दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनले कृषिपछि शिक्षालाई प्राथमिकता दिने रणनीति अघि सारेको छ ।
गठबन्धनले सार्वजनिक गरेको घोषणापत्रमा ‘गुणस्तरीय सीपमूलक शिक्षा र रोजगारीः गठबन्धनको नेतृत्वमा राज्यको जिम्मेवारी’ भन्ने नाराका साथ शिक्षालाई प्राथमिकता दिएको छ ।
शिक्षा राष्ट्र विकासका लागि पूर्वाधारको पनि पूर्वाधार भएको उल्लेख गर्दै संवैधानिक ब्यवस्थाअनुसार माध्यामिक तहसम्मको शिक्षा स्थानीय तहको माताहत रहेकाले गुणस्तरीय शिक्षा र शिक्षामा सबैको पहुँच स्थापित प्रतिबद्धता जनाइएको छ ।
यस्तो छ गठबन्धनको शिक्षासम्बन्धी प्रस्तावः
१– यस उपमहानगरपालिकाभित्र एउटा विद्यालयलाई ‘लिड स्कूल’का रुपमा विकास गरिनेछ, जहाँ सबैखालका सुविधाहरु पर्याप्त मात्रामा उपलब्ध हुनुका साथै अत्याधुनिक सिकाइ पद्धति लागु गरिने छ । यो कार्यक्रमलाई क्रमशः विस्तार गर्दै लगिने छ ।
२– यस उपमहानगरपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक (सरकारी) विद्यालयहरुमा दरबन्दीअनुसारको बिषयगत शिक्षक परिपूर्ति गरिने छ ।
३– प्राबिधिक धारतर्फको शिक्षामा खासगरी मजदूर तथा विपन्न परिवारका जेहेन्दार छात्रछात्राहरुलाई बिशेष नीति बनाई प्राबिधिक शिक्षाको अवसर प्रदान गरिने छ ।
४– अति न्यून विद्यार्थी संख्या भएका विद्यालयहरुलाई स्थानीय समुदायसँग छलफल गरी विद्यालय नक्शांकन तथा एकीकरणका माध्यमबाट सुदृढीकरण गरिने छ ।
५– यस उपमहानगरपालिकाले बार्षिक रुपमा नगरभित्रका जेहेन्दार छात्रछात्रालाई मेरिटको आधारमा प्राबिधि धारतर्फ उच्च शिक्षा अध्ययनका लागि सशर्त छात्रवृत्तिको ब्यवस्था गरिने छ ।
६– नगर क्षेत्रभित्र रहेका विभिन्न सीपमूलक तालिम प्रदायक संस्थाहरुसँग समन्वय गरी सरकारी सेवा तथा संस्थानका आयोगहरुमा प्रतिष्पर्धा गर्न चाहनेहरुका लागि तयारी कक्षा तथा विभिन्न पेशा ब्यवसायमा प्रवेश गर्नेहरुका लागि निश्चित संख्यामा निःशुल्क उद्यमशील तालिमको ब्यवस्था गरिने छ ।
७– घोराही उपमहानगरपालिकालाई शैक्षिक हवको रुपमा विकास गरिने छ । जसका लागि उच्च प्राबिधिक शिक्षामा निजी क्षेत्रसँग समेत सहकार्य गरिने छ ।
८– सामुदायिक विद्यालयहरुलाई पूर्वाधार तथा सुविधासम्पन्न बनाउँदै शैक्षिक गुणस्तर बृद्धि गर्न गुरुयोजना निर्माण गरिने छ ।
९– शिक्षालाई उत्पादन तथा जीवन जगतसँग जोड्न शिक्षकहरुलाई आवश्यक बिषयगत तालिमको ब्यवस्था गरिने छ । यस्तो तालिममा सामुदायिक तथा संस्थागत दुबै विद्यालयका शिक्षकहरुलाई समावेश गराइने छ ।
१०– संस्थागत विद्यालयहरुलाई नियमानुसार अनुगमन तथा नियमन गरिने छ भने शैक्षिक गुणस्तर बृद्धिका लागि सहकार्य गरिने छ ।
११– यस उपमहानगरपालिकाभित्र स्थायी बसोबास गरी विद्यावारिधि गरेका विज्ञहरुको अभिलेखीकरण गरी उहाँहरुलाई नियमति सम्मान गरिने छ । साथै उहाँहरुलाई नगरको विकासमा आफ्नो विज्ञताको प्रयोग गर्न प्रोत्साहित गर्ने कार्यक्रम बनाइने छ ।
१२– स्थानीय पाठ्यक्रमलाई विभिन्न मातृभाषामा तयार गरिने छ र यसलाई उत्पादनसँग जोडिने छ ।
१३– विद्यालय तथा विश्वविद्यालयस्तरीय शिक्षालाई प्रविधिमैत्री बनाउनुका साथै अनुसन्धानमा आधारित शिक्षा प्रणालीको विकास गरिने छ । साथै बाहिरबाट अनुसन्धानमा आउने चाहनेलाई प्रोत्साहन गरिने छ । हरेक बर्ष फरक फरक शीर्षकमा अनुसन्धानकर्ता व्यक्ति वा संस्थासँगको सहकार्यमा अनुसन्धानका काम अगाडि बढाइने छ ।
१४– फरक क्षमता भएका बालबालिकाको शिक्षालाई अनिवार्य गर्न उपयुक्त ब्यवस्था गरिने छ ।
१५– उपमहानगरपालिकाभित्र रहेका उच्च प्राविधिक शिक्षालय तथा प्रतिष्ठानमा नगरवासीको पहुँच सुनिश्चित गर्न छात्रवृत्तिसहितको बिशेष ब्यवस्था गरिने छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।