• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीलाई नेपालकै नमूना उपमहानगर बनाउने हाम्रो योजना छः डायमण्ड





हेमराज शर्मा पोख्रेल (डायमण्ड)
गठबन्धनवाट मेयरका उम्मेदवार, घोराही उपमहानगरपालिका

यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार हुनुभएको छ, सबैभन्दा पहिले तपाईको वारेमा केही बताइ दनुहोस न ?
२०३१ साउन ५ गते मेरो जन्म भएको हो । २०४४ सालमा कक्षा ७ मा अध्ययन गर्दै गर्दा १३ वर्षको उमेरमै कृष्ण सेन इच्छुकले तत्कालिन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (दशौ) मा आबद्ध गराउनु भएको हो । २०४८ सालमा एसएलसी उतीर्ण गरेपछि घोराहीको महेन्द्र बहुमुखी क्याम्पसवाट बि.कम.सम्मको अध्ययन पूरा गरे । हाल राजनीति शास्त्रमा स्नाकोत्तर उतीर्ण गरेको छु । हाल म घोराही उपमहानगरपालिका वडा नं १५ दीपशिखा रोडमा स्थायी बसोवास गर्दछु ।
२०५३ सालदेखि माओवादी जनयुद्धमा पूर्णकालीन कार्यकर्ताकारुपमा सहभागी भई २०५५ सालमा माओवादीको जिल्ला सदस्य, २०५९ मा जिल्ला सेक्रेटरी हुदै २०६० देखि २०६६ सालसम्म दाङको जिल्ला इन्चार्ज र क्षेत्रीय व्यूरोको जिम्मेवारी सम्हाले । त्यसपछि २०६६ देखि माओवादीमा क्षेत्रीय व्यूरो, केन्द्रीय सदस्य र पोलिटव्यूरो सदस्यसम्मको जिम्मेवारी सम्हाल्दै गत पुसमा सम्पन्न केन्द्रीय महाधिवेशनवाट केन्द्रीय सदस्यमा निर्वाचित भएको छु ।

घोराहीको मेयरमा तपाईको उम्मेदवारी किन ?
मलाई म संलग्न पार्टी नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चासहितको पाँच दलीय गठबन्धनले घोराही उपमहानगरपालिकामा मेयर पदमा उम्मेदवार बनाएको छ । घोराही उपमहानगरपालिको समग्र विकास, प्रगति र उन्नतीका लागि मेरो उम्मेदवारी हो । घोराहीवासीको भाग्य र भविष्य बदल्दै आगामी पाँच वर्षमा घोराहीको मुहार फेर्ने हाम्रो बाचा हो । हामीसँग आगामी पाँचवर्षमा घोराहीलाई कस्तो बनाउने भन्ने स्पष्ट खाँकासहितको योजना छ । हाम्रो जित पश्चात्त दिनरात नभनी घोराहीवासी जनताको सेवा र घोराहीको विकासका लागि खटिने छौं ।
हामीलाई जनताले यसपटक मौका दिनुभयो भने पाँचवर्ष पछि देशको सबैभन्दा ठूलो यो उपमहानगर घोराहीलाई नेपालको सबैभन्दा नमूनायोग्य उपमहानगरपालिकाकारुपमा विकास गर्ने गठबन्धनको योजना छ ।

घोराही उपमहानगरमा तपाईका चुनावी एजेण्डाहरु के के हुन ?

