कोरोना कहर शुरु भएसँगै दाङमा रगत अभाव हुन थाल्यो ।
लकडाउनको बेलामा घरबाहिर निस्कन पनि मुस्किल थियो, त्यतिबेला युवाहरुलाई रक्तदानमा प्रेरिरत गर्न उहाँले अभियान नै थाल्नुभयो ।
झण्डै तीन महिनाको बीचमा एक हजार युवालाई रक्तदान गर्न लगाएर कोरोना कहरसँगै शुरु भएको रगत अभाव पूर्ति गर्न उहाँले महत्वपूर्ण योगदान गर्नुभयो ।
रगत अभाव पूरा भएपछि बजारमा मास्क नलगाएर हिड्ने मान्छेहरु देखिन थाले । यसबाट अझ बढी कोरोना संक्रमण हुने खतरा देखेर उहाँले मास्क वितरण अभियान थाल्नुभयो । शुरुमा थोरै मास्कले पुगिहाल्छकि भन्ने लागे पनि उहाँले केही महिनाकै बीचमा एक लाख भन्दा बढी मास्क वितरण गर्नुभयो ।
लकडाउनको बेलामा रक्तदानदेखि मास्क वितरण अभियान थालेका दाङका युवा अगुवा मदन पुनले अहिले पुनः घोराहीमा मास्क वितरण अभियान शुरु गर्नुभएको छ ।
उहाँले झण्डै पन्ध्र दिन चल्ने गरी अभियान थाल्नुभएको छ । त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका कर्मचारी पुनले दोस्रो चरणको मास्क वितरण अभियान थाल्नुभएको हो ।
पहिलो दिन नवलपुरमा पाँच सय थान र दोस्रो दिन निमाहल रोडमा सात सय थान मास्क वितरण गरिएको उहाँले जानकारी दिनुभयो । पन्ध्र दिनको बीचमा झण्डै पचास हजार मास्क वितरण गर्ने उहाँले जानकारी दिनुभयो ।
‘घोराही बजारका सडकमा भेटिने कोही पनि व्यक्ति मास्कविहीनरुपमा नहिडून् भनेर यो अभियान थालेको छु’– उहाँले भन्नुभयो– ‘पहिले लकडाउनको क्रममा झण्डै एक लाख थान मास्क वितरण गरिसकेको छु, यो सबै काम मैले कतैबाट सहयोग लिएर होइन, स्वयंसेवाको दृष्टिले गरिरहको छु ।’
साविक स्यूजा १ स्थायी घर भइ हाल घोराही १८ नवलपुरमा बसोबास गर्ने पुनको सो अभियानमा करीब दश जना स्वयंसेवी युवाले साथ दिएका छन् । ‘दैनिक पाँचदेखि दश जनासम्म स्वयंसेवी युवाहरुले मास्क वितरणमा सहयोग गरिरहनुभएको छ, सो क्षेत्रमा खटिन् प्रहरीहरुले पनि सहयोग गरिरहनुभएको छ’– पुनले भन्नुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।