी व्यवस्थापन र सेवा सञ्चालनका लागि जनशक्ति व्यवस्था गर्न बजेट विनियोजनलाई प्राथमिकतामा राखेको छु । नागरिकहरुलाई नजिकबाट स्वास्थ्य सेवा पहुँच अभिवृद्धि गर्न दुई स्थानमा थप सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न व्यवस्थापनका लागि रु १० लाख रकम विनियोजन गरेको छु।
40. स्वास्थ्य संस्थाहरुको सुदृढीकरणका लागि सर्जिकल सामग्री, औषधी तथा पूर्वाधारको आवश्यक व्यवस्थाका साथै स्वास्थ्यकर्मीहरुको दक्षताका लागि आवश्यक तालिमको व्यवस्था, स्वास्थ्यकर्मीहरुको प्रोत्साहन सम्मान तथा संस्थागत सुविधामा विस्तार, स्वास्थ्य संस्थाहरुको सुदृढीकरण, पहुँच मार्ग निर्माण लगायत समग्र स्वास्थ्य क्षेत्रमा रु. तीन करोड रकम विनियोजन गरेको छु ।
41. बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत पोषण संवेदनशील, पोषण विशेष र पोषण सुधारका लागि विपन्न समुदायका महिला समूह तथा सहकारीहरुलाई विपन्न सदस्यहरुको आयआर्जन सुधार गर्न अनुदान जस्ता कार्यक्रमहरु सञ्चालन गरिनेछ । नेपाल सरकारको विशेष अनुदानमा नमूना पोषण टोलका लागि सघन पोषण कार्यक्रम, नमूना पोषण टोल समिति गठन, उत्पादन प्रवर्द्धन, पोषण आत्मनिर्भरताका लागि घरघरमा करेसाबारी निर्माण अनुदान, हरेक घर दश फलफूल विरुवा रोपन कार्यक्रम सञ्चालनका लागि रु ५० लाख रकम विनियोजनको व्यवस्था मिलाएको छु।
42. स्थानीय पाठ्यक्रममा वृहत्तर यौनिकता तथा प्रजनन स्वास्थ्य शिक्षा समेत समावेश गरेर विद्यालयस्तरमा अध्ययन अध्यापनको व्यवस्था मिलाइनेछ। किशोर किशोरीहरुको जीवनउपयोगी सीप विकासका लागि विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालनमा जोड दिएको छु ।
43. किशोर किशोरीहरुको प्रजनन स्वास्थ्य सेवा, सूचनामा पहुँच अभिवृद्धि गर्न सबै स्वास्थ्य संस्थाहरुमा किशोर किशोरीमैत्री स्वास्थ्य सेवा तथा विद्यालयहरुमा सूचना केन्द्र स्थापनालाई निरन्तरता र प्राथमिकता दिँदै विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा निःशुल्क स्यानिटरी प्याडको उपलब्धता र फोहर व्यवस्थापन सुनिश्चितता गरिनेछ ।
44. कोभिड १९ विरुद्धको खोप र नियमित खोपमा उल्लेख्य उपलब्धि हासिल भएकोले गाउँपालिकालाई पूर्ण खोपयुक्त दिगोपना कायम गर्न र मातृ तथा शिशु मृत्युदरलाई शून्यमा झार्न विभिन्न निकायहरुसँगको सहकार्यमा कार्यक्रमहरु सञ्चालन गर्न अनुगमन मूल्याङ्कनका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
45. किशोर किशोरीहरुको प्रजनन स्वास्थ्य सेवा विस्तार र किशोरकिशोरीमैत्री सूचनामा पहुँच अभिवृद्धि गर्न पालिकामा रहेका सबै माद्यामिक विद्यालयस्तरमा बृहत्तर यौनिकता तथा प्रजजन स्वास्थ्य किशोरकिशोरीमैत्री सूचना केन्द्र स्थापनाका लागि बजेट विनियोजन गरेको छु।
सभाध्यक्ष महोदय,
दक्ष समर्पित उत्पादनको आधारः शैक्षिक पूर्वाधार
46. शैक्षिक रुपान्तरणका लागि गाउँपालिकाको शिक्षा नीति तथा क्षेत्रगत आवधिक योजना तर्जुमाका लागि बजेट विनियोजन गरेको छु । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न विद्यालय तथा शिक्षक लक्षित दण्ड र पुरस्कारको नीति अवलम्बन गरिनेछ।
47. आधारभूत तह र माद्यामिक तहमा णित विज्ञान अङ्ग्रेजी विषयको नतिजा सुधारका लागि थप कार्यक्रम कार्यान्वयन गर्न तथा उत्कृष्ट शिक्षक, विद्यालय पुरस्कारका लागि बजेट विनियोजन गरेको छु ।
48. प्रधानाध्यापकलाई प्रोत्साहन तथा थप जिम्मेवारी प्रदान गरी विद्यालयको प्रशासकीय र व्यवस्थापकीय सुधारका लागि सूचकका आधारमा नियमित अनुगमन तथा मूल्याङ्कन पद्धतिको विकास गरी विद्यालय शिक्षा सुधार परियोजनालाई व्यवस्थित गर्ने उद्देश्यले सामुदायिक विद्यालयका प्रधानाध्यापक हाल पाइरहेको सुविधामा शतप्रतिशत वृद्धि गरेको छु ।
49. आवश्यकता र अनुकूलतामा आधारित स्थानीय पाठ्यक्रम निर्माण गरी क्रमशः कार्यान्वयन गर्न आवश्यक बजेट विनियोजनको व्यवस्था मिलाउनुका साथै बहुभाषा शिक्षा लागू भएका विद्यालयमा कार्यक्रम निरन्तरता दिन पाठ्यपुस्तक छपाईका लागि रु. १० लाख बजेट विनियोजन गरेको छ ।
50. स्थानीय तथ्याङ्क संकलनमा विद्यार्थी परिचालन गरी व्यवहारिक ज्ञान आर्जन र ज्ञान निर्माणमा जोड दिइनेछ। विद्यार्थीहरुलाई बाल्यकालदेखि नै व्यवसायिक सीप विकासका लागि नवप्रवर्तन र अनुसन्धानमा आधारित शिक्षा, STEM शिक्षा कार्यक्रम, विद्यालय उपस्थिति प्रोत्साहन पुरस्कार, उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यालय पुरस्कार कार्यक्रमहरु विशेष अनुदानबाट कार्यान्वयनको व्यवस्था मिलाएको छु ।
51. माध्यामिक विद्यालयहरुमा गुणस्तर कायम गरी प्राविधिक कक्षाहरु सञ्चालनका लागि आवश्यक पहल र व्यवस्था गरिनेछ। दक्ष समर्पित जनशक्ति विकासका लागि शिक्षामा बालमैत्री र प्रविधिमैत्री शिक्षाका लागि नमूना विद्यालय निर्माण कार्यक्रमलाई जोड दिएको छु ।
52. केन्द्रबाट नमूना विद्यालय छनौट भएको नेपाल राष्ट्रिय माद्यामिक विद्यालय चुनबाङको क्रमागत पूर्वाधार निर्माण तथा व्यवस्थापनका लागि रु एक करोड एक लाख रकम विनियोजन भएको छ ।
53. सुरक्षित विद्यालयको अवधारणामा गुणस्तरीय शैक्षिक, भौतिक पूर्वाधार निर्माण तथा मर्मतका लागि आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।शिक्षक दरबन्दी मिलान गरी सामुदायिक विद्यालयहरुमा आवश्यक दरबन्दी नभई आम जनतामा पर्न गएको भार, शिक्षक अपुग भएर आवश्यक न्यूनतम् पाठ्यघण्टा समेत नपुग्ने अवस्थालाई मध्यनजर गर्दै आवश्यकता र औचित्यताका आधारमा स्वयंसेवक शिक्षक निरन्तता हुने गरी शिक्षण सिकाई अनुदान वापत रु ७५ लाख रकम विनियोजन गरेको छु ।
