• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शिक्षितहरु नै गर्छन् प्रजनन स्वास्थ्यमा लापरबाही




घोराही २, पुस । शारीरिक स्वस्थता, कामको योजना तथा सामाजिक विकासका लागि व्यवस्थित परिवार नियोजन अपरिहार्य रहेपनि अझै धेरैले असुरक्षित रुपमा परिवार नियोजनका साधन अपनाउने गरेका छन् । यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको नेपाल परिवार नियोजन संघ, दाङ शाखाका अनुसार पढेलेखेका, जाने बुझेकाहरुबाट नै बढी मात्रामा लापरवाही हुने गरेको देखिएको छ ।

पछिल्लो ४ वर्षको तथ्यांक हेर्ने हो भने, ८०१ जनाले स्थायी बन्ध्याकरण गरेका छन् भने ईच्छा विपरित गर्भ रही स्वास्थ्य संस्थामा गई गर्भपतन गराउनेको संख्या झण्डै तेब्बर छ । जसमा १४३ जना पुरुषले स्थायी बन्ध्याकरण गराउँदा ६ सय ५८ जना महिलाले परिवार नियोजनको स्थायी बन्ध्याकरण गरेको तथ्यांक छ । शाखा प्रबन्धक बसन्त खनालका अनुसार, अझै पनि विभिन्न खालका अन्धविश्वास, यौन शक्तिमा कमी, भ्रमका कारण मानिसहरु सन्तानको रहर पूरा भएपनि स्थायी बन्ध्याकरणका लागि ईच्छुक हुन नसकेको बताए । महिलाको भन्दा पुरुषको बन्ध्याकरण गर्दा छिटो र सहज रुपमा हुने गर्दछ । यद्यपि, पुरुषमा विद्यमान अन्धविश्वास, यौन चाहनामा कमि हुने मनोविज्ञानलाई संस्थाका तर्फबाट हटाउन धेरै खालका सचेतनामुलक कार्यक्रम जारी रहेपनि अझै धेरै गर्नुपर्ने अवस्था रहेको जानकारी दिए ।

उनका अनुसार स्थायी बन्ध्याकरण गर्दा यौन सन्तुष्टि अझ बढी हुने, शारीरिक समस्या नहुने हुँदा ढुक्कका साथ सुरक्षित जीवनका लागि स्थायी बन्ध्याकरण रोज्नु नै उत्तम हो । यस्तै, पुरुषभन्दा महिलाहरुले आफुले नै स्थायी बन्ध्याकरण गर्ने गरेका बताउनुभयो । पुरुषहरु घरबाहिरको काममा जानु पर्ने, उनीहरुमा शारीरिक समस्या नआओस् भनेरै महिलाहरु स्वयं स्थायी बन्ध्याकरणका लागि अघि सर्ने गरेका बताए । ‘अधिकांश महिलाले नै पुरुषलाई स्थायी बन्ध्याकरणका लागि पछि सारेको अवस्था छ । जे हुन्छ म सहन्छु भन्ने मान्यताका कारण पनि महिलाहरुले उल्लेख्य रुपमा बन्ध्याकरण गर्ने गरेका छन्,’ उनले भने । बन्ध्याकरण श्रीमान श्रीमतिको सहमतिमा जसले गरेपनि हुन्छ भन्ने मनोविज्ञान भने केही समयमा बिस्तारै बढ्न थालेको उनको भनाई छ । परिवार नियोजन संघ दाङ शाखाबाट सन् २०१७ मा २६ जना पुरुषले बन्ध्याकरण गरेका छन् भने १६५ जना महिलाले मिनिल्याप गरेका छन् ।

