• ६ माघ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भारतसँग जोडिएको राजपुरः युद्धकालीन वर्चश्व फर्काउने दाउमा माओवादी




दाङको राजपुर गाउँपालिका जिल्लाकै विकट र दुर्गम गाउँपालिका हो। तत्कालीन नेकपा माओवादीको जनयुद्धमा आधारइलाकाको रुपमा रह्यो। माओवादी जनाधार हुँदाहुँदै सक्षम नेतृत्व नहुँदा माओवादीले गाउँपालिकामा नेतृत्व गर्ने अवसर पाएको थिएन। तर, माओवादी केन्द्रबाट जनयुद्धबाट खारिएका चक्रबहादुर खड्का ‘शिखर’ र उपाध्यक्षमा पुष्पा यादव निर्वाचनमा उठेपछि राजपुरमा माओवादीले खाता खोल्ने अवस्थामा पुगेको हो।

यसअघि निर्वाचनमा माओवादी राजपुरमा केही सय झिनो मत अन्तरले मात्रै नेपाली काँग्रेस पालिका अध्यक्ष र उपाध्यक्षसँग पराजित भयो। यद्यपि बहुमत वडा अध्यक्षसहित सदस्य माओवादीले जितेको थियो। काँग्रेसबाट पालिका अध्यक्ष जितेका लोकराज केसी र उपाध्यक्ष धनपति यादवले तानाशाही शैलीमा काम गर्न नदिएपछि धेरै जनताका काम अधुरा भएनन्।

खड्का र यादवप्रति जनलहर बढ्न थालेपछि काँग्रेस उम्मेदवार गल्न बाध्य भएका हुन्। यसअघि निर्वाचित काँग्रेस नेतत्वको सरकार बदनाम भएको पार्टी आफैमा तीन गुटमा विभाजित भएपछि माओवादी जित सुनिश्चित भएको हो। काँग्रेसबाट अध्यक्षमा सरदकुमार बुढाथोकी उपाध्यक्षमा धनपति यादवले टिकट पाएपछि अरु दुई गुट चिढिएका छन्। तर, माओवादीका अध्यक्षका उम्मेदवार खड्कालाई वाम गठबन्धनका अन्य सहकर्मी दलले सघाएकाले उनलाई चुनाव जित्न सहज भएको हो।

यसअघि निर्वाचनमा पालिकामा बहुमत भएकाले यसपटक पालिका नेतृत्व जित्ने अवस्थामा पुगेका हुन्। उता एमाले दाङ जिल्लाकै सबैभन्दा कमजोर राजपुरमा भएकाले प्रतिष्पर्धामै आउने अवस्था छैन। उल्टै एमाले राजपुर सचिव मंशाराम यादवसमेत माओवादीमा प्रवेश गरेपछि उनीहरु लगभग नेतृत्वविहीन अवस्थामा पुगेका छन्। राजपुरमा कम्युनिष्ट विचार राख्ने नेता कार्यकर्ता शुभचिन्तक समेत माओवादीलाई समर्थन गर्न थालेपछि काँग्रेस समेत भित्री रुपमा हार स्वीकार गरिसकेका छन्।
खड्का अध्यक्षको उम्मेदवार भएपछि दुरगामी योजना अघि सार्नुभएको छ। ‘म निर्वाचित भएपछि राजपुर गाउँपालिकामा गर्ने कामहरु धेरै छन् । पहिलो काम भनेको मेरो संविधानले व्यवस्था गरेको जनताका सम्पूर्ण आधारभूत हक र अधिकारलाई कार्यान्वयन गर्ने हो । त्यसैगरी जनताले अनुभूति गर्ने गरी शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेन्टी गर्ने हो’ खड्काले भन्नुभयो, ‘त्यति मात्रै होइन मैले कृषिमा आधुनिकीकरण, उत्पादनमा विकास र व्यवस्थापनमा जोड दिने छु ।

