• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही उपमहानगरभित्रै जस्तापाता बारेर कक्षा कोठा सञ्चालन (भिडियोसहित)




कक्षा ५ र कक्षा ६ मा पढाइ भइरहेको थियो । केही विद्यार्थीको ध्यान भने आफ्नोभन्दा अर्को कक्षा कोठातर्फबाट केन्द्रित थियो ।
कक्षा ५ मा पढाइरहेका शिक्षिका बोल्दा जस्ता पाताको प्वालबाट कक्षा ६ का विद्यार्थीले अर्को कोठातिर ध्यान दिन्थे भने कक्षा ६ मा पढाइ हुँदा कक्षा ५ का विद्यार्थीले जस्ता पाताको प्वालबाट टुलुटुलु हेरिएका थिए । कक्षा ७ र ८ को अवस्था पनि त्यस्तै थियो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १९ को भूमि आधारभूत विद्यालय बाम्लामा देखिएको दृश्य हो यो । बालशिक्षादेखि कक्षा ८ सम्म पढाइ हुने यो विद्यालयमा झण्डै दुई सय विद्यार्थी छन् तर उनीहरुका लागि उपयुक्त विद्यालय भवन नहुँदा जस्ता पाताले बारेको कोठामा पढ्न बाध्य छन् ।

खिया लागेको जस्ता पातामुनिको पुरानो र जीर्ण भवनमा रहेका दुई कोठालाई जस्ता पाताले बारेर चार वटा बनाइएको छ । कक्षा ५, ६, ७ र ८ को पठनपाठन यही जस्ताले बारेका कोठाबाट हुँदै आएको छ ।

त्यसो त अर्को भवन पनि त्यस्तै जीर्ण बन्दै गएको छ । आवश्यक कक्षा कोठा नहुँदा पढ्न आफूहरुलाई निकै असजिलो हुने गरेको कक्षा ८ का विद्यार्थी अनिल रावतले बताउनुभयो । अर्को कक्षामा भएको पढाइले आफूहरुलाई डिस्टर्ब हुने र आफ्नो कक्षामा भएको पढाइले अर्को कक्षामा डिस्टर्ब हुने उहाँले गुनासो गर्नुभयो ।

त्यसो त शिक्षक शिक्षिकालाई पनि हैरान छ । एक कक्षाको आवाजले अर्को कक्षामा असर पुग्ने भएकाले आफूहरुले मसिना स्वरमा पढाउनुपर्ने र एउटा कक्षामा हल्ला भयो भने अर्को कक्षामा पनि पढाउन नसक्ने अवस्था रहेको शिक्षक पूर्णबहादुर डाँगीले गुनासो गर्नुभयो । त्यसो त घाम र पानीको बेलामा पनि पठनपाठन गर्न अफ्ठ्यारो हुने गरेको उहाँको भनाइ छ ।

विद्यालय भवन मात्रै होइन, यो विद्यालय अन्य पूर्वाधारबाट पनि वञ्चित छ । खानेपानीको अभाव हुँदा कार्यालय सहयोगी दैनिक एक घण्टा उकालो हिडेर गाग्रीमा पानी बोक्न बाध्य छन् । त्यस्तै विद्यालयमा कम्प्युटर कक्षा लागु गरिएको भए पनि विद्युत अभावले पठनपाठन प्रभावित हुने गरेको छ । सोलारको सहायताले केही कम्प्युटर चले पनि घाम नलाग्दा वा बर्षातको समयमा समस्या हुने गरेको प्रधानाध्यापक टुककुमारी रावतले गुनासो गर्नुभयो ।

‘म सरुवा भएर आएको सात महिना भएको छ, पठनपाठन राम्रै रहेछ तर यहाँको भौतिक पूर्वाधारको अवस्था देख्दा मन रुने खालको छ’– सोही विद्यालयबाटै प्रारम्भिक शिक्षा अध्ययन गरेकी प्रअ रावतले भन्नुभयो– ‘भवन, खानेपानी, विद्युत, खेल मैदान केही पन छैन ।’

यो बिद्यालयमा बाम्ला, भालाकोट, धनडाँडा, देउकोटलगायतका विद्यार्थी आउने गरेका छन् । बिषयगत शिक्षक पनि छन् र विद्यार्थीको पठनपाठन पनि सामान्यतः राम्रै छ । तर, भौतिक पूर्वाधार राम्रो भयो र अभिभावकलाई सचेत बनाउन सकियो भने पठनपाठन अझ राम्रो बनाउन सकिने प्रअ रावतको विश्वास छ । अभिभावक सचेत नहुँदा बालबालिकालाई दुई दिन विद्यालय पठाउने र दुई दिन घरमा काम गराउने समस्या रहेको उहाँले बताउनुभयो ।

विद्यालयको यो हविगत देखेर आफूले दुई दिनअघि मात्रै विद्यालय ब्यवस्थापन समितिको नेतृत्व लिएको जनाउँदै भौतिक पूर्वाधार विकासका लागि चरणबद्ध काम अघि बढाउने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जंग रोकाले बताउनुभयो । ‘म अभिभावक भेलामा आउँदासम्म अध्यक्ष बन्ने सोचेको थिएन तर यहाँको सबै अवस्था देखेपछि एकपटक मैले नै नेतृत्व लिएर सुधार गर्छु भन्ने अटोठ गरेको छु’– निवर्तमान वडा सदस्य एवं विद्यार्थी नेतासमेत रहेका रोकाले भन्नुभयो– ‘अब तत्काल गुरुयोजना बनाएर वडा, नगर, प्रदेश र संघबाट गर्न सकिने जति काम अघि बढाउने छु ।’

कम्तीमा छ कोठाको एउटा विद्यालय भवन, खेल मैदान, खानेपानी र विद्युत जडान गर्न सकियो भने जस्ताले बारेका कोठाबाट विद्यार्थीलाई वास्तविक कक्षा कोठामा लैजान सकिने उहाँको विश्वास छ । त्यसका लागि निरन्तर अभिभावक सचेतना अभियानमार्फत सबै बालबालिकालाई निरन्तर विद्यालय पठाउने र उनीहरुलाई घरमा पनि गृहकार्यलगायतका काममा सहयोग गर्ने वातावरण बनाउने पनि उहाँले बताउनुभयो । यही क्षेत्रका मतदाताले जिताएका कृष्णबहादुर महरा सभामुख र शंकर पोख्रेल मुख्यमन्त्री भइसक्दा पनि जस्ताले बारेर विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यताले स्थानीयलाई धेरै दुःख बनाएको उहाँले बताउनुभो ।

Facebook Comments