• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एमाले अनुशासन आयोग सदस्य डा. गिरीद्वारा पार्टी परित्याग, एकीकृत समाजवादीलाई समर्थन




नेकपा एमालेका केन्द्रीय अनुशासन आयोग सदस्य तथा महाधिवेशन प्रतिनिधि डा. अमर गिरीले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । यो त्यागसँगै उहाँले नेकपा एकीकृत समाजवादीलाई समर्थन गर्ने घोषणा पनि गर्नुभएको छ ।

प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष समेत रहनुभएका डा. गिरीले एमालेको दक्षिणपंन्थी विचलनबिरुद्ध निरन्तर लड्दै आएको उल्लेख गर्दै सो प्रवृत्ति अब सच्याउनै नसक्ने गरी बढेको बताउनुभएको छ ।

नवौं महाधिवेशनबाट पारित नीति कार्यक्रमको मर्म विपरीत पार्टीमा दक्षिणपन्थी प्रवृत्ति, नेतृत्वको देवत्वकरण, यथास्थितिवादी चिन्तन, सम्झौतावादी प्रवृत्ति, नैतिक मूल्यको गम्भीर क्षय, सांस्कृतिक राष्ट्रवाद, निवर्गीय चिन्तन, आदर्शवादी दृष्टिकोणमा बृद्धि भएको र यसको केन्द्रमा केपी शर्मा ओली रहेको डा. गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेपछि पनि ओलीको दक्षिणपन्थी यात्रामा विराम लागेन’– विज्ञप्तिमा भनिएको छ– ‘अन्ततः यो यात्रा संसद बिघठन र पार्टी विभाजनसम्म पुग्यो ।’

त्यसपछि एमाले र माओवादी पुरानै पार्टीको रुपमा अस्तित्वमा आएको मात्रै नभई एमाले पनि विभाजित भएको उल्लेख गर्दै उहाँले यही कारण मुलुक राजनीतिक अस्थिरतातर्फ मोडिएको टिप्पणी गर्नुभएको छ ।

बिभाजनपछि भएको विधान महाधिवेशन कमजोरी सच्याएर अघि बढ्ने महाधिवेशनको रुपमा लिनुपर्नेमा राजनीतिक वैचारिक बिषयमा गम्भीर छलफल नै नगरी औपचारिक कर्मकाण्डमा मात्रै सीमित गरिएको, कार्यकर्ताको भीडभाड र पार्टी अधयक्षको ब्रिफिङमै सीमित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

दशौं महाधिवेशनमा पनि राजनीतिक वैचारिक छलफल र बिगतको सिंहावलोकन गर्नेतर्फ कुनै संकेत नदेखिएको स्पष्ट गर्दै विज्ञप्तिमा यो नेतृत्व चयनमै केन्द्रित रहेर सकिने उल्लेख छ । ‘अब एमालेमै बसेर यसमा देखापरेको दक्षिणपन्थी विचलनका विरुद्ध संघर्ष गर्ने र यसलाई सच्याउन आधार यहाँसम्म आइपुग्दा समाप्त भएको छ’– विज्ञप्तिमा भनिएको छ ।

समयले ओलीको दक्षिणपन्थी यात्राविरुद्ध संघर्ष गर्दै रुपान्तरणको झण्डा उठाउने माधव नेपाल र झलनाथ खनाललगायत हजारौं नेता कार्यकर्ताको कदमलाई सही सावित गरेको उल्लेख गर्दै उहाँले आफूले पनि एमाले परित्याग गरी नेकपा एकीकृत समावादीलाई समर्थन गरेको उल्लेख गर्नुभएकोछ ।

Facebook Comments