घोराही उपमहानगरपालिकामा साझा गठबन्धनको तर्फवाट संस्थागतरुपमै साझा प्रतिबद्धता पत्र आम मतदाता समक्ष सार्वजनिक गरिसकेका छौं । मतदाताहरुले दिएका सुझावसमेत समेटेर तयार पारिएको साझा चुनावी प्रतिबद्धतापत्रमा घोराही उपहानगरपालिकामा कृषिलाई आधुनिकीकरण गरी गुणस्तरीय सीपमूलक शिक्षा र रोजगारीको ग्यारेण्टी, नागरिक स्वास्थ्यमा स्थानीय सरकारको जिम्मेवारी, निशुल्क स्वास्थ्य विमा, वडा वडासम्म उद्योग, दिगो विकासका लागि सडक पूर्वाधार, स्वस्थ्य खानेपानी, बैज्ञानिक भू–उपयोग तथा व्यवस्थित शहरी विकासको योजना अघि सारेका छौं ।

यसैगरी पर्यटन क्षेत्रको विकासका लागि नगर स्तरीय योजना, स्थानीय कला–संस्कृति, भाषा र मौलिक पहिचानका लागि विशेष योजना र अभियान, सुसासन र भष्ट्राचारमुक्त घोराही, सार्वजानिक सेवामा सहज नागरिक पहँुच, जनताको गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीका लागि स्थानीय सरकारको जिम्मेवारी, जेष्ठ नागरिक, महिला, बालबालिका, दलित र अपाङ्गता भएका व्यक्ति तथा अल्पसंख्यक वर्ग समुदायका लागि विशेष अधिकार, स्वास्थ्य र राहत व्यवस्थाका लागि पनि स्थानीय सरकारले जिम्मेवारी लिनुपर्ने हाम्रो प्रतिबद्धता छ ।
यसैगरी युवा र खेलकूदको विकास, सूचना तथा सञ्चारको विकास, घोराहीलाई हिलोधुलो मुक्त नगरका रुपमा विकास गर्ने, स्थानीय तहका वडा र ठोलसम्म कालोपत्रे सडक र सहज यातायात पहुँचको व्यवस्था, अति विपन्न, मजदुर, गरिव किसान, बृद्धबृद्धा, एकल महिलाहरुलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने योजना छ । यस्तै कृषकहरुलाई कृषक परिचय पत्र, मल बिउको सहज व्यवस्था, कृषक पेन्सनकोे व्यवस्था गरिने छ । विद्युत र खानेपानी निःशुल्क गर्ने हाम्रो एजेण्डा छ । यसैगरी चोक चोक सहित सार्वजानिक स्थलमा फ्रि इन्टरनेट, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ र विशेषज्ञ चिकित्सक अध्ययन सञ्चालन गर्ने र सरकारी विद्यालय तथा अस्पतालहरुलाई सुविधा सम्पन्न गराउने, नगर स्तरीय सरकारी अस्पताल सञ्चालन गर्नेलगायतका योजना अघि सारिएको छ ।