यस्तै, २०१८ मा ४८ जना पुरुषले बन्ध्याकरण गर्दा १६९ महिलाले मिनिल्याप गरेका छन् । यस्तै, २०१९ मा १५ जना पुरुषले बन्ध्याकरण गर्दा १६८ जना महिलाले मिनिल्याप गरेका छन् । २०२० मा १७ जना पुरुषले बन्ध्याकरण गर्दा ४४ जना महिलाले मिनिल्याप गरेका छन् । यो वर्ष कोरोना महामारीका कारण स्थायी बन्ध्याकरणको शिविर संचालन हुन सकेको थिएन । यस्तै, २०२१ मा हालसम्म ३७ जना पुरुषले बन्ध्याकरण गरिसकेका छन् भने ११२ जना महिलाले मिनिल्याप गरेका शाखा प्रबन्धक खनालले जानकारी दिए । स्थायी बन्ध्याकरण गर्ने भन्दा अस्थायी परिवार नियोजनका साधन अपनाउने, असुरक्षित यौन सम्पर्कका कारण गर्भ रहन गई गर्भपतन गर्नुपर्नेसम्मको अवस्थामा पुग्नेको संख्या अझ डरलाग्दो छ । परिवार नियोजन संघका अनुसार जिल्लाका सुचिकृत स्वास्थ्य संस्थाहरुमा गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ । पछिल्लो ४ वर्षको अवधिमा परिवार नियोजन संघको सम्पर्कमा आई गर्भपतन गराउनेको संख्या २ हजार ७ सय ८६ रहेको छ । जसमा औजारको प्रयोग गरी १ हजार १ सय ९० जना रहेका छन् भने औषधीको प्रयोग गरी गर्भपतन गराउनेको सख्या १ हजार ५ सय ९६ रहेको प्रबन्धक खनालले बताए । सानो लापरवाहीले शारीरिक, मानसिक, आर्थिक समस्या झेल्न बाध्य भएपनि अझै धेरैले गलत बाटो रोज्दा यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा उल्लेख्य सुधार गर्न चुनौतिपूर्ण रहेको छ । विद्यालयबाटै यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा बालबालिकाहरुलाई स्पष्ट जानकारी दिने उद्देश्यले विभिन्न चरणमा अभियानसमेत भईरहेकाले आगामी दिनमा सुधारका राम्रा संकेत आउन सक्ने अपेक्षा गरिएको उनको भनाई छ । ‘अहिलेको एक रुपैयाँ लगानीले ३ रुपैयाँ प्रतिफल दिने भएपनि अझै धेरैमा विभिन्न खालका भ्रम र अन्धविश्वासले जरा गाडेको छ । यौन तथा प्रजननका विषयमा स्पष्ट हुन सकेमात्रै परिवारलाई मात्रै होईन, समाज र राष्ट्रका लागि ठूलो योगदान पुग्नेछ,’ उनले भने, ‘कण्डम र आईयुसिडी बाहेक अरु अस्थायी साधनले मानिसको शरीरमा गम्भीर असर गर्छ तर, मानिसहरु लापरवाही गरेर यिनै साधनको भर पर्छन् र अन्तिममा धोका खान्छन् ।

यसले शारीरिक, मानसिक र आर्थिक क्षति गर्छ ।’ स्वस्थ नागरिक उत्पादन र दीगो विकासको लक्ष्य प्राप्तिका लागि पनि यौन तथा प्रजननका क्षेत्रमा सुधार हुन आवश्यक छ । जसलाई सघाउ पुर्याउन नेपाल परिवार नियोजन संघले हरेक वर्ष यौन तथा प्रजननका विषयमा शिविर संचालन गर्दै आएको छ । जिल्लाका ८ स्थानमा स्थायी बन्ध्याकरण घुम्ती शिविर चल्दै यो पटक पनि दाङका विभिन्न ८ स्थानमा स्थायी बन्ध्याकरण घुम्ती शिविर शुरु गरिएको छ । स्वास्थ्य कार्यालय दाङ र नेपाल परिवार नियोजन संघ दाङको संयुक्त आयोजनामा अनुभवी विशेषज्ञ डाक्टरसहितको टोलीले स्थायी बन्ध्याकरण घुम्ती शिविर गरिरहेको शाखा प्रबन्धक खनालले जानकारी दिए । विषय विशेषज्ञसहित १० जना परिवार नियोजन संघको टोलीले अहिले स्थायी बन्ध्याकरण शिविर संचालन गरिरहेको उनले बताए । परिवार नियोजन संघ दाङ शाखाका अनुसार, पुस १ गतेदेखि ३ गतेसम्म नेपाल परिवार नियोजन संघ दाङ शाखा घोराहीमा, पुस ४ र ५ गते सिसहनियाँ स्वास्थ्य चौकी सिसहनियाँमा, पुस ६ र ७ गते गढवा स्वास्थ्य चौकी गढवामा, पुस ८ र ९ गते लमही अस्पताल लमहीमा, ११ गते पञ्चकुले स्वास्थ्य चौकी पञ्चकुलेमा, पुस १२ गते श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्र, श्रीगाउँमा, पुस १३ र १४ गते राप्ती लाईफकेयर हस्पिटल तुलसीपुरमा र पुस १६ गते बंगलाचुली अस्पताल कमिरेचौरमा स्थायी बन्ध्याकरण शिविर हुन लागेको छ ।

वर्षमा एक पटक मात्रै स्थायी बन्ध्याकरण शिविर हुने हुँदा सन्तानका रहर पुगेका तथा स्थायी बन्ध्याकरण गर्न इच्छुकले यसको लाभ उठाउन सक्ने बताइएको छ । यो सेवा लिन कुनै शुल्क नलाग्ने तथा स्थायी बन्ध्याकरणपश्चात घरसम्म लैजाने पुर्याईदिने व्यवस्थासमेत रहेको नेपाल परिवार नियोजन संघ दाङ शाखाले जनाएको छ । सेवा लिन जिल्ला बाहिर जानू पर्ने अवस्था आएमा झञ्झटिलो र खर्चिलो हुने हुँदा स्वस्थ नागरिक बन्न र यौन तथा प्रजनन् स्वाथ्यका क्षेत्रमा उदारता देखाउँदै सकारात्मक सन्देश प्रभाव गर्न संस्थाले सबैमा अपिल पनि गर्दै आएको छ ।

Facebook Comments