• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
देउवाका ‘सेकेण्डम्यान’ शर्मा पहिलोपटक सांसद बने




कुनैबेला कांग्रेसभत्रि तीन लाइन थियो । त्यतिबेला बिपी कोइरालाले लिएको सशस्त्र संघर्षको लाइनका समर्थक बनेका बाँकेका युवराज शर्मा निरन्तर राजनीतिमा पछाडि पारिदै आउनुभयो । बिपीका कट्टर अनुयायी र बिपीसँग सहकार्य गरेको बताउने शर्मा कुनैबेला शेरबहादुर देउवाका सेकेण्डम्यानको रुपमा रहनुभएको थियो ।

बिसं २०२८ सालमा देउवा नेविसंघको केन्द्रीय अध्यक्ष बन्दा शर्मा उपाध्यक्ष बन्नुभएको थियो । तर, पार्टीभित्र क्रान्तिकारी लाइनको वकालगत गर्ने र सँधै सांस्कृतिक रुपान्तरणको पक्षमा कुरा गर्ने शर्मा देउवा पाँच पटक प्रधानमन्त्री भइसक्दा बल्ल राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँ सत्ता गठबन्धनको तर्फबाट लुम्बिनी प्रदेशमा उम्मेदवार भएर सांसद बन्नुभएको छ ।

राष्ट्रियसभा सदस्यमा जितेलगत्तै कर्मचारी मिलनकेन्द्र अगाडिको सडकमा उहाँले केहीवेर सम्बोधन गर्नुभयो र अन्तिममा सबैलाई ‘जय नेपाल र लाल सलाम’ भनेर टुंग्याउनुभयो । कार्यकर्ताले ‘लाल सलाम किन दाई’ भनेपछि उहाँले गठबन्धनको उम्मेदवार भएकाले भन्ने जवाफ दिनुभयो र अन्य कम्युनिष्ट उम्मेदवारहरुले पनि त्यसमा समर्थन जनाउँदै ‘जय नेपाल’ पनि भने ।

तर, शर्माको केही दिनअघि घोराहीकै सिटी प्लाजामा भएको चुनावी प्रचार कार्यक्रमको सम्वोधनमा उहाँले क्रान्तिकारी छवि प्रस्तुत गर्नुभएको थियो । सो क्रममा उहाँले नेपालमा प्रजातान्त्रिक आन्दोलन सफल पार्न कांग्रेस र कम्युनिष्ट मिलेजस्तै समाजवादी आन्दोलन पूरा गर्न पनि कांग्रेस र कम्युनिष्टबीचको सहकार्य जरुरी रहेको बताउनुभएको थियो ।

उहाँले बिपी माक्र्सवादी लेनिनवादी भएको पनि बताउनुभएको थियो । उतिबेला बिपीले पुष्पलालसँग ‘म आर्थिक कार्यक्रम बनाउँछु, तपाइँ राजनीतिक कार्यक्रम बनाउनुस् दुबै दल मिलेर जाऔं’ भन्ने प्रस्तावसमेत गरेको उल्लेख गर्दै बिपीकै लिगेसीमा अघि बढेको कांग्रेस र माक्र्सवाद लेनिवाद स्वीकार गरेको कम्युनिष्टबीच समाजवादी आन्दोलनमा तालमेल हुनुपर्ने बताउनुभएको थियो ।

मतदाताहरुसँग मत माग्न आयोजित सो कार्यक्रममा अहिले कम्युनिष्टहरु कम्युनिष्ट जस्ता नभएको भन्दै तीखो टिप्पणी पनि गर्नुभएको थियो । बिपीको नेतृत्वमा आफूहरुले छोटो समय पनि सशस्त्र युद्ध टिकाउन नसकेको औल्याउँदै उहाँले माओवादीले प्रचण्डको नेतृत्वमा दश बर्षसम्म युद्ध टिकाएर सफल बनाउनु निकै ठूलो प्रयोग भएको र यसले नेपाली समाजलाई नयाँ ठाउँमा पुर्याएको पनि शर्माले बताउनुभएको थियो । तर, माओवादीले युद्धकालमा लिएको परिवर्तनको एजेण्डा र त्यतिबेला गाउँगाउँ र वस्तीवस्तीका आधारभूत वर्गबाट स्थापित नेतृत्व बचाउन नसक्नु ठूलो समस्याको रुपमा बताउनुभएको थियो ।

नेविसंघका तत्कालिन सभापति देउवा दोस्रो पटक पार्टी सभापति र पाँचौ पटक प्रधानमन्त्री हुँदा तत्कालीन उपसभापति शर्मा पहिलो पटक संसद बन्नुभएको छ । उहाँ पछाडि पर्नुको मुख्य कारण उहाँको आलोचनात्म चेत र क्रान्तिकारी छवि नै भएको नजिकबाट चिन्नेहरु बताउँछन् ।

२०४६ सालको जनआन्दोलनका बेला शर्मा कांग्रेस बाँकेको सभापति बन्नुभएको थियो । त्यसपछि भने महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यबाहेक शर्मा न पार्टीको कार्यकारी भूमिकामा नै रहनुभयो, न कुनै राजकीय पदमा नै पुग्नुभयो ।

बिपीको निधनपछि तत्कालीन कोइराला परिवारबाट नरुचाइएकाले उहाँ राजनीतिमा पछि परेको उहाँलाई नजिकबाट चिन्नेहरु बताउँछन् । २०५१ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा बाँके–२ मा कांग्रेसबाट विद्रोह गरेर शर्माले उम्मेदवारी दिनुभएको थियो । उहाँले विद्रोह गरेकै कारण उक्त निर्वाचनमा सुशील कोइराला पराजति भएपछि अझ बढी उहाँ पछि परेको एक नेताले बताए । सो बिद्रोहपछि पार्टीले पाँच बर्षका लागि कारवाही गरे पनि शर्मा कांग्रेसमै रहनुभयो र पार्टीभित्र निरन्तर वैचारिक संघर्ष गर्दै आउनुभयो ।

Facebook Comments