54. शैक्षिक तालिम केन्द्रलाई थप व्यवस्थित गर्दै अन्तर सरकार समन्वय र साझेदार निकायसँगको समन्वय र सहकार्यमा सूचना प्रविधि, नविनतम प्रविधि तथा शिक्षण सिकाई सीप सम्बन्धी तालिम सञ्चालनका लागि बजेटको व्यवस्था मिलाएको छु। स्थानीयस्तरमा उपलब्ध सामग्रीहरुको अधिकतम उपयोग गरी शिक्षण सिकाई सामग्री निर्माण तथा क्षमता विकास सम्बन्धी कार्यशाला सञ्चालन गर्न बजेट विनियोजन गरेको छु ।
55. युद्धकालमा स्थापित शहिद वासु स्मृति नमूना जनवादी विद्यालयलाई जीवन्त संग्रहालयको रुपमा विकास गर्दै शहिद परिवार, अनाथ, अभिभावकविहिन बालबालिकाहरुलाई आवासीय पठनपाठन र आधारभूत विद्यालयमा दिवा कक्षा अध्ययनका लागि व्यवस्थापन गर्नका लागि रु ५ लाख रकम विनियोजन गरेको छु ।
56. आर्थिक अभावका कारण पनि व्यवसायिक उच्च शिक्षा हासिल गर्ने अवसरबाट बञ्चिति व्यहोर्नुपरेका मेधावी विद्यार्थीहरुलाई उच्च प्राविधिक र व्यवसायिक शिक्षा हासिल गर्नका लागि शैक्षिक ऋणलाई निरन्तरता दिँदै आधारभूत तहदेखि माध्यामिक तहसम्म गाउँपालिकाभित्रकै सामुदायिक विद्यालयमा अध्ययन गरेका मेधावी विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्तिको व्यवस्थाका लागि रु २० लाख रकम विनियोजन गरेको छु ।
57. विकास र नवप्रवर्तनमा हरेक व्यक्तिमा नवीनतम र रचनात्मक धारणा हुने यथार्थलाई मध्यनजर गर्दै गाउँपालिकाको सर्वाङ्गिण विकासमा जुनसुकै व्यक्ति वा निकायको रचनात्मक सुझाव, उपाय र तरिकालाई ग्रहण तथा संकलन गर्ने उद्देश्यले खुला आइडिया प्रतिस्पर्धा कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको छु ।
58. गणित तथा विज्ञान विषयको गुणस्तर र नतिजा सुधारका लागि अतिरिक्त कक्षा सञ्चालन कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु। प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय सहयोगी तथा कर्मचारीहरुको मासिक तलबभत्तामा स्थानीय सरकारकोतर्फबाट थप गरी नेपाल सरकारले निर्धारण गरे बमोजिम मासिक रु १५ हजार उपलब्ध गराउन आवश्यक बजेट विनियोजन गरेको छु ।
59. यूवा विकास केन्द्रलाई थप सुदृढ तथा प्रभावकारी बनाई जुनसुकै क्षेत्रले यूवा तथा खेलकूद लक्षित कार्यक्रमहरु यूवा विकास केन्द्रसँगको सहकार्यमा मात्र सञ्चालन गर्ने नीति लिइनेछ । यूवा विकास केन्द्र मार्फत खेलकूद, सीप विकास, प्रतियोगितात्मक कार्यक्रम, संस्कृति संरक्षण जस्ता कार्यक्रम कार्यान्वयन गर्न रु. ३६ लाख रकम विनियोजन गरेको छु ।
60. यूवा तथा खेलकूद विकासका लागि पालिकास्तरीय खेलकूद व्यवस्थापन समितिको गठन तथा कोष स्थापना स्थापनाका लागि रु एक लाख पचास हजार रकम विनियोजन गरेको छु ।
61. खेलकूद पूर्वाधार निर्माण, व्यवसायिक खेलकूद तालिम, खेल तथा खेलाडी आदानप्रदान कार्यक्रम खेलकूद प्रतियोगितातर्फ यूवा तथा खेलकूदका लागि रु. ३७ लाख ५० हजार रकम विनियोजन गरेको छु ।
62. प्रधानमन्त्री रोजगार कार्यक्रमले निर्दिष्ट गरे बमोजिम एक आर्थिक वर्षमा न्यूनतम् १०० दिन बराबरको रोजगारीमा सहभागी गराउँदा दिगो आयोजनाहरु सञ्चालन गर्नका लागि ज्याला बाहेकको आवश्यक निर्माण सामग्री खरिद गर्न साझेदारी वापतको रकम रु २५ लाख विनियोजन गरेको छु।

सभाध्यक्षज्यू,
कृषि उत्पादकत्वमा वृद्धिः भूमेको समृद्धि
63. कृषिमा विविधीकरण, व्यवसायीकरण, आधुनिकीकरण र बजारीकरणमार्फत उत्पादन र उत्पादकत्वमा वृद्धि गरी खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्न कृषि नीति र क्षेत्रगत योजना तर्जुमा गर्न आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।
64. खाद्य सुरक्षा र खाद्य संप्रभूताको मान्यता अनुरुप उत्पादक र उपभोक्ताको अधिकार सुनिश्चित गर्न आवश्यक नीतिगत व्यवस्था गरी दिगो उत्पादन, उत्पादन प्रोत्साहन, भण्डार तथा प्रभावकारी वितरणको व्यवस्था मिलाइनेछ। पालिकाको कृषि तथा पशुपंक्षी नीति तर्जुमामा जोड दिइनेछ ।
65. कृषक पहिचान, सूचीकरण तथा वर्गीकरण गर्न रु. ४ लाख र कृषि तथ्याङ्क संकलन, बाली कटानी, अद्यावधी तथा विश्लेषणका लागि रु. ५ लाख रकम बजेट विनियोजन गरेको छु।
66. एक घर एक करेसाबारी कार्यक्रममार्फत कृषि र पोषणलाई सँगसँगै जोड दिनुका साथै हरेक वडामा सामूहिक तरकारी खेती, फलफूल खेती, विद्यालय नर्सरी तथा करेसाबारी निर्माण जस्ता कार्यक्रमहरु सञ्चालन गर्न रु. ५ लाख रकम विनियोजन गरेको छु ।
67. सघन कृषि कार्यक्रम मार्फत कुनै एक गाउँलाई नमूना कृषि गाउँको रुपमा विकास गर्न रु. ५ लाख रकम विनियोजन गरेको छु ।
68. आर्थिक तथा सामाजिक रुपले पछि परेका वर्ग केन्द्रित कृषक कार्यक्रम अन्तर्गत शत् प्रतिशत अनुदानको व्यवस्था गरिनुका साथै आफूले खाई बिक्री गर्ने अवस्थामा त्यस्ता कृषकहरुको कृषि उपज सम्बन्धित वडा वा सहकारी संस्थामार्फत खरिद गर्न बजेट विनियोजन गरेको छु। पशु तथा बाली बीमा कार्यक्रममा कृषकको पहुँच सुनिश्चितका लागि आवश्यक पहलकदमी बढाउनुका साथै बजेट समेत विनियोजन गरेको छु।
69. प्लाष्टिकजन्य तथा रासायनिक पदार्थ आयात तथा प्रयोगमा रोक लगाई अर्ग्यानिक उत्पादनः भूमेको पहिचान भन्ने मूल नारालाई सार्थकता दिन प्राङ्गारिक मल निर्माणलाई व्यवस्थित र व्यवसायिकता विकास गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छु ।
