• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
देशलाई आत्मनिर्भर बनाउन पुष्पखेती महत्वपूर्णः अर्थमन्त्री




अर्थमन्त्री जनार्दन शर्माले पुष्प खेती मुलुकलाई आत्मनिर्भर बनाउने अर्थमा निकै महत्वपूर्ण रहेको बताउनु भएको छ ।

शुक्रबार ललितपुरमा १४औं गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्नुहुँदै उहाँले पुष्प व्यवसाय उत्पादनको क्षेत्रमा महत्वपूर्ण रहेको बताउनुभएको हो ।

‘देशको अर्थतन्त्रमा टेवा पु¥याउने, व्यापार घाटामा योगदान गर्ने र देशलाई आत्मनिर्भर बनाउने अर्थमा पुष्प खेतीको अत्यन्त महत्व छ’, उहाँले भन्नुभयो, ‘यसलाई बढी आम्दानी हुन सक्ने नगदे बाली वा खेतीको रूपमा यसलाई लिनुपर्छ, लिइरहेका छौँ ।’

फूलमा मुलुक आत्मनिर्भर उन्मुख भएको बताउनु हुँदै मन्त्री शर्माले अर्को वर्षदेखि आयात नगर्नुपर्ने गरी संकल्प गरेर अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले केही प्रतिशत अन्य मुलुकबाट बर्सेनि फूल भित्रिरहेकाले आगामी वर्षदेखि आत्मनिर्भर हुने गरी पुष्प कृषक, व्यवसायी तथा सरोकारवालालाई संकल्प गर्न आग्रह गर्नुभएको हो ।

मन्त्री शर्माले फूल नेपालीको संस्कृतिसँग पनि जोडिएकाले निकै महत्वपूर्ण रहेको बताउनु भएको छ । ‘कतिपय समाजमा फूलको सम्बन्ध व्यवसायसँग मात्र होला’, उहाँले भन्नुभयो, ‘तर हाम्रो समाजमा यो व्यवसायसँग मात्रै छैन, हाम्रो संस्कृतिसँग पनि यसको सम्बन्ध छ । हाम्रो समाजमा जन्मिएका बेला फूलबाट स्वागत गरिन्छ, मृत्युपछि पनि यसैबाट विदाई गरिन्छ ।’

फ्लोरिकल्चर एशोसिएसनले बर्सेनि प्रदर्शन आयोजना गर्दै आएको गोदावरी पुष्प प्रदर्शनी यस वर्ष शुक्रबार (आज) बाट सोमबारसम्म चल्ने बताइएको छ । प्रदर्शनीमा गोदावरी पुष्पसँगै विश्वभर चलेका फुलहरू, पुष्प खेती गर्दा आवश्यक पर्ने औजार, मललगायत राखिएको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मिनबहादुर तामाङले बताउनुभयो ।

अध्यक्ष तामाङले प्रदर्शनीको अवलोकन ३५ हजार बराबरले गर्ने अनुमान गरिएको जानकारी दिनुभयो । त्यस्तै ५० लाखभन्दा बढीको व्यापार हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो । अध्यक्ष तामाङका अनुसार आर्थिक वर्ष २०७६÷०७७ को प्रदर्शनीमा ७३ लाखको व्यापार भएको थियो ।
अघिल्लो वर्ष भने कोरोना महामारीका कारण प्रदर्शनी स्थगित भएको थियो ।

Facebook Comments