रोल्पा । रोल्पामा जीर्ण अबस्थामा रहेको विद्यालयको भवन भत्किएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिक १ रिठाबोटमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको भवन भत्किएको हो ।
रुन्टीगढी गाउँपालिकाले आइतबारदेखि विद्यालय खोल्ने भनी सबै विद्यालयलाई अनुरोध गरपनि नेपाल राष्ट्रिय माविको भवन भने वर्षातका कारण गत भदौ ३ गते नै भत्किएको हुँदा पठनपाठन गर्न सकिन्छ कि सकिदैन भन्ने चासोको बिषय बनेको स्थानीयहरुले बताएका छन् ।
विकासका पूर्वाधार मध्यकै प्रमुख विद्यालय भएकोले स्थानीय सरकारले विद्यालयमा लगानी गर्नु पर्ने हो, तर पुराना भवनहरुको मर्मत संभार नहुदा जीर्ण बन्दै गएको स्थानीय तेजबहादुर केसीले बताए । यस क्षेत्रका विद्यालयहरू २०२२ सालमा स्थापना भएतापनि हालसम्म पनि भवनको स्वरुप नफेरिनु दु:खद बिषय भएको समेत उनले बताए । स्थानीय तहले विकासको नाम बजेट जति बाटो लगायत अन्य क्षेत्रमा लगानी गर्नाले शैक्षिक क्षेत्रहरूका अबस्था सुधार नहुनु र बिद्यालय जानका लागि विद्यार्थीहरु २/३ घण्टा हिड्नु पर्ने वाध्यता रहेको उनको भनाई छ ।
विद्यालयका प्रअ झक्कु वलीले रोल्पाकै बिकट र नाजुक अबस्था रहेको विद्यालयको भवन अविरल वर्षाका कारणले भत्किएको बताए । १० वटा कक्षाकोठा भएको दुईतले विद्यालको भवन माटो र ढुंगाले बनेको र भवन पुरानो भइ पानी चुहिने भइसकेको हुँदा वर्षातले गर्दा भवनका दुईवटा कोठा भत्किएको उनले बताए । कोभिडका कारण विद्यालय बन्द भएको हुँदा भवन भत्किएर कुनैपनि मानवीय क्षति नभएको तर, फर्निचरहरुमा केही क्षती भएको र पुरानो भवनका सबै कोठाहरुमा चर्किएको अबस्थामा रहेको समेत उनको भनाई छ ।
भवन भत्किएको बारेमा अनुगमनका लागि स्थानीय सरकारलाई पत्र पठाइ सकेको भएतापनि सोको बारेमा अझैसम्म आफुहरुलाई केही जानकारी प्राप्त नभएको प्रअ झक्कु वलीले बताए । यो बिद्यालय २०२२ सालमा स्थापना भएको र हाल माविसम्म पठनपाठन भइरहेको छ , उनलेे भने । यो विद्यालयमा बिकट ठाउँमा भएकालेे २ घण्टाको बाटो हिडेर विद्यार्थीहरु पढ्न आउने गरेको छन् ।
बर्सेनी रुपमा करिब ३ सय भन्दा बढी विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेको विद्यालयमा अधिकांश शिक्षकहरु निजि स्रोतमा राखिएको विद्यालयले जनाएको छ । रोल्पाकै बिकट ठाउँमा रहेको विद्यालयको भवन जीर्ण बन्दै गइरहेको विषयमा सम्बन्धित निकायहरुलाई जानकारी गराउदा पनि कसैले चासो नदेखिएको विद्यालयले जनाएको हो ।
यस विषयमा रुन्टीगढी गाउँपालिकाको अध्यक्ष बालाराम बुढाले विद्यालयको भवन भत्किएको खबरले पाएलगत्तै तत्काल प्राबिधिक टोली पठाउन निर्देशन दिइसकेको बताए । वर्षातको कारणले गर्दा भत्किएको भवनको लागत स्टेमेट तयार गरि पालिकाको स्रोतसाधनले भ्याएसम्म चाडै भवन बनाउने उनले बताए । तर, पालिकको स्रोतसाधनले नभ्याउने अवस्था भएमा प्रदेश र संघीय सरकारसंग समन्वय गरेर विद्यालयको भवन बनाउने प्रक्रिया अगाडि बढाइने समेत उनले बताए । संघीय कार्यक्रम अनुसार गतवर्ष विद्यालयमा दुई कोठे भवन निर्माण सम्पन्न गरिएको र वडासंग समन्वय गरेर विद्यार्थीहरुको पठनपाठनलाई सुचारु गर्ने पनि उनको भनाई छ ।
तस्बिर: तेज केसी
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।