गठबन्धनले घोराही उपमहानगरपालिकामा जित्ने आधार चाहिँ के– के हुन् ?
घोराही उपहानगरपालिकामा गठबन्धनमा आबद्ध रहेका राजनीतिक दलहरुको जनआधार नै हाम्रो जित्ने पहिलो आधार हो । यस अघिको निर्वाचनमा हामीले प्राप्त गरेको मत संख्या मात्रै आधार मान्ने हो भने पनि हामी १२ हजारभन्दा बढी मतान्तरले बिजयी हुन्छौं । यसअघिको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी र जनमोर्चाले ल्याएको मत मात्रै हेर्ने हो भने पनि हामी फराकिलो अन्तरले जित्छौं । यस बाहेक केही समय अघि मात्रै नेकपा(एमाले) मा विभाजन हुनु र घोराहीका धेरै नेता कार्यकर्ताहरु एमालेवाट विभाजित पार्टी नेकपा (एकीकृत समाजवादी) मा लाग्नुले हाम्रो प्रतिष्पर्धी दल एमालेको मत विगतको भन्दा स्वतः कम हुन्छ ।
यस बाहेक हामीले उठाएका एजेण्डा र अघि सारेका उम्मेद्वारका अनुहार नै हाम्रो जितको अर्काे आधार हो । यसैगरी संघ, प्रदेशमा गठबन्धनको सरकार छ । स्थानीय तहमा पनि गठबन्धनकै सरकार हुँदा हाम्रो सहज पहुँच हुन्छ, विकासका लागि पर्याप्त वजेट लिन सकिन्छ । केन्द्र र प्रदेशको बजेट नआउने हो भने यहाँ हामीले चाहेजतिको विकास र समृद्धि हुँदैन । त्यसैले केन्द्र र प्रदेशमा जसरी गठबन्धनको संयुक्त सरकार छ, त्यसरी नै घोराहीमा पनि गठबन्धनको सरकार निर्माण गर्नुपर्छ भन्ने जनमत देखिन्छ ।
त्यसैगरी यस अघि घोराहीमा नेतृत्व गर्नुभएका मेयरलाई नै एमालेले पुनः उम्मेद्वार उठाएको हुनाले उहाँ एक पटकको परिक्षणमा आफूले यसअघि गरेका चुनावी बाचाहरु पूरा गर्न असफल भइसक्नु भएको छ । घोराहीवासी आम स्वतन्त्र मतदाताहरुले छिटो छिटो घोराहीको विकास गर्ने नयाँ अनुहारलाई बिजयी बनाउन आतुर हुनुहुन्छ । यी सबै आधारमा भन्दा घोराहीमा हाम्रो जित सुनिश्चित भइसकेको छ । हाम्रो गठबन्धनले घोराहीमा राजनीतिकरुपमा मात्र होइन, चुनावी दौडमा पनि जित हासिल गरिसकेको छ, अव मात्र प्राविधिकरुपमा चुनावी प्रक्रिया पूरा गर्नु बाँकी छ ।