त्यसैगरी पालिका क्षेत्रका प्रत्येक गाउँ–गाउँमा शुद्ध पिउने पानी र सिँचाइको पूर्णरुपमा व्यवस्थापन गर्ने, सडक पुल, विद्युत र सूचना सञ्चारको पूर्वाधारहरु निर्माण गर्ने, अर्थतन्त्रमा आत्मनिर्भर, शहरीकरण र बजारीकरण व्यवस्था गर्ने छु।’ यस्तै पालिकामा लामो समयदेखि समस्याको रुपमा हुँदै आएको सुकुम्बासी भूमिहीन र अव्यवस्थित बसोबासको समस्याको समाधान गर्दैै लालपुर्जा वितरण गर्ने कार्यलाई समेत पूरा गर्ने खड्काले बताउनु भयो। ‘सार्वजनिक प्रशासनको सुशासन गर्ने र दैनिक प्रशासनलाई जनसेवामुखी, प्रभावकारी छिटो छरितो सर्वसुलभ गर्ने र राजश्व प्रणालीलाई व्यवस्थित गर्ने र भ्रष्टाचार मुक्त गाउँपालिका बनाउने छु।’ खड्काले भन्नुभयो।

को हुन् राजपुर गाउँपालिका अध्यक्षका उम्मेदवार खड्का ?

नेकपा (माओवादी केन्द्र) को तर्फबाट राजपुर गाउँपालिका अध्यक्ष पदका उम्मेदवार हुनुहुन्छ चक्रबहादुर खड्का (शिखर) । २०७९ बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा (माओवादी केन्द्र)को गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिन्ह लिएर राजपुर गाउँपालिकाअन्तर्गत सम्पूर्ण वडा लगायत नेपाल–भारत सीमावर्ती क्षेत्रका मतदाताको घर–घरमा घरदैलो कार्यक्रममा होमिनुभएको छ । नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बन्नुभएको खड्का राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारानाका निवासी हाल राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवा बस्दै आउनुभएको छ ।
बाल्यकाल
नेकपा (माओवादी केन्द्र) का नेता चक्रबहादुर खड्का (शिखर)को जन्म २०४० असार १२ गते पहाडी जिल्ला रुकुममा भएको थियो । आमा ललिता र बुवा गम्भीर खड्काका चार भाइ दुई बहिनीमध्ये माइलो सन्तान हुनुहुन्छ उहाँ । रुकुम गाउँको एउटा सामान्य किसानको परिवारमा जन्मेर संघर्ष अनेकौँ आरोह–अवरोहरु पार गर्दै खड्का (माओवादी केन्द्र)को तर्फबाट २०५८ सालदेखि दाङका विभिन्न ठाउँमा र राजपुर गाउँपालिकामा निरन्तर राजनीतिक क्षेत्रमा सक्रिय रही अहिले राजपुर गाउँपालिका अध्यक्ष पदका लागि उम्मेदवार बन्नु भएको छ ।
विद्यार्थी जीवन र राजनीति
नेकपा (माओवादी केन्द्र) नेता चक्रबहादुर खड्का विद्यालय शिक्षा आफ्नै गाउँको हिमालय माध्यमिक विद्यालयमा हासिल गर्नुभयो । यसैगरी मा.वि साधारण मा.वि गंगदीमा उच्च शिक्षा लिनुभयो । क्रमशः उहाँको जीवन यात्राका महत्वपूर्ण मोडका रुपमा स्थापित हुनुभयो । जनयुद्ध, जनआन्दोलनमा सक्रिय सहभागी हुनुभयो । यससँगै उहाँको जीवनको कठिन र जोखिमपूर्ण राजनीतिक यात्राको आरम्भ भयो । त्यस क्रममा उहाँ विद्यार्थीको हकहितको लागि समर्पित एक उदीयमान नेताका रूपमा स्थापित हुँदै एघार वर्षको उमेरमा कक्षा पाँचमा पढ्दै गर्दा (अनेरास्ववियु) रुकुमको इकाई अध्यक्षको नेतृत्व रहनुभयो । यसै अवधिमा रुकुमको हिमालय माध्यमिक विद्यालयमा कक्षा आठमा पढ्दा पढ्दै गर्दा विद्यार्थी संगठनमा १७ वर्षको उमेरमा दुई वर्ष काम गर्नुभयो।
राजनीतिक योगदान
२०५८ सालदेखि पूर्णकालीन भई नेपाल–भारत सीमावर्ती क्षेत्रमा रही मुख्य जिम्मेवारी निर्वाह गरी, सीमावर्ती क्षेत्रमा विना बर्दीका सिपाहीसँग रही पार्टी र संगठनको लागि महत्वपूर्ण योगदान दिदै निरन्तर संघर्षमा रहनुभयो । २०५९ सालमा पार्टी सदस्यता प्राप्त गरी विभिन्न कमिटीको नेतृत्व गर्दै आउनुभयो । २०६४ सालमा जिल्ला सदस्य र छिमेकी पालिका लमही नगरपालिकाको अध्यक्ष भई लामो समयसम्म पार्टीको काम गर्नुभयो ।
उहाँको लोकप्रियता, क्रियाशीलता र निष्ठाकै कारण वि.सं. २०७८ को प्रदेशको प्रथम महाधिवेशनबाट लुम्बिनी प्रदेश सदस्यमा उहाँ पार्टीको प्रदेश सदस्यमा निर्वाचित हुनुभयो । हाल राजपुर गाउँपालिकाको इञ्चार्ज हुनुहुन्छ । उहाँले पार्टीको नीति निर्माणको तहमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । उहाँको परिचय लोकप्रिय र सफल नेताको रूपमा रहेको छ । उहाँले नेपाल–भारत सीमावर्ती क्षेत्रमा रहेका नाकाबासीहरुको लागि वनघुस्री आन्दोलन लगायत सडकबाट विभिन्न आन्दोलन र अभियानहरूको नेतृत्व गर्नुभएको छ ।