70. उत्पादनका आधारमा प्रोत्साहन नीतिलाई जोड दिँदै स्थानीय उत्पादनलाई प्रवर्द्धन तथा संरक्षण गर्न कोदो, फापर, कागुनो, चिनो, कालो धान जस्ता स्थानीय महत्वका लोपोन्मुख बालीहरु उत्पादन गरी आफूले उपभोगपछि बिक्री गरेमा कृषि उपज संकलन केन्द्रमार्फत खरिद गरी बजार मूल्यको ५०% थप प्रोत्साहन अनुदान दिने व्यवस्थालाई निरन्तरता दिन रकम विनियोजन गरेको छु ।
71. स्थानीय उत्पादनको बजारीकरण तथा स्थानीय उत्पादन उपभोगको संस्कृति विकास गर्न कृषि उपज संकलन केन्द्र निर्माण तथा हाट बजार सञ्चालनका लागि रु २५ लाख रकम विनियोजन गरेको छु ।
72. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत तरकारी पकेट विकास कार्यक्रमको निरन्तरता र स्याउ/ओखर पकेट विकास कार्यक्रम सञ्चालन गर्न रु २४ लाख रकम विनियोजन गरेको छु ।
73. कृषि पेसालाई सम्मानजनक पेसाका रुपमा विकास गर्न तथा व्यवसायिक कृषि पेसामा आकर्षण गर्न उकृष्ट कृषक छनौट गरी वार्षिक रुपमा वडास्तर तथा पालिकास्तरमा पुरस्कृत गर्न रु ९० हजार रकम विनियोजन गरेको छु।
74. गाउँपालिकास्तरीय अगुवा कृषक सञ्जाल गठन गरी गाउँपालिकामा कृषकका अनुभव आदान प्रदान र छलफल चौतारीको रुपमा विकास गरिनेछ। इच्छुक अनुभवी कृषकहरुलाई आवश्यकतानुसार हरित स्वयंसेवकको रुपमा परिचालन गर्न रकम विनियोजन गरेको छु ।
75. प्रमुख तुलनात्मक लाभका बाली र अनिवार्य बालीको पहिचान र प्राथमिकीकरण गरी हरेक वडा, टोलमा पृथक कृषि पहिचान कार्यक्रम सञ्चालनमा ल्याउन बजेटको व्यवस्था गरेको छु।
76. परिवार खेतीलाई समेत प्रवर्द्धन गर्दै सबै वडाहरुमा नगदे बालीमा आधारित आलु, सिमी, भटमास, लसुन लगायत तरकारी खेती तथा कागती, केरा, ओखर, नास्पति लगायत अन्य फलफूल तथा जडिबुटी खेतीको प्रवर्द्धनका लागि उपयुक्त स्थानमा कृषि उपकेन्द्र तथा बागवानी केन्द्रको स्थापना गरी कृषि पर्यटनमा जोड दिइनेछ।
77. वृक्षारोपण रोजगार प्रवर्द्धन, मध्यम प्रविधियुक्त बहुउद्देश्यीय फलफूल नर्सरी स्थापना, विरुवा सुरक्षा तथा संरक्षण कार्यक्रम, टिम्मुरको हरित बार जस्ता कार्यक्रममार्फत हरेक वडाका टोल टोलमा स्थानीय हावापानी अनुकूलका जडिबुटी तथा फलफूलका बोट विरुवा रोपन कार्यक्रम अभियानको रुपमा सञ्चालन बजेट विनियोजन गरेको छु।
78. नेपाल सरकार तथा प्रदेश सरकारसँगको समन्वयमा औद्योगिक ग्राम स्थापनालाई थप जोड दिन गाउँपालिका क्षेत्रभित्रका जडिबुटीहरुको पहिचान गरी जडीबुटीमा आधारित उद्योग स्थापनाको लागि पहलकदमी अगाडि बढाइनेछ।
79. नेपाल सरकार तथा प्रदेश सरकार तथा सम्बन्धित निकायसँगको समन्वय र सहकार्यमा निजी वन व्यवस्थापन, कबुलियती वन प्रवर्द्धन, वनजङ्गल संरक्षण, बाँझो जग्गामा वृक्षारोपण जस्ता कार्यक्रममा बजेट विनियोजन गरेको छु । वातावरण दिवसको अवसरमा सबैभन्दा बढी वृक्षारोपण गर्ने र सबैभन्दा बढी विरुवा संरक्षण गर्ने व्यक्तिलाई हरियाली दूतको रुपमा पुरस्कृत गर्न बजेटको व्यवस्था गरेको छु।
80. अन्तरनिकाय समन्वयमा पुष्पलाल मध्यपहाडी लोकमार्ग लगायत राष्ट्रिय राजमार्ग र स्थानीय सडकहरुमा हरित करिडोर तथा फ्रुट करिडोरको रुपमा विकास गर्न वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिन रु ३ लाख रकम विनियोजन गरेको छु।
81. सहकारी र पर्यटन, सहकारी र व्यवसायसँग अन्तरसम्बन्धित हुने कार्यक्रम, सहकारीमार्फत होमस्टे सञ्चालन तथा व्यवस्थापन गर्न ३ लाख रकम विनियोजन गरेको छु ।
82. जिल्ला सहकारी संघ तथा अन्य निकायसँगको समन्वयमा सहकारीको नियमन तथा व्यवस्थापन गर्न तथा सहकारी क्षेत्रको क्षमता विकासका लागि रु. सात लाख रकम विनियोजन गरेको छु ।
83. कृषितर्फको जनशक्ति अभाव पूर्ति गर्न “एक गाउँ एक प्राविधिक” कार्यक्रमलाई निरन्तरता दिएको छु। कृषि प्राविधिकको प्रभावकारी ढङ्गले परिचालन गर्न स्वयंसेवक कृषि प्राविधिक परिचालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
84. पुराना कृषकका अनुभव आदान प्रदान र छलफल छलफलका लागि कृषक चौतारी स्थापना मार्फत कृषि सामाग्री र सूचनामूलक सामाग्रीहरुको व्यवस्था गरी कृषक अनुभव आदानप्रदान कार्यक्रमका लागि रु. दुई लाख रकम छुट्याएको छु।
85. भूमे गाउँपालिकाको प्रमुख आधारको रुपमा रहेको कृषि क्षेत्रको सुधारका लागि कृषिमा विविधिकरण, व्यवसायीकरण, आधुनिकीकरण जोड कार्यक्रमलाई निरन्तरता दिइएको छ।
86. अनुदानमा उन्नत बीउ, रैथाने बीउ, तरकारी किट बीऊ, कृषि औजार, यन्त्र तथा प्रविधिहरु उपलब्ध गराइनेछ। वास्तविक कृषक पहिचान र अनुदानका लागि कृषक दर्ता गरी कृषक परिचयपत्र उपलब्ध गराई सोही आधारमा मात्र अनुदान दिने व्यवस्था मिलाएको छु।
87. अर्ग्यानिक उत्पादनः भूमेको पहिचान भन्ने नारालाई सार्थकता दिन प्राङ्गारिक मल निर्माणमा सचेतनात्मक र प्रवर्द्धनात्मक कार्यक्रमका लागि बजेट सुनिश्चित गरेको छु। आइ.पि.एम. कृषक पाठशाला सञ्चालनका लागि रु. १६ लाख २० हजार रकम विनियोजन गरेको छु ।
88. फलफूल विकास तथा उत्पादन प्रवर्द्धनका लागि मध्यम प्रविधियुक्त बहुउद्देश्यीय फलफूल नर्सरी स्थापना गर्न रु. छ लाख पचास हजार रकम विनियोजन गरेको छु। हिउँदे वर्षे फलफूल विरुवामा अनुदानको लागि बजेट विनियोजन गरेको छु ।
89. पशु नश्ल सुधार, उन्नत पशु व्यवसाय प्रवर्द्धन गर्नुका साथै नश्ल सुधारका लागि कृत्रिम प्रजनन केन्द्र व्यवस्थापनका लागि बजेट विनियोजन गरेको छु। बङ्गुरको खोर सुधारका लागि रु. ५ लाख रकम विनियोजन गरेको छु।
90. ब्यवसायिक बाख्रा पालन फर्म सुदृढीकरण अनुदान, स्थलगत पशुपालन तालिम, उन्नत जातको भेडाको प्रजनन् थुमा खरिद ढुवानी र वितरण कार्यक्रम, पशुपंक्षीका लागि औषधी खरिदका लागि आवश्यक बजेट व्यवस्था गरेको छु।
