नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग भएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी सम्झौता) संसदबाट अनुमोदन भएपछि यसबाट हुने विकास कार्यको खोजी हुन थालेको छ ।
सम्झौताअनुसार नेपालले ५० करोड अमेरिकी डलर अनुदान परियोजना कार्यान्वयनका लागि पाउनेछ। ५० करोड अमेरिकी डलर नेपाललाई अत्यावश्यक पूर्वाधार मानिएको ४०० केभी प्रसारणलाइन निर्माण र पूर्व–पश्चिम राजमार्गको अर्घखाँची र दाङमा पर्ने ७७ किमि सडक मर्मत तथा विस्तारमा खर्च गर्ने तयारी छ।
एमसीए नेपालले ५ करोड २२ लाख अमेरिकी डलर पूर्व–पश्चिम राजमार्गको ७७ किमि ४ लेनको बनाउन खर्च गर्दै छ। यसका लागि उसले सडक विभागसँग परामर्श गरी एमसीसी अनुदान कार्यान्वयनका क्रममा काम गरिने सडकखण्डहरूको छनोट गरिसकेको छ।
एमसीए नेपालले सडक विभागसँगको सहमतिमा पूर्व–पश्चिम राजमार्गअन्तर्गतको धनखोलादेखि शिवखोलासम्मको सडक ४ लेनको विस्तार हुने जनाएको छ।
आयोजनाले प्रथम चरणमा परीक्षणका रूपमा पूर्व–पश्चिम राजमार्गको धानखोला–लमही करिब ४० किमि सडक खण्ड र लमही – शिवखोला खण्ड ३७ किमि सडक मर्मत तथा विस्तार हुनेछ।
‘पूर्व–पश्चिम राजमार्गअन्तर्गतको ७७ किमि सडक ४ लेनको बनाउँदै छौँ’, एमसीए नेपालका सूचना अधिकारी राजिब दाहालले भन्नुभयो– ‘२ लेन मात्रै भएकोलाई ४ लेनमा विस्तार गर्छौँ। ४ लेनमा भएकोलाई स्तरोन्नति गर्छौँ।’
दाहालले सबै काम ५ वर्षभित्र गरिसक्नुपर्ने बाध्यता रहेकाले नयाँ प्रबिधि ल्याउने तयारी गरिएको बताउनुभयो । सडक विस्तारअन्तर्गत आयोजनाले विशेष रूपमा ‘फुल डेप्थ रिक्लेमेसन र ‘सुपेरियर पर्फर्मिङ आस्फाल्ट पेभमेन्ट सुपरपेभ’ जस्ता नयाँ प्रविधिहरूलाई नेपालमा पहिलो पटक प्रयोग गर्नेछ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।