कुराकानी
राजपुरको सुकुम्बासी भूमिहीन र अव्यवस्थित बसोबासलाई लालपुर्जा वितरण गर्नेछु– चक्रबहादुर खड्का

प्रश्न : दाङ राजपुर गाउँपालिका नेकपा (माओवादी केन्द्र) राजपुर गाउँपालिका दाङको विकट मध्येको एक स्थानीय तहको रुपमा रहेको छ । यहाँको विकास र निर्माणका लागि मुख्य कुन कुन एजेण्डाहरु अघि सार्नु भएको छ?
धन्यवाद निकै राम्रो प्रश्न गर्नुभयो यहाँले । शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानी, यातायात, विद्युत्, सञ्चार, रोजगारलगायतका विभिन्न यहाँको विकास र निर्माणका लागि मुख्य एजेण्डाहरु अघि सारेको छु । त्यसका साथै कृषि र सिँचाइलाई पनि प्रमुख एजेण्डाका रुपमा अगाडि सारेको छु ।

प्रश्न : तपाईसँगको मुख्य प्रतिस्पर्धी नेपाली काँग्रेस देखिएको छ, तपाईं चुनाव जित्ने आधारहरु के के हुन्?
पहिलो कुरा भनेको पार्टी र संगठन छ हामीसँग । १३ सय पार्टी सदस्य रहेका छन् । चुनाव जित्ने एउटा आधार यही हो । दोस्रो आधार भनेको माओवादी पार्टीको एजेण्डा, इमान्दारिता र गत स्थानीय तहको निर्वाचनमा माओवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको कामले जनता निकै आकर्षित भएका छन् । माओवादीलाई जनताको मनबाट कसैले पनि निकाल्न सक्दैन । त्यसकारण एमाले र कांग्रेसबाट नेकपा (माओवादी केन्द्र)मा प्रवेशको लहर नै चलेको छ ।
प्रश्न : अब चुनावी अभियान कसरी अघि बढाउनु हुन्छ ?
चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा पाएपछि वडा–वडामा प्रचारका कामहरू थालेका छौं । प्रत्येक वडाहरुमा घरदैलोसहित कोणसभा गरेका छौं । नेता–कार्यकर्ताको साथ र सहयोग पाएका छौं । हामी उत्साहित छौं । वडामा हामी (माओवादी केन्द्र)का वडाध्यक्ष उम्मेदवारहरूलाई चुनाव चिह्न गोलाकारभित्रको हसिँया हथौडामा भोट मागेका छौं, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको टिमलाई अत्याधिक बहुमतले बिजयी बनाउन मतदातासँग अपिल गरेका छाँै ।
प्रश्न : तपाई निर्वाचित हुनुभयो भने पहिलो काम के गर्नुहुन्छ ?
म निर्वाचित भएपछि राजपुर गाउँपालिकामा गर्ने कामहरु धेरै छन् । पहिलो काम भनेको मेरो संविधानले व्यवस्था गरेको जनताका सम्पूर्ण आधारभूत हक र अधिकारलाई कार्यान्वयन गर्ने हो । त्यसैगरी जनताले अनुभूति गर्ने गरी शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेन्टी गर्ने । त्यति मात्रै होइन मैले कृषिमा आधुनिकीकरण, उत्पादनमा विकास र व्यवस्थापनमा जोड दिने छु ।

