सिमेन्ट उद्योगहरुमा चुनढुंगा ओसार्ने टिप्परका कारण सडक तहसनहस हुन थालेपछि जनस्तरबाट शुरु गरिएको नागरिक अभियान अझै विस्तार गरिने भएको छ ।
घोराही–मुर्कुटी सडक सुधार सरोकार समितिको आज (शनिवार) घोराही १७ सिस्नेखोलामा बसेको बैठकले सो निर्णय गरेको हो । अभियानलाई अझै प्रभावकारी बनाउन समितिको नाम परिवर्तन गरेर घोराही–मुर्कुटी सडक तथा सिमेन्ट उद्योग प्रभावित सरोकार समिति बनाएको छ । समितिको कार्यक्षेत्र विस्तार नाम परिवर्तन गर्ने निर्णय बैठकले गरेको छ ।
सिमेन्ट उद्योगका लागि बैकल्पिक औद्यागिक मार्ग नबनाउँदासम्म अभियानलाई विस्तार गर्दै सबै सरकोकारवालासँग निरन्तर छलफल र अन्तक्र्रिया गर्ने निर्णय पनि बैठकले गरेको छ । जसका लागि समितिले आइतवार दिउँसो २ बजे घोराही उपमहानगरपालिकाको हलमा सर्वपक्षीय अन्तक्र्रिया गर्ने निर्णय गरेको सरोकार समितिका अध्यक्ष नारदमणि पोख्रेलले जानकारी दिनुभयो ।
बैठकमा घोराही उपमहानगरपालिकाभित्र रहेका सडक प्रभावित सात वटा वडाका टोल विकास समितिका अध्यक्ष तथा प्रतिनिधिहरुले रिपोर्टिङ गरेका थिए । उनीहरुले अभियान उत्साहजनकरुपमा अघि बढेको र वैकल्पिक मार्ग सुनिश्चित नहुँदासम्म दबाब अभियान जारी राख्न सुझाव दिएका थिए ।
वैकल्पिक मार्गको सुनिश्चित नहुँदासम्म दिउँसोमा टिप्पर सञ्चालन गर्न नहुनेमा जोड दिंदै उनीहरुले जबरजस्ती गरिए हजारौं नागरिक सडकमा ओर्लने चेतावनी पनि दिएका थिए । साथै टोल विकास संस्थाहरुले सडक संरक्षण अभियानप्रति एक्येबद्धता जनाउँदै निर्णय गरेर आ–आफ्ना वडा कार्यालयमा पठाइएको पनि जानकारी गराएका थिए ।
समितिको कामलाई प्रभावकारी बनाउन नौ सदस्यीय सचिवालय गठन गरिएको छ । नारदमणि पोख्रेल संयोजक र टेकबहादुर घतीृ सहसंयोजक रहेको सचिवालयमा सिस्नेखोला क्षेत्रबाट डोमाकान्त शर्मा, डबरी क्षेत्रबाट बिमल भुसाल, नवलपुर क्षेत्रबाट किशोर पौडेल र ट्राफिक तथा अस्पताल क्षेत्रबाट चित्रकान्त आचार्यलाई सदस्य राखिएको छ ।
समितिको सदस्य सचिवमा नरबहादुर अधिकारी रहनुभएको छ भने चौघेरा र भैसाही क्षेत्रबाट एक एक जना सदस्य थप गरिने संयोजक पोख्रेलले जानकारी दिनुभयो । बैठकले अभियानलाई समर्थन गर्ने राजनीतिक दलहरु, नागरिक समाज, पत्रकार महासंघ, उद्योग बाणिज्य संघ, विभिन्न वडा कार्यालय र टोल विकास संस्थाहरुलाई धन्यवाद पनि दिएको उहाँले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।