घोराही–मुर्कुटी सडक तथा सिमेन्ट उद्योग प्रभावित क्षेत्रका नागरिक पुनः आन्दोलित भएका छन् ।
यसअघि गत साउन भदौमा उनीहरुले सडक सुधारको माग गर्दै आन्दोलन गरेका थिए । गत भदौ २२ गते जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा सिमेन्ट उद्योगका टिप्पर चलाउन वैकल्पिक सडक निर्माण गर्ने र वैकल्पिक सडक निर्माण नहुँदासम्म नागरिकको आवतजावतलाई मध्यनजर गरी समय तोकेर टिप्पर चल्न दिने सहमति भएको थियो ।
लामो समयसम्म पनि सडक सुधारमा कुनै प्रगति नभएको भन्दै बंगलाचुली गाउँपालिको सडक सुधार नहुँदासम्मका लागि चुनढुंगाको खानी बन्द गरेको थियो । सो निर्णयपछि अहिले यो सडकमा टिप्पर चलेका छैनन् ।
तर, अहिले आएर सडक सुधारको कुनै प्रगतिविना नै चैत ७ गतेदेखि खानी खुला गर्ने निर्णय गरिएको भन्दै आफूहरु आन्दोलिन भएको घोराही–मुर्कुटी सडक तथा सिमेन्ट उद्योग प्रभावित सरोकार समितिका संयोजक नारदमणि पोख्रेलले जानकारी दिनुभयो । शनिवार बसेको समितिको बैठकबाट आन्दोलनका कार्यक्रम अघि सारिएको पनि उहाँले बताउनुभयो ।
पहिलो चरणमा जिल्ला प्रशासनमा भएको सहमति कार्यान्वायनको ध्यानाकर्षण गराउँदै आइतवार र्यालीसहित ज्ञानपज्ञ बुझाउने उहाँले जानकारी दिनुभयो ।
सरोकार समितिको आजको बैठकले यी समस्या र मागहरु अघि सारेको छः
हाम्रा समस्याहरुः
१– टिप्परको तीब्र गति र भीडले गर्दा साना बालबालिकालाई विद्यालय जान आउन कठिनाइ ।
२– यस सडकमा छेउमा पालुथान, सवारीकोट, हर्नोक, सिरुवारीलगायत विद्यालयमा धुलो, धुँवा र ध्वनिका कारण पठनपाठनमा समस्या ।
३– सडक आसपासका वस्तीमा धुलो, धुँवा टाँसिएर तरकारी, अन्न, फलफूल खान नमिल्ने भएको ।
४– आम नागरिकलाई यो सडकमा आवतजावत गर्न कठिनाइ भएको ।
५– दुर्घटना भई डिलाराम, सुमन चौधरीको मृत्यु भएको, सडक छेउमा रहेका पुनाराम बञ्जाडे दुर्घटनामा परी अपांग भइ उपचारकै क्रममा मृत्युसमेत भएको ।
६– धुलो, धुवाले स्वास प्रश्वासमा समस्या, छाला चिलाउने, आँखा पोल्ने रोग बढेको ।
७– सडक वपरिपरिका रुख, घाँसपातहरुमा धुलो टाँसिएकाले घरपालुवा जनावरहरु पालन गर्न कठिन भएको । फूलमा धुलो धुँवा टाँसिदा माहुरीपालनमा गम्भीर क्षति पुगेको ।
८– घरमा धोएर सुकाएका लुगाहरु धुलाम्य हुने गरेको । घरभित्रसमेत धुलो पसेर भान्सा र शयन कक्षसमेत फोहर हुने गरेको ।
९– चुनढुंगा बोक्ने टिप्परको ठक्करले चरिचरिनमा लैजादा र ल्याउँदा सडक दुर्घटनामा परी घरपालुवाको मृत्यु हुने गरेको । यसैक्रममा सिस्नेखोलाका शिवबहादुर घर्तीका सात बाख्रा मरेको ।
१०–सडक क्षेत्रमा रहेका शहरी स्वास्थ्य केन्द्र सवारीकोट, हर्नोकका साथै मितेरी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समेत धुलो, धुँवा र ध्वनिले असर गर्दा विरामी उपचारमा कठिनाइ आएको ।
११– अत्यधिक भार बोकेका गाडीका चापका कारण माटो फर्कदै जाँदा सडक वरिपरि भूक्षय बढेको, जसबाट वन क्षेत्रमा असर परेको र पहिरोको माटोले खेतबारीमा समेत असर पुगेको ।
१२– पालुथान मन्दिरसमेत भत्किएको ।
१३– पानीका मुहान धुलोबाट प्रदूषित भएको ।
१४– स्थानीय पैदल यात्र, साना सवारी साधन खाल्डा र धुलोका कारण चल्ने नसक्ने अवस्थामा पुगेको ।
समस्या समाधानका लागि हाम्रा मागहरुः
१– घोराही ट्राफिकचोक कटुवाखोलादेखि बंगलाचुली गाउँपालिका खानी क्षेत्रसम्मको सडक पुनः कालोपत्रे नहुँदासम्म चुनढुंगा ढुवानीका साधनहरु सञ्चालनमा रोक लगाइयोस् ।
२– मिति २०७८ भदौ २२ गते जिल्ला प्रशासन कार्यालय दाङमा तत्कालीन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको अध्यक्षतामा भएको बैठकलगायत अन्य समयमा भएका बैठकका निर्णयहरु तत्काल कार्यान्वायन गरियोस् ।
३– खानी क्षेत्रबाट चुनढंगा ओसारपसारका लागि वैकल्पिक मार्ग वा विधि अवलम्बन गरियोस् ।
४– कालोपत्र भएलगत्तै सडक भत्केर काम नलाग्ने अवस्थामा पुगेकाले सम्बन्धित निकायबाट छानवीन गरी यसको कारण र दोषी पत्ता लगाइ जनसमक्ष सार्वजनिक गरी दोषीमाथि कारवाही गरियोस् ।
५–कटुवाखोला पुलदेखि खानीसम्मको सडक खाल्डाखुल्डी हुँदा धुलो धुँवाले वरिपरिका बासिन्दाको जीविकोपार्जनमा समस्या सिर्जना भएको तथा जथाभावी ढुवानीका साधन चल्दा सडक जोखिम बढ्न गएको र विद्यालय जानआउन कठिनाइ भएकाले नेपालको संविधानअनुसार स्वच्छ वातावरणमा जनताको बाँच्न पाउने अधिकार सुनिश्चित गरियोस् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।