हिमपातका कारण फसेका मजदुरहरूको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्माका १४ मजदुर घोडेटो बाटो बनाउनका लागि गाउँ भन्दा दुई दिन माथिको क्षेत्रमा गएका थिए ।
काम गर्ने क्रममा हिउँ परेपछि घर फर्कन नपाएका उनीहरुलाई हेलिकोप्टर मार्फत उद्धार गरी ल्याइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए ।
घोडा पालन गर्ने र खच्चड उत्पादन गरेर बिक्री गर्ने उद्देश्यका साथ घोडा पालन गर्ने ठाउँसम्मको बाटो निर्माणका लागि उनीहरु त्यसतर्फ गएका थिए । खाने कुरा सकिदै गएको र हिउँ पनि पग्लने अवस्था नभएपछि उद्धार गरिएको प्रजिअ बाँस्कोटाले बताए । उनीहरुलाई सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको थियो ।
उद्धार गरिएका सबै मजदुरको अवस्था सामान्य रहेको प्रजिअ बाँस्कोटाले जानकारी दिए । गत मंगलबार रातिबाट बुधबार रातिसम्म हिमपात भएको थियो । हिमपात भएको लामो समयसम्म काममा गएकाहरु नफर्किएपछि घरपरिवार र गाउँलेले उद्धारका लागि आग्रह गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।