91. पशुको भकारो सुधार कार्यक्रम, हिँउदे, बर्षे र डाले घाँसको वीउ तथा खरिद, ढुवानी र वितरण, परजीवी नियन्त्रण तथा पोषण सुधार शिविर, ग्रामीण कुखुरा प्रवर्द्धन कार्यक्रम, जस्ता पशु सेवा कार्यक्रमतर्फ रु. ३८ लाख रकम विनियोजन गरेको छु।
गाउँसभाका अध्यक्षज्यू,
92. व्यवसायिक सीप विकासमार्फत् पालिकामा पहिचान भएका उद्यमीहरुलाई प्राविधिक सहयोग तथा उद्यम विकास मोडेलमा नयाँ लघु उद्यमी सिर्जना गर्न, नयाँ लघु उद्यमीहरुको आवश्यकता र पहिचानका आधारमा सीप विकास तालिम प्रदान गरी सम्भाव्य उत्पादनका लागि प्रविधि हस्तान्तरण गर्न र अति गरिब परिवारका लागि साझा सुविधा केन्द्र सञ्चालन लघुउद्यम विकास कार्यक्रमतर्फ २९ लाख रकम विनियोजन गरेको छु।
पर्यटन क्षेत्रको पहिचानः संस्कृति संरक्षणमा हाम्रो अभियान
93. पर्यटन क्षेत्रलाई तुलनात्मक लाभका क्षेत्र अन्तर्गत अर्थतन्त्रको प्रमुख आधारको रुपमा विकास गर्न पर्यटन क्षेत्रको क्षेत्रगत योजना समेटिएको गुरुयोजना निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको छु।
94. स्थानीय भाषा तथा कला संस्कृति, मौलिकताको जगेर्ना गर्दै ग्रामीण पर्यटनलाई प्रवर्द्धन गर्न बजेटमा प्राथमिकता दिएको छु। प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक तथा युद्ध पर्यटन प्रवर्द्धनको लागि भाषा, कला, संस्कृतिको पहिचान, अध्ययन, संवर्द्धन, संरक्षण, विकास र प्रचारप्रसारका साथै आवश्यक पूर्वाधार विकासमा जोड दिएको छु ।
हाम्रो सहकारीः हाम्रै हितकारी
95. सहकारीको प्राचीन रुप अर्मपर्म तथा झारा, सामूहिक विकासमा स्वतःस्फूर्त सहभागी भई गैरमौद्रिक रुपमै दिगो विकासमा टेवा पुर्याउने किसिमले उदाहरणीय काम गरेका गाउँ/टोलहरुलाई सम्मान तथा पुरस्कृत गर्ने व्यवस्था मिलाएको छु।
96. सबै सहकारी संस्थाहरुले स्थानीय सम्भावना र क्षमता अनुसार उत्पादन तथा उद्योगहरुमा एक सहकारी मुख्य चिनारीको अवधारणा अनुसार काम गर्नुपर्ने व्यवस्थाको निरन्तरता दिने व्यवस्था मिलाएको छु। सहकारी क्षेत्रको क्षमता विकास र प्रवर्द्धन र सहकारीमा आधारित उत्पादन प्रवर्द्धनका लागि बजेट विनियोजन गरेको छु।
97. गाउँपालिकाको आत्मनिर्भरता उन्मुख विकासका लागि साझेदारी लगानी र राजश्व तथा कर प्रशासनलाई समेत प्रमुख आधारको रुपमा लिइनेछ। गाउँपालिकामा महत्वपूर्ण पूर्वाधार निर्माण तथा सामाजिक विकासका लागि स्रोत जुटाउन र प्रभावकारी कार्यान्वयन गर्नका लागि छुट्टै संरचना स्थापनाका लागि बजेट व्यवस्था मिलाएको छु।
98. सबै पेसा व्यवसायलाई करको दायरामा समेटिनेछ। पहिचान भएका राजश्वका श्रोत, दायरा र दर अनुसार राजश्व प्राप्त गर्न प्रभावकारी व्यवस्था गरिनेछ। राजश्व र कर प्रशासन सम्बन्धी नीतिलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गरी लक्ष्य अनुसार वा सोभन्दा बढी राजश्व संकलन गर्ने वडा तथा कार्यालयलाई प्रोत्साहन स्वरुप बजेट विनियोजनमा सूचकको रुपमा निरन्तरता दिइएको छ ।
सफा घर, सुन्दर गाउँ: सुरक्षित पालिका
99. नमूना सरसफाइयुक्त गाउँपालिका निर्माण गर्ने प्रतिवद्धता अनुरुप भूमे गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्ययोजना सघन कार्यक्रम निरन्तरताका लागि रु. १५ लाख बजेट विनियोजन गरेको छु।
सफा र हरियालीः समृद्ध भूमे
100. नारालाई सार्थक तुल्याउन प्लाष्टिकमुक्त टोल, भकारो सुधार, सुधारिएको चुल्हो, एक घर एक धारा, एक घर दश फलफूल विरुवा, एक घर एक शौचालय, भान्छा सरसफाई कार्यक्रमको व्यवस्था गरेको छु।
101. पूर्ण सरसफाईयुक्त वडा घोषणा भएका वडाहरुको दिगोपना कायम गर्दै थप वडालाई पूर्ण सरसफाईयुक्त वडा घोषणा गर्नका लागि सरसफाई कार्ययोजना कार्यान्वयनमा दण्ड र पुरस्कारको नीति अवलम्बन गर्दै सरसफाई सम्बन्धी योजना तथा बजेट विनियोजनमा जोड दिएको छु।
102. ब्रिटिश गोर्खा वेलफेर ट्रष्टमार्फत वडा नं. २ को खाबाङ, वडा नं. ३ को झुम्लाबाङ ठूलो गाउँ, गोठबाङ र सिमा, वडा नं. ७ को लाबाङ र धर्मशाला खानेपानी आयोजना निर्माणका लागि आवश्यक बजेट व्यवस्थाको प्रतिवद्धता प्राप्त भएको छ ।
हाम्रो भाषा संस्कृतिः हाम्रो सम्पत्ति
103. ऐतिहासिक तथा परम्परागत स्थानीय भाषा, कला, संस्कृतिको पहिचान, अध्ययन, संवर्द्धन, संरक्षण, विकास र प्रचार प्रसारका लागि अभिलेखीकरण, पुस्तान्तरण र हस्तान्तरणमा जोड दिएको छु। परम्परागत भाषा, कला संस्कृति संरक्षण तथा संवर्द्धनका लागि साँस्कृतिक प्रतियोगिता, सामाग्री खरिद तथा संरक्षण कार्य अगाडि बढाउन भाषा तथा संस्कृतितर्फ रु. ४२ लाख ९० हजार रकम विनियोजन गरेको छु।
यूवा र विकासः अबको खास निकास
104. रोजगार सेवा केन्द्रमार्फत वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुलाई स्थानीयस्तरमै उनीहरुको सीप र क्षमता अनुसारको रोजगारीको अवसर सृजना गर्न र वैदेशिक रोजगारमा जान चाहने व्यक्तिले आवश्यक सूचना तथा जानकारी लिन वैदेशिक रोजगार सञ्जाल गठन गरी रोजगार सूचना केन्द्रको रुपमा विकास तथा सञ्चालन गर्न बजेट विनियोजन गरेको छु।
लैंगिक समानता र सामाजिक समावेशीकरण
105. लैंगिक समानता तथा सामाजिक समावेशीकरण सुनिश्चितताका लागि बजेट तथा योजना तर्जुमामा प्रतिशत निर्धारण गरेर अनिवार्य लक्षित वर्ग योजना तथा कार्यक्रमको सुनिश्चितता गरिएको छ। त्यस्ता कार्यक्रम कार्यान्वयन गर्दा लक्षित वर्ग अधिकतम र प्रत्यक्ष लाभान्वित हुने गरी कार्यान्वयन गर्न कूल रु. दुई करोड ९४ लाख ३० हजार बजेट व्यवस्था गरेको छु।