त्यसैगरी पालिका क्षेत्रका प्रत्येक गाउँ–गाउँमा शुद्ध पिउने पानी र सिँचाइको पूर्णरुपमा व्यवस्थापन गर्ने, सडक पुल, विद्युत् र सूचना सञ्चारका पूर्वाधारहरु निर्माण गर्ने, अर्थतन्त्रमा आत्मनिर्भर, शहरीकरण र बजारीकरण व्यवस्था गर्ने, सुकुम्बासी भूमिहीन र अव्यवस्थित बसोबासको समस्याको समाधान र लालपुर्जा वितरण गर्ने, सार्वजनिक प्रशासनको सुशासन गर्ने र दैनिक प्रशासनलाई जनसेवामुखी, प्रभावकारी छिटो छरितो सर्वसुलभ गर्ने र राजश्व प्रणालीलाई व्यवस्थित गर्ने र भ्रष्टाचार मुक्त गाउँपालिका बनाउने योजना रहेको छ ।

प्रश्न : यो चुनावमा माओवादी विभाजन भएको छ त्यसको असर तपाईको पालिकामा परेको छ कि छैन?
नेकपा (माओवादी केन्द्र)मा केही विभाजन भएको छैन । हाम्रो पार्टीमा केही असर पनि पर्दैन । हामी जनताको नोकर हौँ । हामीलाई जनताको साथ छ ।

प्रश्न : यसअघि निर्वाचन काँग्रेसले जितेको थियो माओवादी दोस्रो भएको थियो, तपाईहरु त्यो बीचमा कुन कुन कामहरु गर्नुभयो?
जनतासँग दुःख सुख साट्ने काम गरियो । जनताका समस्यासँग प्रत्यक्ष रुपमा जुधेर खटन पटन गर्ने काम गरियो । अर्को कुरा हामी निर्वाचनताका जितेका वडाहरुमा रचनात्मक ढंगले जनताको काम पूर्णरुपमा गरियो । स्थानीय, प्रदेश र संघीय सरकारबाट थप बजेट ल्याएर विकास निर्माणको विभिन्न काम गरेका छाँै ।
प्रश्न : तपाई निर्वाचित भएर पालिका अध्यक्षको कुर्सीमा ५ वर्ष बस्नुभयो भने जनता पछुताउने अवस्था त आउँदैन?
त्यो त कदापि हुने छैन । किनभने हामी जनताकै सल्लाह सुझावबाट र जनताकै योजनाहरुलाई कार्यान्वयन गर्ने नीति बनाएर अगाडि बढेका छौँ । जनताले प्रत्यक्ष रुपमा अनुभूति गर्न यहाँका सबै समस्याहरु समाधान गर्न जनतासँगसँगै अगाडि बढ्ने भएको कारण आउने पाँच वर्षपछिको चुनावमा यति धेरै मेहनत गर्नुपर्ने स्थिति आउँदैन ।

Facebook Comments