सल्यान, २८ चैत्र । सल्यानको कपुरकोटमा भैंसी पालक पकेट संचालक समितीमा आवद्ध किसानहरुलाई तालिम प्रदान गरिएको छ । भैसि पालनको महत्व, भैसीका उन्नत र स्थानीय जातहरु, भैसीमा लाग्ने रोग तथा उपचारका विषयमा किसानहरुलाई अभिमुखिकरण गरिएको थियो । कपुरकोट गाउँपालिका र पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको आर्थिक सहयोगमा प्रगतिशील कपुरकोट भैंसी पालक पकेट संचालक समितीले एक दिने तालिमको आयोजना गरेको हो ।
तालिम उद्घाटन कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले व्यवशायीक पशुपालनबाट आर्थिक उन्नती गर्न सकिने भन्दै यसलाई गाउँपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले पशुपालक किसानहरुको सहजता र व्यवशायीक पशुपालनलाई प्रवद्र्धन गर्नका लागि गाउँपालिकाले सबै वडामा प्राविधिक जनशक्ति व्यवस्थापन गरेको बताए ।
यस्तै कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले तालिममा सिकेको ज्ञान र सिपलाई प्रयोग गरेर सफल भैसी पालक कृषक बन्न आग्रह गरे । साझेदारीमा आधारित एक स्थानीय तह एक पशु बस्तु उत्पादन कार्यक्रम अन्तर्गत तालिमको आयोजना गरिएको पशुपन्छी विकास शाखाले जनाएको छ । यस कार्यक्रम अन्तर्गत यस वर्ष भैसिपालक कृषक समितिमा आवद्ध ३० जना किसानलाई उन्नत जातको भैसी खरिद गर्न १८ लाख रुपैयाँ अनुदान दिइने पशुपन्छी विकास शाखा प्रमुख अरुणा भण्डारीले जानकारि दिइन् । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको १५ लाख र कपुरकोट गाउँपालिकाको ३ लाख गरेर १८ लाख रुपैयाँ अनुदानको व्यवस्था गरिएको उनको भनाई छ ।
यस कार्यक्रममा एक जना किसानलाई भैसी खरिदका लागि ५० हजार रुपैयाँको दरले १५ लाख रुपैयाँ अनुदान दिइने छ भने खरिद गर्दा आवश्यक पर्ने बाँकी रकम स्वयम किसानले व्यहोर्नेगरी सम्झौता गरिएको छ । बाँकी ३ लाख रुपैयाँ औषधि तथा घाँसको विउ वितरण, विमा र ढुवानीमा खर्च हुने छ । भैंसी पालक पकेट सञ्चालनका लागि प्रस्ताव माग गरी किसान छनौट र समिति निर्माण गरेर कार्यक्रम अगाडी बढाइएको पशुपन्छी विकास शाखाले जनाएको छ ।
तालिमको अवसरमा गाउँपालिका अध्यक्ष सेन र प्रमुख प्रशासकीय अधिकृत वलीले भैंसीको लागि आवश्यक पर्ने विभिन्न ५ प्रकारका औषधि र उन्नत जातको घाँसको विउ वितरण गरेका थिए ।
प्रगतिशील कपुरकोट भैंसी पालक पकेट संचालक समिती अध्यक्ष करुणा गिरीको अध्यक्षतामा भएको एक दिने भैसी पालन तालिम कार्यक्रममा नायव पशु सेवा प्राविधिक अविकिरण डिसीले स्वागत मन्तव्य राखेका थिए । उद्घाटन कार्यक्रमको सहजीकरण पशुपन्छी विकास शाखा प्रमुख अरुणा भण्डारीले गरेकी थिइन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।