106. लैङ्गिक हिंसा प्रभावित महिलाको अल्पकालीन संरक्षणका लागि जिल्लाका अन्य स्थानीय तहसँगको साझेदारीमा सञ्चालन र व्यवस्थापनको बन्दोबस्त, हिंसा न्यूनीकरण तथा रोकथामका लागि सेवा प्रदायक तथा समुदायस्तरमा नागरिकहरुको साथै लैङ्गिक हिंसा प्रभावितहरुका लागि तालिमको व्यवस्था गरी सुरक्षित र आत्मनिर्भर गराइनेछ । लैङ्गिक हिंसा पीडित तथा अन्य मनोसामाजिक परामर्शका लागि एक वडा एक मनोसामाजिक परामर्शकर्ता सेवा अन्य निकायसँगको साझेदारीमा उपलब्ध गराउन आवश्यक बजेट व्यवस्था विनियोजन गरेको छु ।
107. लैंगिक हिंसा तथा लिङ्गको आधारमा गरिने भेदभावलाई शून्यमा झार्न, विभिन्न सञ्जाल गठन गर्न तथा लैंगिक हिंसामा परेका व्यक्तिहरुको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि लैंगिक हिंसा निवारणको निम्ति आवश्यक बजेट व्यवस्था गरिएको छ।
108. महिला, अपाङ्गता भएका व्यक्ति, दलित लक्षित बजेटलाई वितरणमुखीभन्दा जीवन निर्वाहमुखी बनाउने गरी बजेट विनियोजन गरेको छु। सरकारी सेवामा लक्षित वर्गको सहभागिता बढाउन गाउँपालिकाभित्रका निश्चित योग्यता पुगेका महिला, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, दलित, विपन्न तथा जेहेन्दारहरुलाई प्रतिस्पर्धाबाट छनौट गरी लोक सेवा तथा शिक्षक सेवाको तयारी कक्षा सञ्चालनमा सहभागी गराउन पाँच लाख रुपैयाँ बजेट व्यवस्था गरेको छु ।
109. बालबालिकाको हकहित संरक्षणका साथै शारीरिक, मानसिक तथा संवेगात्मक लगायत हरेक क्षेत्रमा क्षमता विकासका लागि हरेक चरणमा अर्थपूर्ण सहभागिताको सुनिश्चित गर्न बालबालिका लक्षित बजेटको व्यवस्था गरेको छु ।
110. समाजमा रहेका बालश्रम, बहुविवाह, दाइजो, बोक्सी, छाउपडीजस्ता कुरीति, कुप्रथा, लैंगिक हिंसा, मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सचेतनामूलक कार्यक्रम तथा अभियान सञ्चालन गरिनेछ। महिला विकास कार्यक्रमद्वारा प्रवर्द्धित महिला सहकारी संस्थाहरुको सुदृढीकरण एवं पालिकास्तरीय महिला सञ्जाल सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
111. पालिकास्तरमा ज्येष्ठ नागरिक मञ्च, अपाङ्ग संरक्षण समिति, बाल सञ्जाल, महिला सञ्जाल, उपेक्षित उत्पीडित वर्ग उत्थान सञ्जाल गठन गरी उनीहरुको व्यक्तित्व विकास, नेतृत्व विकास र क्षमता विकास जस्ता सामुहिक कार्यक्रमहरुका लागि बजेट तथा कार्यक्रमको व्यवस्था गरेको छु।
112. कमजोर आर्थिक अवस्था भएका व्यक्ति, जनयुद्धका घाइते, अपाङ्ग र शहिद परिवारहरुलाई आवश्यक सहायताका लागि कोष खडा गर्न बजेट व्यवस्था गरेको छु। सेवा प्रवाहका क्रममा अतिविपन्न, अशक्त, ज्येष्ठ नागरिकहरुलाई प्रमाणपत्रका आधारमा सेवा शुल्क वापतको कुनै पनि रकम नलिने विगतको नीतिलाई निरन्तरता दिने व्यवस्था मिलाएको छु।
113. उत्पीडित, उपेक्षित दलित समुदायको सशक्तिकरण र क्षमता विकासको लागि विशेष कार्यक्रम बनाई सरकारी तथा गैरसरकारी कार्यालयहरुसँगको साझेदारीमा दलित समुदायले परम्परादेखि अवलम्बन गर्दै आएका पेसाहरुलाई व्यवसायीकरण गर्न आवश्यक व्यवस्था मिलाइनेछ।आदिवासी जनजाति सम्बन्धी डकुमेन्ट्री निर्माण, आदिवासी जनजाति र दलित समुदायको उत्थान तथा विकास सम्बन्धी रेडियो लगायत विशेष कार्यक्रमहरुको लागि बजेट विनियोजन गरेको छु ।
114. घर विहिन नागरिकका लागि घरको छानामूनि ल्याउन र सुरक्षित छाना नभएका नागरिकलाई सुरक्षित नागरिक आवासको प्रत्याभूति गर्न सामाजिक सुरक्षण तथा संरक्षण सम्बन्धी कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ । संघ तथा प्रदेश सरकार र अन्य निकायसँगको समन्वय र साझेदारीमा सबै नागरिकलाई सुरक्षित आवासभित्र ल्याइनेछ ।
बलियो पूर्वाधारः गुणस्तरीय जीवनको आधार
115. अन्तर जिल्ला, अन्तर गाउँपालिका, अन्तर वडा र अन्तर गाउँटोलसम्म सडक सञ्जालको सुनिश्चत गरी आगामी आर्थिक वर्षमा सबै गाउँहरु सडक सञ्जालले जोडिने गरी आवश्यक बजेट विनियोजन बजेट विनियोजन गरिएको छ।
116. सडक पूर्वाधारतर्फ कुचिबाङ सिमखोला लाबाङ सडक, झुम्लाबाङ-क्याङ्सी-गाबाङ-काँक्री सडक, धर्मशाला-खुङ-मालुवा- खाल सडक, कुचिबाङ सिमखोला लाबाङ सडक, खाबाङबगर खाबाङगाउँ खालपाते सडक, रानीबासा–कुइपा सडक, दोमही कुचिबाङ सडकलाई प्राथमिकताका साथ सडक तथा पुल पूर्वाधारतर्फ ५ करोड १० लाख बजेट विनियोजन गरिएको छ। सडक यातायातलाई बाह्रै महिना निरन्तर सञ्चालनको सुनिश्चितता गर्न आवश्यक व्यवस्था र पहलका लागि मर्मत सम्भार कोषमा रकम छुट्याइएको छ।
117. भौतिक पूर्वाधार निर्माणका लागि अनुमानयोग्य र प्रभावकारी योजनाका लागि पूर्वाधार विकास गुरुयोजना, विस्तृत अध्ययन प्रतिवेदन, वातावरणीय अध्ययन प्रतिवेदनलगायतका कार्य गर्न बजेट व्यवस्था गरेको छु।
118. झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमतर्फ सम्पन्न हुन बाँकी झोलुङ्गे तथा ट्रस पुलहरु सम्पन्न गर्ने र नयाँ स्थानहरुमा झोलुङ्गे पुल निर्माण कार्य अगाडि बढाई खोलानालाको कारण जनधनको क्षति न्यूनीकरण र आवतवाजत सहजीकरण गर्न रु. ८० लाख रकम विनियोजन गरेको छु।
119. सामाजिक, साँस्कृतिक तथा ऐतिहासिक पहिचान नमेटिने गरी ग्रामीण वस्तिलाई व्यवस्थित बसोबासयुक्त गतिशील शहरमा रुपान्तरण गर्न शहरी विकास तथा भवन निर्माण सम्बन्धी मापदण्ड स्थानीय परिवेशका आधारमा निर्माण गरी भवन निर्माण नक्सा पूर्वस्वीकृति कडाइका साथ कार्यान्वयन गरिनेछ। भवन आवास तथा सहरी विकासतर्फ बजेट व्यवस्था गरेको छु।
