• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सडक बचाउन माग गर्दै पाँच कार्यालय ज्ञापनपत्र, गुनासो सुन्न प्रजिअ पुगे सडकमै




घोराही–मुर्कुटी सडक सुधार सरोकार समितिले सडक सुरक्षा र ब्यवस्थापनको मागसहित दाङका पाँच वटा सरकारी कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

समितिले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सडक डिभिजन कार्यालय, घोराही उपमहानगरपालिका र जिल्ला ट्राफिक कार्यालयमा ज्ञापनपत्र बुझाएको संयोजक नारदमणि पोख्रेलले जानकारी दिनुभयो ।

संयोजक पोख्रेल र सहसंयोजक टेकबहादुर घर्तीको नेतृत्वमा गएको प्रतिनिधिमण्डले कार्यालयहरुमा ज्ञापनपत्र बुझाएको थियो भने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ सडकमै आएर समितिसँग छलफल गर्नुभएको थियो ।

सो क्रममा प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले टिप्परका लागि बैकल्पिक मार्ग निर्माणको बारेमा जिल्लास्थित सरोकारवालासँग छलफल चलाउने प्रतिबद्धता व्यक्त गर्दै तत्कालका लागि खाल्डा पुर्ने, टिप्परका ढाला काट्ने र जाम नियन्त्रण गर्नेलगायतका काम थालिसकेको बताउनुभयो ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले वैकल्पिक मार्गलाई नै जोड दिनुपर्ने बताउनुभयो । काउलेछेडाहुँदै घोराही सिमेन्ट उद्योगसम्म जोड्ने सडकको ट्रयाक खुलेकाले स्थानीयसँग समन्वय गरेर त्यसलाई सञ्चालनमा ल्याउने वा मुर्कुटीबाट वैकल्पिक सडक निर्माण गर्ने भन्ने बिषयमा छलफल गर्नुपर्ने बताउनुभयो ।

बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीको पनि त्यस्तै धारणा रहेको छ । उहाँले वैकल्पिक सडकविना यो सडक जोगाउन नसकिने बताउनुभयो ।

सडक डिभिजन कार्यालयका प्रमुख निरज शाक्यले सडकको क्षमताभन्दा बढीका टिप्पर गुड्ने भएकाले समस्या आएको बताउनुभयो । ‘यो सडक टिप्परका लागि हुँदै होइन’– उहाँले भन्नुभयो– ‘टिप्परका लागि गाडी चलाउन फरक बिधिबाट सडक कालोपत्र गर्नुपर्छ तर यो मदन भण्डारी राजमार्ग भएकाले अन्य सडकको जस्तै कालोपत्रे छ, अहिले टिप्पर तीन गुणा बढी चलेकाले सडक निकै असुरक्षित भएको छ, वैकल्पिक सडक नै यसको सही निकास हो ।’

Facebook Comments