यतिवेला विगतमा तपाई संलग्न पार्टी नेकपा विभाजित भएर एमाले, माओवादी र समाजवादीमा बाँडिएको छ, तपाईहरु एमालेकाविरुद्ध नेपाली कांग्रेससँग गठबन्धन गरेर चुनावमा होमिनुभएको छ । यसको औचित्य कसरी पुष्टी गर्नुहुन्छ ?
तपाईलाई थाहै छ, अघिल्लो स्थानीय तह निर्वाचन पछि संघ र प्रदेशको चुनावमा माओवादी र एमालेबीच सहकार्य हुँदै पार्टी एकता नै गरेर नेकपा बन्यो । माओवादीको बलमा एमाले अध्यक्ष केपी ओली दुई तिहाइ मतसहित नेकपावाट प्रधानमन्त्री हुनुभयो । ७ प्रदेश मध्ये ६ प्रदेश नेकपाकै सरकार थियो । तर केपी ओली लोकतान्त्रिक मूल्य मान्यता विपरित चल्नु भयो । उहाँले प्रमुख प्रतिपक्ष रहेको नेपाली कांग्रेससहित आफ्नै पार्टीका नेताहरुलाईसमेत पेल्न थाल्नु भयो । एकपछि अर्को निरंकुश र स्वेच्छाचारी कदम चाल्नु भयो । संघीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको मूलमर्म र भावना विपरित मिडिया काउन्सिल विद्येयक, गुठी विद्येयक, मानव अधिकार विद्येयकसहित थुप्रै काला कानूनहरु संसदमा पेश गर्नु भयो । त्यसकाविरुद्ध नागरिक समाज, पत्रकार, मानवअधिकारकर्मी, कानूनविदसहित विभिन्न तप्काका जनता सडकमै पुगेर आन्दोलन गर्दा पनि ओली टसको मस गर्नुभएन । उल्टै जनताका अधिकार र मौलिक हकमा लात हान्नुभयो । अध्यादेश जारी गरेर संबैधानिक हकमा अंकुश लगाउनु भयो । संबैधानिक आयोगमा अध्यादेशवाट धमाधम आफू निकटकालाई नियुक्ति गर्नु भयो । कोरोनाकालमा स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गर्नुभयो । यति, ओम्नी, ७० करोड जस्ता थुप्रै भष्टाचार काण्ड बाहिरिए । ओलीका गलत कदमको संसदभित्रैवाट समेत विरोध हुन थालेपछि संसद नै विघटन गरेर प्रतिगमनतिर लाग्नु भयो । ओली कदमको पार्टीको बहुमतले विरोध गरेपछि पार्टी नै फुटाउनु भयो । अदालतले संसद विघटनलाई गैर संबैधानिक ठहर गरेपछि पनि फेरि दोस्रो पटक संसद विघटन गरेर ०६२÷०६३ सालको जनआन्दोलनका उपलब्धी उल्ट्याउने बाटोमा लाग्नु भयो । यस्तो अवस्थामा केपी ओलीको गैरसंवैधानिक, गैर लोकतािन्त्रक कार्यका विरुद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनमोर्चा, राजपा सहितका दलहरुको बीच गठबन्धन बन्यो । सोही गठबन्धनको आन्दोलन समेतको बलमा ओलीलाई सत्ताबाट खसालियो ।
अहिले चुनावमा हाम्रो गठबन्धन लोकतन्त्र जोगाउन र संविधानको रक्षाका लागि भएको गठबन्धन हो । हामीले चुनेका जनप्रतिनिधिले संघ र प्रदेशको संसदमार्फत् केपी ओलीको प्रतिगमनलाई पराष्त गरेर केन्द्र र प्रदेशहरुमा साझा गठबन्धनको सरकार बनाएको छ । अव बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमार्फत् गठबन्धनका उम्मेदवारलाई जिताएर स्थानीय तहमा पनि प्रतिगमनलाई हराउनु छ । हामीले घोराहीमा पनि प्रतिगामी केपी ओली प्रवृत्तिलाई निर्वाचनमार्फत परास्त गर्न चाहेका हौं ।
पार्टी केन्द्रले निश्चित मापदण्ड बनाएर तालमेल गरेको छ । त्यसलाई सफल पार्नै पर्छ । गठबन्धनमा रहेका सबै राजनीतिक दलका नेता, कार्यकर्ता, शुभेच्छुक र समर्थकसहित हरेक सच्चा देशभक्त नेपाली र एमालेभित्रका इमान्दार कार्यकताले यतिवेला छातीमा हात राखेर सोचौं, हामीले लोकतान्त्रिक गठबन्धनलाई मतदान नगर्दा भोली फेरि प्रतिगमनकारीहरुले जितेर देशको संविधान र लोकतन्त्र नै धरापमा पर्ने त होइन ? प्रतिगमनकारीले जिते भने फेरि हामी र हाम्रा छोरा छोरीले लोकतन्त्रका लागि वर्षौ संघर्ष गर्नुपर्ने दिन आउन सक्छ । तसर्थ गठबन्धनको निर्णय हामी सबैले इमान्दारीतापूर्वक पालना गरौं । अहिले बहस कस्ले कति र कुन पद पायो वा पाइएन भन्ने हुँदै होइन । सवाल लोकतान्त्रिक, सुसासनयुक्त, सबल, सक्षम, समृद्ध, भष्टाचारमुक्त, विकसित घोराही निर्माण गर्ने कि नगर्ने भन्ने हो । हामी गठबन्धनका उम्मेद्वार सबैले जित्दा मात्रै प्रतिगमनले हार्नेछ र स्थानीय तहमा जनपक्षीय सरकार बन्नेछ ।