120. एकीकृत, व्यवस्थित, वैज्ञानिक, सुरक्षित र हरित गाउँ शहर निर्माणको लागि कार्ययोजना बमोजिम हरित गाउँ निर्माण कार्यलाई निरन्तरता र विस्तार कार्यक्रमलाई जोड दिएको छु।

सबै घरमा उज्यालोः समृद्धिको दियालो
121. राष्ट्रिय ग्रामीण तथा नवीकरणीय उर्जा कार्यक्रममार्फत निर्मित तथा निर्माणाधीन लघु तथा साना जलविद्युत आयोजनाहरुलाई मर्मत सम्भार तथा सुदृढीकरणका लागि बजेट विनियोजन गरेको छु। विद्युतको पहुँच नपुगेका घरपरिवारलाई वैकल्पिक उर्जामार्फत सुविधा पुर्याउन बजेटको व्यवस्था गरेको छु।
122. गाउँपालिका क्षेत्रभित्र सबैले सूचना तथा संचारको सहज पहुँच स्थापना गर्न सार्वजनिक संस्थान तथा निजी क्षेत्रको आगमनलाई प्रवर्द्धन, आपसी समन्वय र साझेदारी गरिनेछ। सञ्चारको साधन एफ एम रेडियोलाई सबैले सुन्ने अवस्थामा पुर्याउन रेडियो पूर्वाधार विकासतर्फ साझेदारीमा भवन निर्माण तथा संरचना सुधारका लागि रु. १० लाख बजेट व्यवस्था गरेको छु।
123. गाउँपालिकाभित्र सिंचाईको सम्भावना पहिचान गरी पोखरी सिंचाई, स्प्रिङ्कल सिंचाई, सिंचाई आयोजना मार्फत सिंचाई सुविधा बढाई उत्पादन वृद्धिमा जोड दिने प्रबन्ध गरेको छु।
हामीले वनलाई जोगाऔं : वनले हामीलाई जोगाउँछ
124. वन र आयआर्जनलाई अन्तर आवद्ध गर्न हरियो बार, वनस्पति बार, कृषि वन, निजी वन जस्ता कार्यक्रम ल्याइनेछ। नर्सरी निर्माण, डाले घाँस विस्तार, एक घर दश फलफूल विस्तार जस्ता कार्यक्रमबाट वन तथा वुट्यान क्षेत्रको वृद्धिमा टेवा पुर्याउने कार्यक्रमका लागि क्षेत्रगत बजेट विनियोजन गरेको छु।
125. भौतिक पूर्वाधार निर्माणका कारण क्षतिपूर्ति स्वरुप ग्रीन करिडोर, फ्रुट करिडोर, फ्लावर करिडोर प्रवर्द्धनका साथै सार्वजनिक पर्ती जग्गा, झाडी बुट्यान र वन नभएका क्षेत्रमा उपयोगी वृक्ष रोप्ने नीति ल्याइनेछ। जीवनका महत्वपूर्ण क्षणका अवसरमा बहुउपयोगी वृक्षारोपन गर्ने व्यवस्था मिलाएको छु।
126. जलवायुमैत्री तथा वातावरणमैत्री पूर्वाधारमा जोड दिएर जैविक विविधताको संरक्षण, संवर्द्धन तथा जलवायु अनुकूलन मार्फत पर्यापर्यटनको प्रवर्द्धनका लागि कार्ययोजना तर्जुमा तथा कार्यान्वयनका लागि बजेट विनियोजन गरेको छु। सामुदायिक वन विकास कार्यक्रम, निजी वन विकास कार्यक्रमलाई प्रभावकारी ढङ्गले संचालन गर्न सम्बन्धित सरकारी तथा गैरसरकारी कार्यालयहरुसँग समन्वय गर्नुका साथै सामुदायिक वन उपभोक्ता समितिको क्षमता विकास तालिमका लागि बजेट व्यवस्था गरेको छु ।
127. जल तथा भूमिको संरक्षण, पानीको मुहानहरुको संरक्षण, मुहान सफा राख्ने, वृक्षारोपन कार्यलाई जोड दिँदै बाँध तथा तटबन्ध निर्माण, सिमसार तथा दह संरक्षण, वातावरण तथा जलवायु, वृक्षारोपन जस्ता कार्यक्रमका रकम विनियोजन गरेको छु।
विपद् व्यवस्थापन तथा स्थानीय जलवायु अनुकूलन
128. स्थानीय विपद तथा जलवायु अनुकूलन योजनाका आधारमा प्राकृतिक तथा मानवीय कारणबाट हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न, विपद् व्यवस्थापन क्षमतालाई अभिवृद्धि गर्नुका साथै पूर्व र शीघ्र सूचना प्रणाली विकास तथा स्थापनामा जोड दिइनेछ। विपद् व्यवस्थापनका लागि चाहिने सामाग्री खरिद तथा वडास्तर र पालिकास्तरमा सञ्चालन हुने कार्यक्रमहरु सञ्चालनकाे सुनिश्चितता गरेको छु।
129. हरेक निर्माण तथा पूर्वाधार विकासमा विपद् जोखिम आँकलन गरेर प्रकोप न्यूनीकरणका माध्यमबाट कार्यान्वयन गर्नुपर्ने नीतिगत व्यवस्था मिलाउन तथा विपद् सम्बन्धी आवश्यक व्यवस्थापन र सहजीकरणका लागि स्थानीय आपतकालीन केन्द्र सञ्चालन तथा व्यवस्थापनको लागि बजेट विनियोजन गरेको छु।
130. शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिहरु लगायत गाउँपालिकाबाट सेवा सुविधा लिने सबै व्यक्तिको वर्षमा दुई दिन बराबरको पारिश्रमिक वा सुविधा वापतको रकम कट्टा गरी प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने व्यवस्थालाई निरन्तरता दिएको छु। प्रकोप व्यवस्थापन कोषका लागि थप रकम व्यवस्था गरेको छु।

संस्थागत विकास, सुशासन तथा सेवा प्रवाह
सुशासनमा टेवा : सहज र चुस्त सेवा
131. जनशक्तिको रिक्तता पूर्ति गर्न लोकसेवा आयोगबाट केही पद पूर्ति भएकोमा अन्य स्थानीय तहबाट केही कर्मचारी खटिई आएको भएपनि गाउँपालिकामा कार्यरत कर्मचारी त्यो भन्दा बढि संख्यामा अन्यत्र काज खटिई गएको हुँदा जनशक्ति न्यून हुन गएको छ। उपलब्ध जनशक्तिलाई उच्च मनोबलका साथ आफ्नो योग्यता र क्षमता भरपूर सदुपयोग गर्न क्षमता विकासका लागि बजेट विनियोजन गरेको छु। कार्यालय र जनशक्तिका लागि चाहिने साधन र स्रोत अभाव हुन नदिने व्यवस्था मिलाएको छु।
132. राष्ट्रसेवक कर्मचारीहरुको मनोबल वृद्धि गर्न नेपाल सरकारले थप गरे बमोजिम सबै तहका कर्मचारीहरुलाई हालको तलब स्केलमा १५ प्रतिशत तलब वृद्धिका लागि आवश्यक बजेट व्यवस्था गरेको छु । साथै प्राविधिक तथा अन्य कर्मचारीहरुलाई कार्यसम्पादन आधारित प्रोत्साहन, कामसँग सम्बन्धित विषयमा अभिमुखीकरण, तालिम लगायत कर्मचारीहरुको क्षमता विकास, अध्ययन भ्रमण, सीप विकास जस्ता क्षेत्रमा बजेट व्यवस्था गरेको छु । जनप्रतिनिधि तथा कर्मचारीहरुको सामूहिक दूर्घटना बिमाका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
133. जनप्रतिनिधिहरु र कर्मचारीको क्षमता अभिवृद्धि गरी सार्वजनिक सेवा प्रवाहलाई सहज र चुस्त सेवाको अनुभूति गराउनुका साथै संगठन, जनप्रतिनिधि र कर्मचारीको व्यवसायिकताका लागि प्रोत्साहन, प्रवर्द्धन र पुरस्कारका साथै तालिमको पनि व्यवस्था गरेको छु।
