नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाको सर्लाही इन्चार्ज कुमार पौडेलको इन्काउन्टर प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल र प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता भएको छ ।
बुधबार सरकारी वकिलको कार्यालयले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पूर्वगृहमन्त्री बादल र पूर्वआईजीपी खनालविरुद्ध जाहेरी दर्ता गरेको सर्लाही प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले जानकारी दिए ।
विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज पौडेल प्रहरी इन्काउन्टरमा ५ असार २०७६ मा मारिएका थिए । यही प्रकरणमा तत्कालीन गृहमन्त्री बादल र पूर्वप्रहरी महानिरीक्षक खनाल पनि जोडिएका हुन् । पौडेल परिवार र विप्लव समूहले कुमारलाई प्रहरीले नियन्त्रणमा लिएर मारेको दाबी गर्दै उतिबेलै प्रहरीमा जाहेरी दिन खोजे पनि जाहेरी दर्ता भएको थिएन ।
त्यसपछि कुमारकी श्रीमती दुर्गादेवी उजुरी दर्ताको माग दिएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले उजुरी दर्ता गरेर अनुसन्धान थाल्न १२ असोजमा आदेश दिएको थियो ।
तीन वर्ष गृह मन्त्रालय हाँकेका बादल र १ वर्ष १० महिना प्रहरी संगठनको नेतृत्व गरेका खनाल नक्कली इन्काउन्टर प्रकरणमा अनुसन्धानमा तानिने आधार तयार भएको छ । राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन गृहमन्त्री बादल र प्रहरी प्रमुख खनालले नियोजित रूपमा कुमार पौडेलको हत्या गरेको रिपोर्ट तयार गरेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।