कमिरेचौर १८ चैत्र । बंगलाचुली गाउँपालिकाद्वारा सन्चालित रेडियो बंगलाचुली ९१ थोप्लो ७ मेगाहर्जको एक कार्यक्रमका विच आज उद्घाटन गरिएको छ ।रेडियोको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले रिवन काटेर उद्घाटन गर्नु भएको हो ।
विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थितिमा रेडियोको उद्घाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै बंगलाचुली गाउपालिका अध्यक्ष भक्त बहादुर वलीले जनताको सुचना प्राप्त गर्ने हकलाई स्थापित गर्न गाउँपालिकाले रेडियो बंगलाचुलीको स्थापना गरेको बताउनु भयो । उहाँले बंगलाचुली गाउँपालिकाले शिक्षा, स्वास्थ्य, संचार, भौतिक पूर्वाधार र मानविय विकासका लागि महत्वपूर्ण कार्यहरु गर्न सफल भएको बताउनु भयो ।
रेडियो बंगलाचुली संचालक समितिका अध्यक्ष समेत रहनु भएका अध्यक्ष वलीले रेडियो खुले संगै अब गाउँपालिका भित्र हुने विभिन्न गतिबिधिहरु सम्बन्धि सुचना तथा समाचार बाट जनताहरु बेखबर रहनुपर्ने अवस्थाको अन्त्य भएर जाने बताउनु भयो ।
त्यस्तै गाउपालिका उपाध्यक्ष यमुना थापाले भौगोलिक विकटताले सदरमुकामका रेडियोहरु सुन्न असज हुने ,समाचारमुलक पत्रपत्रिकाहरु पनि समयमै नआउने विगतका समस्या स्मरण गर्दै रेडियो बंगलाचुलीले त्यो समस्याको अन्त्य गर्ने बताउनु भयो । त्यस्तै उहाँले आगामिदिनमा रेडियो बंगलाचुलीले सत्य तथ्य र शन्तुलित समाचार प्रसारण गर्दै जनताको लोकप्रिय रेडियो बन्ने विश्वास ब्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दांङका अध्यक्ष दुर्गालाल के.सि.ले रेडियोलाई जनताको सुचना पाउने हकको महत्वपुर्ण माध्यमको रुपमा विकास गर्नुका साथै यसको दिर्घकालिन विकासका लागि गाउँपालिकाले थप योजना बनाउनु पर्ने बताउनु भयो ।ग्रामिण दुर दराजका स्थानियको सुचनाको हकलाइ मध्यनजर गर्दै सुचनाको पहुंच फैलाउने स्थानिय सरकारको कामले सन्चारको बिकासमा अझ टेवा पुगेको बताउनु भयो ।
त्यस्तै गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद पाण्डेयले रेडियोले जनताकै आवाज बुलन्द गर्ने र सत्यतथ्य सुचना शंप्रेषण गर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष सविन प्रियासनले बंगलाचुली गाउँपालिकाले रेडियोको स्थापना गरेर नेपालमै नमुना कार्यको थालनी गरेको बताउनु भयो । उहाँले राज्यले नागरिकको सुचना पाउने हकलाई सार्थक बनाउनु पर्छ भन्ने उदाहरण बंगलाचुली गाउँपालिकाबाट सुरुवात भएको बताउनु भयो ।
कार्यक्रममा वडा नम्वर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा,४ का अध्यक्ष नारायण डाँगी, ८ का अध्यक्ष गिरराज बाँठा, नेपाका माओबादी केन्द्रका तेजप्रसाद भुसाल,नेपाली काग्रेसका बंगलाचुली सभापती जागेश्वर अधिकारी,नेकपाका बंगलाचुली ईन्चार्ज भिम बहादुर राना,प्रेस युनियनका दाङजिल्ला अध्यक्ष सन्तोष सुवेदी,प्रेस सेन्टर नेपालका दाङ जिल्ला सचिव जनक नेपाली लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले रेडियोले सत्य,तथ्य, र सन्तुलीत सुचना तथा समाचार संप्रेषण गर्नु पर्नेमा जोड दिएका थिए । रेडियो बंगलाचुली दांग जिल्लाको १७ औं एफ.एम. रेडियो हो ।रेडियो बंगलाचुलीका रविन पीएमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण रेडियोका स्टेशन म्यानेजर जीवन नेपालीले गर्नु भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।