134. अन्य स्थानीय तह तथा संघसंस्थाहरुले गरेका असल अभ्यास तथा उपलब्धिबाट सिकाइका लागि अध्ययन, भ्रमण कार्यक्रमहरु मार्फत अनुभव आदान प्रदान सम्बन्धी कार्यक्रमलाई जोड दिएको छु।
135. संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि दिगो आर्थिक वृद्धि हासिल गरी आर्थिक विकास र समृद्धिको चाहनालाई सार्थक तुल्याउन वडा, टोल र बस्तीस्तरबाट प्राथमिकताका साथ छनौट भएका तथा गाउँपालिकाले समेत उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न खोजेका कृषि, शिक्षा, स्वास्थ्य, ग्रामीण सडक, ऊर्जा, लघु तथा साना जलविद्युत, सूचना तथा संचार प्रविधिसँग सम्बन्धित आयोजनाहरुको कार्यान्वयन क्षमता बढाउन उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखीकरणसाथै प्रभावकारी र जवाफदेही अनुगमनको व्यवस्थाका लागि बजेट विनियोजन गरेको छु।
136. स्थानीय तहको न्यायिक निरुपण र मेलमिलाप प्रवर्द्धन गर्न, पिडितलाई न्यायको अनुभूति गराउन समुदायमा न्यायिक समिति, मेलमिलाप केन्द्र गठन, परिचालन र न्यायिक समितिका पदाधिकारीहरु र मेलमिलापकर्तालाई तालिमको माध्यमबाट न्यायिक समिति तथा मेलमिलाप केन्द्रहरुको क्षमता विकास र सबलीकरणका लागि बजेट विनियोजन गरेको छु।
सभाध्यक्ष महोदय,
137. सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पेसागत अनुशासनप्रति प्रतिवद्ध, पारदर्शी, भ्रष्टाचारमुक्त, प्रविधियुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै लगिनेछ। जनताको नजिकमा सरकारको अनुभूति दिलाउन वडा कार्यालयबाट प्रवाह हुने सेवा सुविधालाई छिटो छरितो र व्यवस्थित बनाई सरल र सुशासनयुक्त बनाउन आवश्यक व्यवस्था मिलाएको छु।
138. स्वीकृत नीति तथा कार्यक्रम र बजेट तथा आयोजनाको अधीनमा रही वार्षिक खरिद योजना तथा खरिद गुरुयोजना तयार गरी सोहि बमोजिम सार्वजनिक खरिद प्रणालीलाई चुस्त दुरुस्त र सुशासनयुक्त बनाउन तथा वित्तीय सुशासन कायम गर्न आन्तरिक नियन्त्रण प्रणालीलाई थप सुदृढ र व्यवस्थित बनाइनेछ। आन्तरिक लेखापरीक्षणलाई नियमित रुपमा गरी थप प्रभावकारी बनाइनेछ।
139. वडा कार्यालय, स्वास्थ्य संस्थाबाट सम्पादन भएका सार्वजनिक सेवा प्रवाह तथा विकास निर्माण सम्बन्धी कार्यको नियमित रुपमा मासिक प्रगति प्रतिवेदन पेश गर्ने व्यवस्थालाई व्यवस्थित र प्रोत्साहित गरी कार्यान्वयनमा ल्याउन र मासिक प्रगति समीक्षाका लागि आवश्यक यातायात खर्चको समेत व्यवस्था गरेको छु ।
140. कार्यालयलाई आवश्यक पर्ने महत्वपूर्ण तथ्याङ्कको भण्डारणका लागि गाउँपालिकाको आफ्नै सर्भर स्थापना गरी डिजिटल कन्टेन्ट चाहिएको बेला पाइने तथा सरोकारवालाहरुको पहुँच पुर्याउन सकिने गरी भण्डारण, सञ्चालन र सुरक्षणका लागि बजेट व्यवस्था गरेको छु। गाउँपालिकाका सबै प्रकारका आधारभूत सूचनाहरु सूचना तथा अभिलेख केन्द्रमा उपलब्ध हुने र सामाग्रीहरु सूचना केन्द्रमा अध्ययन गर्न सकिने व्यवस्था थप सुदृढ गरिनेछ।
141. गाउँपालिका र अन्तर्गतका कार्यालयहरुमा सूचना तथा सञ्चार प्रविधिमा आधारित सेवा प्रवाहको पूर्वाधार तय गरी डिजिटल गाउँपालिकामा रुपान्तरण योजना अगाडि बढाइनेछ। सूचना तथा अभिलेख केन्द्रलाई सुदृढीकरण गरी विज्ञान-प्रविधि, अध्ययन-अनुसन्धान तथा विकास, सीप तथा सीपमूलक तालिमको नियमन, डिजिटल साक्षरताका साथै मिडिया साक्षरता कार्यक्रम तथा डिजिटल अभिलेखीकरण कार्यक्रममार्फत विद्युतीय सरकारको अवधारणामा टेवा पुर्याइनेछ।
142. विद्यालय शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउन विद्यालयहरुमा अडियो भिडियो, सूचना तथा सञ्चार प्रविधिमा आधारित पस्तकालय तथा कक्षा निर्माणमा जोड दिइनेछ। एजुकेशन पोर्टल निर्माण गरी आफ्नै डिजिटल कन्टेन्ट निर्माण तथा प्रकाशन गर्न बजेट विनियोजन गरेको छु।
143. सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत वडा कार्यालयहरुमा आवश्यक प्रविधि र जनशक्तिसहितका पूर्वाधारको परिचालन र उपयोग गरी व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापनलाई सूचना प्रणालीमा आवद्ध गरी अनलाईन प्रणालीमा जान आवश्यक बजेट व्यवस्था गरेको छु।
144. मासिक तथा साप्ताहिक बुलेटिन प्रकाशन, रेडियो कार्यक्रममार्फत आम नागरिकको सूचनाको हकलाई प्रवर्द्धन गर्ने कार्यलाई निरन्तरता दिइनेछ। स्वतः प्रकाशन, मासिक, चौमासिक तथा वार्षिक खर्च तथा प्रगतिको सार्वजनिकीकरण, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण, सार्वजनिक परिक्षण, व्यवस्थापन परिक्षण, गुनासो व्यवस्थापनमा उपयुक्त विधि र पद्धति बमोजिम कार्यान्वयन गर्न बजेट विनियोजन गरेको छु।
145. गाउँपालिकाभित्र आयोजना, कार्यक्रम संचालन गर्नुपूर्व हरेक गैरसरकारी संघसंस्था, निकाय, क्षेत्र, विषयगत कार्यालयले गाउँपालिकाको स्वीकृति लिने, गाउँपालिकाको नीति तथा कार्यक्रम अनुरुप आयोजना वा कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्थालाई कडाईका साथ लागू गरिनेछ। ती निकायका बजेट तथा कार्यक्रम गाउँपालिकाको बजेट तथा कार्यक्रमसँग दोहोरिन नदिन वार्षिक विकास कार्यक्रममा आवद्ध गरी सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ।

सभाध्यक्ष महोदय,
