• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादी वडा अध्यक्ष स्नातक महिला भन्छिन्– सचेत र शिक्षित महिला राजनीतिमा आउनुपर्छ




दाङमा नेकपा माओवादी केन्द्रले ९७ वटा वडाको वडा सम्मेलन गर्दा दुई जना महिला अध्यक्षमा निर्वाचित भएका छन् । सबै वडामा ३५ प्रतिशत महिला नेतृत्वमा आए पनि अध्यक्षमा भने घोराही उपमहानगरपालिका २ की लेखा अधिकारी र राप्ती गाउँपालिका ८ की मञ्जु कार्की मात्रै अध्यक्ष बन्न सफल हुनुभयो ।

लेखा अधिकारी लामो समयदेखि राजनीतिक आन्दोलनबाट स्थापित भएर आउनुभएको हो भने मञ्जु कार्की शान्ति प्रक्रियासँगै राजनीतिमा जोडिनुभएको हो । उहाँले यसअघि शिक्षाशास्त्रमा स्नातक गरेर स्वास्थ्य बिषयमा स्नातकोत्तरसम्म अध्ययन पनि गर्नुभएको छ ।

बिगत जनयुद्धको समयमा ठूलो संख्या महिला नेता कार्यकर्ता भए पनि पछिल्लो समयमा महिलाहरुको राजनीप्रतिको आकर्षण कमै देखिन्छ । त्यसो त जनयुद्धमै लागेका पनि कयौं महिलाहरु राजनीतिबाट टाढा भएर घरधन्दा र अन्य काममा सक्रिय हुन थालेका छन् ।

संभवतः यो अवस्था देखेर पनि हुनुपर्छ माओवादी केन्द्रले विधान परिवर्तन गरेर यो पटकदेखि हरेक कमिटीमा ३५ प्रतिशत महिला नेता स्थापित गर्ने नीति लिएको छ ।

यही विधानको पहिलो कार्यान्वायनस्वरुप भएको वडा सम्मेलनबाट लुम्बिनी प्रदेशको स्थायी राजधानी रहेको राप्ती गाउँपालिका वडा नम्बर ८ को अध्यक्षमा शिक्षित महिला मञ्जु कार्की निर्वाचित हुनुभएको छ । २९ सदस्यीय गाउँ समितिमा १७ जना महिलासहित अध्यक्ष बनेकी मञ्जु भन्नुहुन्छ– ‘अब राजनीतिमा शिक्षिक र सचेत महिलाहरु आउनुपर्छ, ५१ प्रतिशत महिला रहेको देशमा सबै तहका नीति निर्माण तहमा महिला सहभागिता कमजोर हुँदा हामी देश बनाउन सक्दैनौं ।’

अध्यक्ष भएपछि उहाँले तत्काल दुई वटा योजना बनाउनुभएको छ– वडामा पार्टी सदस्य संख्या विस्तार गर्ने र जतिसक्यो धेरै महिलाहरुलाई राजनीतिमा अघि सार्ने । ‘मेरो वडामा १२५ जना पार्टी सदस्य हुनुहुन्छ, म यसलाई दोब्बर बनाउन चाहन्छु’– उहाँले भन्नुभयो– ‘त्यसमा पनि बढी महिलाहरु नै राजनीतिमा आउन भन्ने मेरो चाहना छ ।’

अब महिलाहरु चुलोचौकामा सीमित भएर पुरुषको मात्रै भर परेर महिलामुक्ति संभव नभएको उहाँको बुझाइ छ । पार्टीनिकट महिला संगठन गाउँपालिका सचिवसमेत रहनुभएका मञ्जुले भन्नुभयो– ‘अब हरेक घर परिवारले पनि महिलालाई राजनीतिक र सामाजिक क्षेत्रमा अघि बढाउन योजना बनाउनुपर्छ, जसका लागि यहाँ राजनीतिक उपलपब्धि प्राप्त भएको छ, त्यसको संरक्षण र कार्यान्वायनका लागि पनि सम्बन्धित पक्ष नै अघि बढ्नुपर्छ ।’

चुलोचौकोमा सीमित रहेका महिलालाई माओवादी जनयुद्धले बन्दुक बोक्ने र नीति निर्माण गर्ने तहमा पुर्याएको औल्याउँदै उहाँले अब आफैले ल्याएको परिवर्तनको रक्षा र कार्यान्वायनमा महिलाहरु थप लाग्नुपर्ने बताउनुभयो । ‘मैले धेरै महिलाहरुलाई भेटेको छु, गाउँका महिला राजनीति गर्ने काम त पुरुषको हो भन्ने ठान्छन् भने शहरका महिला घर परिवार र आफ्नो पेशा ब्यवसायबाट बाहिर निस्कन चाहदैनन्’– उहाँले भन्नुभयो– ‘आधा आकाश र आधा घर्ती ढाकेका महिलाहरु अब राजनीतिक नेतृत्वमा नआएर देश बन्दैन भन्ने बुझाउनु मेरो मुख्य काम हुने छ।’

Facebook Comments