• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाइ तथा शुभकामना




हिमाल महरा
घोराही, १५ जेठ । नेपाली कांग्रेस क्षेत्र नं. २ ले एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाइ तथा शुभकामना दिएको छ । क्षेत्र नं. २ ले शनिवार घोराहीमा कार्यक्रमको आयोजना गरी बधाइ तथा शुभकामना दिएको हो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले जनप्रतिनिधिहरु नागरिकको समस्याको समाधान गर्न लाग्नुपर्ने बताए ।
नागरिकको सेवाको लागि निर्वाचित भएकाले नागरिकको समस्याका बारेमा बुझेर अगाडि बढ्न समेत आग्रह गरे । पार्टी र जनप्रतिनिधिहरुबीच सुमधुर सम्बन्ध हुनुपर्ने उनको भनाइ रहेको थियो । यसका लागि पार्टी र जनप्रतिनिधिहरु समन्वय गरेर अगाडि बढ्नसमेत आग्रह गरे । प्राविधिक कारणले जिल्लामा चुनावमा हार व्यहोर्नुपरेको उनले बताए । ‘निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध लाग्नेलाई कारबाही हुन्छ’, सभापति डाँगीले भने । पार्टीको विधानभन्दा बाहिर गएर कार्य गर्न कसैलाई छुट नभएको उनको भनाइ रहेको थियो ।
नेपाली कांग्रेसका महासमिति सदस्य भूपबहादुर डाँगीले नेपाली कांग्रेसमा नैतिकता र इमानदारीता हराउँदै गएको बताए । यसले पार्टीलाई नै समस्या पर्ने उनको भनाइ रहेको छ । निर्वाचनमा हार–जित स्वाभाविक भएको भन्दै आफू निर्वाचित हुन नसके पनि सधै नागरिकको पक्षमा काम गर्ने उनले बताए । ‘म निराश नभई सधै नागरिकको पक्षमा काम गरेर अगाडि बढ्ने छु’, डाँगीले भने ।
नेपाली काग्रेस क्षेत्र नं. २ का उपसभापति प्रकाश श्रेष्ठले जनप्रतिनिधिहरु नमुनाको रुपमा काम गर्नतर्फ लाग्न आग्रह गरे । जनताको मन जितेर काम गर्न समेत उनले आग्रह गरे । अर्का उपसभापति अभियान बस्नेतले स्थानीय तहको निर्वाचनमा सोचेअनुसार नतिजा ल्याउन नसकेको बताए । पार्टीलाई बलियो बनाउन सबै मिलेर अगाडि बढ्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा नेपाल महिला संघका जिल्लाका जिल्ला अध्यक्ष गोमा रावत, बंगलाचुली गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष भक्तबहादुर जिसी, डिएलएका अध्यक्ष कुमारराज श्रेष्ठ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का नवनिर्वाचित अध्यक्ष थलराज पुरी लगायतले भनाइ राखेका थिए । कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्काको अध्यक्षतामा भएको थियो । क्षेत्र नं. २ का सचिव आर.के. शीतलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण अर्का सचिव हिमबहादुर डाँगीले गरेका थिए ।
यसैबीच नेपाली कांग्रेस क्षेत्र नं. २ ले स्थानीय तहको निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ । क्षेत्र नं. २ को शनिवार बसेको बैठकले निर्वाचनमा सहयोग गर्ने मतदाता, नेता कार्यकर्ता, निर्वाचन कार्यालय, नागरिक समाज, सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी, अधिकारकर्मीलगायत सम्पूर्णलाई धन्यवाद दिने निर्णय गरेको हो । बैठक क्षेत्र नं. २ का सभापति खड्काको अध्यक्षतामा बसेको थियो ।

Facebook Comments