घोराही, २९ चैत । रोल्पाको रुन्टीगढी गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा संचालन भएको मोतिबिन्दुको निःशुल्क अप्रेशन शिविरमा ९८ जना बिरामीहरुको अप्रेशन सफल भएको छ । नेपाल रेडक्रस सोसाइटी होलेरी उपशाखाको आयोजना तथा रुन्टीगढी गाउँपालिकाको आर्थिक सहयोग एवं जिल्ला सामुदायिक आँखा अस्पताल लिबाङ र तलगंगा आँखा प्रतिष्ठान काठमाण्डौंको प्राविधिक सहयोगमा सो अप्रेशन सफल भएको हो ।
मोतिबिन्दु सम्बन्धी रुन्टीगढी गाउँपालिका भित्र १० ठाउँ र त्रिवेणीको करेटीमा गरी जम्मा ११ ठाउँमा गरिएको आँखा सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर संचालनमा १ हजार ७ सय ५० जना बिरामीहरुले आँखा चेकजाँच गराएको मध्य १ सय २८ जना बिरामीहरुको आँखाको अप्रेशनका लागि सिफारिस गरिएको भएतापनि ९८ जना बिरामीहरुले मात्र आँखाको अप्रेशन गरेको नेपाल रेडक्रस सोसाइटी होलेरी उपशाखाको सभापति लक्षीराम थापाले बताए । उनले होलेरीका आसपासका विभिन्न ठाउँमा चैत १७ गतेदेखि शुरु गरिएको निःशुल्क आँखा शिविरबाट सिफारिस भएका ३० जना बिरामीहरु गलत बुझाइ तथा घरपरिवारको सहयोग नहुँदा सो अप्रेशनमा सहभागी हुन नसकेको जिकिर गरे ।
होलेरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा चैत २५,२६ र २७ गतेसम्म चलेको निःशुल्क आँखा अप्रेशन शिविरमा उत्साहजनक सहभागिता रहेका बिरामी तथा बिरामी हेरालुहरुले आँखाको राम्रो अप्रेशन भएको भन्दै खुशी ब्यक्त गरेको तथा सो शिविरमा घोराही, तुलसीपुर, प्यूठान, रोल्पा नगरपालिका, त्रिबेणी र माडी गाउँपालिकाबाट बिरामीहरु सो शिविरमा आएर आँखाको अप्रेशन गरेको उनको भनाइ छ ।
शिविरमा एउटै घरका ९० वर्ष भन्दामाथि उमेका बुबा र ४९ वर्षीय छोराकोसँगै आँखाको सफल अप्रेशन भएको, २२ वर्षीय युवाको दुबै आँखाको मोतिबिन्दुको अप्रेशन भएको र तुलसीपुरको आँखा अस्पतालबाट आएरका बिरामीको समेत सफल अप्रेशन भएको नेपाल रेडक्रस शोसाइटी होलेरी उपशाखाले जनाएको छ ।
तीन दिनसम्म होलेरीमा चलेको शिविर सफलतापूर्वक सम्पन्न भएको र सो शिविरमा बिकट बस्तीबाट बिरामी आएको तर नजिकका बस्तीहरुबाट गलत बुझाइ तथा पारिवारिक सहयोग नहुँदा ३० जना बिरामीहरु निःशुल्क आँखा अप्रेशन गर्नबाट बञ्चित भएको उपशाखाले जनाएको हो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।