नेकपा माओवादी केन्द्रमा विभिन्न प्रदेशहरुको जिम्मेवारी हेरफेर गरिएको छ । स्थायी समिति बैठकले जिम्मेवारी हेरफेर गरेको हो ।
जसअनुसार कर्णाली प्रदेशको अध्यक्षमा रुकुमपश्चिमका राजकुमार शर्मा ‘आर्ट’ तोकिनुभएको छ ।
जिल्ला समन्वय समिति रुकुमका प्रमुख तथा माओवादी केन्द्र रुकुमका इञ्चार्ज रहनुभएका शर्मा माओवादी जनयुद्धका पुरानो नेताको रुपमा स्थापित हुनुहुुन्छ ।
प्रदेश सचिवमा रामदीप आचार्य तोकिनुभएको छ । जाजरकोट निवासी आचार्य माओवादी केन्द्रभित्र वैचारिक युवा नेताको रुपमा स्थापित हुनुहुन्छ । प्रदेश सचिव यसअघि पनि जाजरकोटकै मायाँप्रसाद शर्मा हुनुहुन्थ्यो । उहाँले अहिले विभागीय जिम्मेवारी पाएको स्रोतले जनाएको छ ।
प्रदेश सहइञ्चार्जको जिम्मेवारी कालीबहादुर मल्ल, टेकबहादुर बस्नेत र महेन्द्रबहादुर शाहीले पाउनुभएको छ ।
त्यस्तै प्रदेश १ को अध्यक्ष सुरेश राइ बन्नुभएको छ भने सचिव पछि चयन गरिने छ । प्रदेश २ मा दुबै पद थप छलफलपछि चयन गरिने एक नेताले जानकारी दिए । बागमति प्रदेशमा यसअघिकै नारायण दाहाल अध्यक्षमा रहनुभएको छ भने सचिव पछि चयन गरिने छ ।
गण्डकीको अध्यक्षमा हरि अधिकारी चयन हुनुभएको छ भने सचिव पछि चयन गरिने छ । लुम्बिनीमा यसअघि अध्यक्ष ओनसरी घर्ती र सचिव जगप्रसाद शर्मा ‘अपार’ले निरन्तरता पाउनुभएको छ भने सुदूरपश्चिम प्रदेशमा पनि अध्यक्ष र सचिव दुबै पछि चयन गरिने एक नेताले बताए ।
स्थायी समिति बैठकले प्रदेश १ को इञ्चार्ज राम कार्की, प्रदेश २ को इञ्चार्ज गणेश शाह, बागमति इञ्चार्ज हितमान शाक्य, गण्डकी इञ्चार्ज हितराज पाण्डे, लुम्बिनी इञ्चार्ज चक्रपाणी खनाल ‘बलदेब’, कर्णाली इञ्चार्ज शक्ति बस्नेत र सुदूरपश्चिम इञ्चार्जमा खगराज भट्टलाई जिम्मेवारी दिने निर्णय यसअघि नै गरिसकेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।