146. आर्थिक वर्ष २०७९।०८० को बजेटको विनियोजन र स्रोतको व्यवस्था सम्बन्धी योजना देहाय बमोजिम रहेको छ। आर्थिक वर्ष २०७९।०८० का लागि रू. ५३ करोड ४२ लाख १२ हजार चार सय बाउन्न रुपैयाँ विनियोजन गरिएको छ। कुल विनियोजनमध्ये चालुतर्फ रु. ३३ करोड ६ लाख ४० हजार चार सय तीस रुपैयाँ मात्र अर्थात ६१ दशमलब ८९ प्रतिशत, पूँजीगततर्फ रु. १९ करोड ३५ लाख ७२ हजार बाईस मात्र अर्थात ३६ दशमलब २४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ एक करोड अर्थात १ दशमलब ८७ प्रतिशत रहेको छ।
147. आगामी आर्थिक वर्ष २०७९/०८० का लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतहरुमध्ये आन्तरिक राजश्वबाट रू. ७५ लाख ५० हजार दुई सय बयासी रुपैयाँ, राजस्व बाँडफाँड बाट रु. १० करोड १५ लाख एक हजार सत्तरी रुपैयाँ तथा गत वर्षको अनुमानित मौज्दात रु. तीन करोड बाईस लाख ६७ हजार रुपैयाँ गरी आन्तरिक आयबाट जम्मा रु. १४ करोड १३ लाख १८ हजार तीन सय बाउन्न रुपैयाँ अर्थात २६ दशमलव ४६ प्रतिशत, वित्तीय समानीकरण अनुदानबाट रू. १२ करोड ९४ लाख ७४ हजार अर्थात् २४ दशमलव २४ प्रतिशत, सःशर्त अनुदानबाट रू. २१ करोड ४९ लाख अर्थात् ४० दशमलव २३ प्रतिशत, समपुरक अनुदानबाट रु २ करोड अर्थात ३ दशमलव ७५ प्रतिशत, विशेष अनुदानबाट रु १ करोड ६० लाख अर्थात ३ प्रतिशत र स्थानीय जनसहभागिताबाट रू. ४० लाख अर्थात् शून्य दशमलब ७५ प्रतिशत स्रोत व्यहोरिनेछ। अन्तरसरकारी वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँड तथा आन्तरिक आय परिचालन गर्दा पनि नपुग हुने रकम रु. एक करोड आन्तरिक ऋणबाट व्यहोरिनेछ।
148. आर्थिक वर्ष २०७९/०८० का लागि गैरसरकारी संस्थाहरुको कार्यक्रम समेत रु. तीन करोड ७१ लाख १५ हजार बराबरको वार्षिक कार्यक्रम सहित बजेट प्रस्ताव प्राप्त भएको छ। उक्त बजेट रकम गाउँपालिकाको वार्षिक विकास कार्यक्रममा समावेश गरी प्रकाशन गर्ने व्यवस्था मिलाएको छु ।
अध्यक्ष महोदय तथा गाउँसभा सदस्यज्यूहरु,
करको दायरामा समावेश भई आफ्नो गाउँपालिका आफै बनाऔं
149. आर्थिक वर्ष २०७९/०८० का लागि आन्तरिक राजश्व परिचालन नीतिका उद्देश्य निम्नानुसार रहेका छन् :
(क) सचेतना कार्यक्रमको माध्यमबाट आम करदातामा करप्रति सकारात्मक सोँच र व्यवहारको विकास गराई करको दायरामा स्वत: सहभागी हुने अवस्थाको सृजना गर्ने ।
(ख) गाउँ कार्यपालिका र मातहतका वडा कार्यालय लगायतका निकायबीच परस्पर सहयोग, सहकार्य र समन्वय कायम गर्दै सबै प्रकारका आर्थिक क्रियाकलापहरुलाई करको दायरामा समेटी राजश्व चुहावट नियन्त्रण एवम अधिकतम राजश्व परिचालनमा जोड दिने ।
(ग) सहज, निकट र पारदर्शी कर प्रणाली अवलम्बन गर्दै राजश्व प्रणालीलाई समन्यायिक एवं सुशासनयुक्त बनाउने।
(घ) करका दायरा पहिचान गरी विद्यमान करका दरहरुलाई लागत प्रभावी बनाउने।
(ङ) कृषि, स्थानीय कच्चा पदार्थमा आधारित साना तथा घरेलु उद्योग जस्ता क्षेत्रको उत्पादन र उत्पादकत्व बढाई आयात व्यवस्थापन तथा निर्यात प्रवर्द्धन गर्ने।
150. उल्लेखित उद्देश्य हासिल गर्नका लागि देहाय बमोजिमका नीति तथा कार्यक्रमहरु अवलम्बन गरिनेछन्:
क) राजश्व र पालिकाबाट प्रवाह हुने सेवा सुविधा बीचमा तादाम्यता कायम गर्दै करको दायित्व पूरा नगर्ने करदातालाई कर नतिरेसम्म सेवा सुविधाको अधिकार उपयोगको सिमिततामा राख्ने नीतिको अवलम्बन गरिनेछ।
ख) करका दरलाई स्थिर राखी दायरा विस्तारमा जोड दिदै कराधारलाई थप फराकिलो बनाउँदै लगिनेछ।
ग) राजश्व संकलन तथा अभिलेख व्यवस्थापन प्रक्रियामा सहजीकरण र सरलीकरणका लागि उपलब्ध जनशक्ति र प्रविधिको परिचालन गरी करदातासम्म गाउँपालिका पुगेको महशुस गराई सहज रुपमा कर तिर्ने वातावरण बनाइनेछ ।
घ) करदातालाई करको दायमा समावेश हुन प्रोत्साहित गर्न करदाता तथा आम नागरिकका लागि सूचनामूलक एवं सचेतना अभिवृद्धि सम्बन्धी करदाता शिक्षा कार्यक्रमहरुलाई निरन्तर रुपमा सञ्चालन गरिनेछ। यस्तो शिक्षा, सूचना र सचेतना सम्बन्धी कार्यहरु आवश्यकता अनुसार स्थानीय स्तरका शासकीय साझेदारहरु (निजी, गैरसरकारी, उपभोक्ता हितकारी एवं पेसागत संघसंस्थाहरु) समेतको सहभागिता र समन्वयमा सञ्चालन गरिनेछ।
अध्यक्ष महोदय तथा उपस्थित महानुभावहरु,
151. बजेट तर्जुमाका क्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहने तथा सुझाव दिनुहुने गाउँपालिका अध्यक्षज्यू लगायत सम्पूर्ण पदाधिकारीज्यूहरु, राष्ट्रसेवक कर्मचारीहरु, शिक्षक वर्ग, बुद्धिजीवि वर्ग, नागरिक समाज तथा सामुदायिक संघसंस्था सबैप्रति आभार व्यक्त गर्दछु।
152. अन्त्यमा, गाउँपालिकाको ‘सफा र हरियालीः समृद्ध भूमे’ आकांक्षा पूरा गर्न निरन्तर रुपमा सहयोग, समन्वय, सहकार्य गर्दै ऊर्जा र हौसला बढाउन योगदान पुर्याउनु हुने आम गाउँपालिकाबासी आमा बुवा दाजु भाइ दिदी बहिनी, गाउँपालिकाका विभिन्न कोषमा योगदानकर्ता, संघ प्रदेश र स्थानीय स्तरका सरकारी, राष्ट्रिय तथा अन्तर्राष्टिय गैरसरकारी तथा सामुदायिक संस्थाहरुप्रति धन्यवाद ज्ञापन गर्दछु। बजेट तर्जुमाको क्रममा प्राप्त भए जस्तो सहयोग र सद्भाव प्रभावकारी कार्यान्वयनमा पनि रहने विश्वास लिएको छु।
153. पहिलो स्थानीय सरकारका उपलब्धि संस्थागत गर्दै संविधान कार्यान्वयन र संघीयताको लाभ तथा प्रतिफल गाउँपालिकाबासीमा अनुभूति गराउने अठोटका साथ दोस्रो स्थानीय सरकार अगाडि बढिरहेको छ। हाम्रो यात्रा चुनौतीपूर्ण भएपनि गन्तव्य सुनौलो छ। विद्यमान परिवेश र वास्तविकताको आधारमा आइपरेका चुनौतिहरुलाई अवसरमा परिणत गर्न सबै कटिवद्ध, प्रतिवद्ध र एकतावद्ध भई छिट्टै सुनौलो गन्तव्यमा पुग्ने अठोट गरौं।धन्यवाद!

सविना बुढा
उपाध्यक्ष
संयोजकः बजेट तथा कार्यक्रम तर्जुमा समिति
मिति २०७९ साल असार १० गते

Facebook Comments