तपाइँको पार्टी र गठबन्धनभित्रको एकताको अवस्था कस्तो छ ?
गठबन्धनमा रहेका दलहरुभित्र थुप्रै सक्षम र योग्य नेता कार्यकर्ताहरु हुनुहुन्छ । सुरुमा उम्मेद्वार चयन गर्ने क्रममा कसलाई उम्मेदवार बनाउदा उचित हुन्छ भनेर बहस हुनु, साथीहरुले चाहना राख्नु स्वभाविकै हो । घोराहीका मेयर र उपमेयर दुवै पदमा सर्वसम्मत् रुपमा उम्मेदवारी चयन भएपछि यहाँ कुनै विवाद छैन । उम्मेदवारी चयन भइसकेपछि मेयर र उपमेयरका उम्मेदवारहरुका वारेमा एक जनाले पनि असन्तुष्टी व्यक्त गर्नुभएको छैन । सबै एकढिक्का भएर प्रचार प्रसारमा लाग्नु भएको छ । पहिले असन्तुष्ट भएका साथीहरु पनि हामीसँगको छलफल पछि काममा फर्कनु भएको छ । अन्य पार्टीमा रहेका साथीहरु धमाधम पार्टीमा जोडिनुभएको छ । यस अघि मेयरको उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका प्रभावशाली नेता भूपबहादुर डाँगी अहिले उपमेयरमा उम्मेदवार हुनुहुन्छ । हाम्रो संयुक्त गठबन्धनलाई जिताउन दुवै पार्टीका नेता र कार्यकर्ताहरु सबै एकतावद्ध भएर लागिरहनु भएको छ । हामी चुनावी अभियानमा अघि बढिसकेपछि पार्टीका सदस्य र शुभेच्छुकको दायित्व पार्टीका उम्मेदवार जिताउने हो । यस्तो वेला वाद विवाद गरेर समय खेर फाल्ने समय हाम्रा नेता कार्यकर्ताहरुलाई छैन । चुनाव सकेपछि हामीले समीक्षा गर्नेछौ । केही गल्ती भएको रहेछ भने त्यसवाट शिक्षा लिने छौं । अहिले हामीमा खासै विवाद छैन । पार्टी निकट साथीहरुले निर्णय विपरित हाल्नुभएका उम्मेदवारी पनि फिर्ता लिइरहनु भएको छ । अझै केही असन्तुष्टी रहेछन् भने पनि मतदान गर्नु अघिसम्म समाधान हुनेछन ।

अन्त्यमा एउटा प्रश्न, तपाईको चुनावी प्रचारप्रसारको अभियान कसरी चलेको छ ?
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र सहितको पाँच दलीय गठबन्धनले घोराही उपहानगरपालिकाको मेयर पदमा मलाई र उप–मेयर पदमा भुपबहादुर डाँगीसहित वडा तहसम्म नै साझा उम्मेद्वार अघि सारेको छ । हाम्रो चुनावी प्रचारका लागि पनि हामीले व्यक्तिगत रुपमा नभई गठबन्धनले तय गरेको चुनावी योजना र प्रचार कार्यक्रममा साझा ढंगले सहभागी भइरहेका छौं । चुनावी प्रचारका क्रममा मनोनयन हुनुभन्दा केही दिन अघि मात्र हाम्रो टुंगो लागेकाले प्रचार प्रसार र भेटघाटका लागि पर्याप्त समय पुगिरहेको छैन । घोराहीमा एक लाखभन्दा बढी मतदाता हुनुभएकाले हामीले सबैलाई व्यक्तिगतरुपमा भेटन सकिरहेका छैन । हरेक मतदाता र शुभेच्छुकहरुको घरदैलोमा पुग्न नसके पनि गाउँ टोलमा हुने चुनावी कार्यक्रममा सरिक भई उम्मेद्वारहरुले साझा योजना सहितको प्रतिबद्धता पत्र प्रस्तुत गरी उहाँहरुका समेत सुझाव लिदै अघि बढिरहेको छौं ।
चाहँदा चाहँदै पनि यहाँहरुसँग भेट हुन नसके पनि यहाँले मलाई आफै उम्मेदवार भए सरह मान्नुभए हुन्छ । म निर्वाचित भए पछि यहाँहरुको घर घरमा आएर सुझाव लिनेछु र यहाँको सल्लाह सुझावअनुसार अघि बढ्ने छु ।

Facebook Comments