नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको छ । पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्नेलगायत विषय समेटिएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक तथा संगठनात्मक प्रतिवेदन पारित गर्दै आइतबार बैठक टुंगिएको हो ।
बैठकबाट संशोधनसहित विधान प्रतिवेदन पनि पारित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु्भयो ।
बैठकले मुलुकमा प्रतिगामी कदम असफल भए पनि खतरा अन्त्य नभएको निष्कर्ष निकालेको छ । प्रवक्ता श्रेष्ठले प्रतिगामी खतरा बाँकी नै रहेकोले त्यसप्रति सचेत भएर अघि बढ्ने निष्कर्ष निकालिएको जानकारी दिनुभयो ।
माओवादी केन्द्रले आफ्नो पार्टीका सबै जिल्ला कमिटीहरु विघटन गरेको छ । अब पार्टीका जिल्ला सम्मेलनहरू पनि नगर्ने माओवादीले घोषणा गरेको छ ।
बैठक समापन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘आजैदेखि विधानबाट जिल्ला डिलिट भयो । अब जिल्ला सम्मेलन हुँदैन । अब सिधै जनतामा जाने संरचना बनाइएको छ ।’
अब संविधान र संघीयताको मर्म अनुसार पार्टीको स्थानीय तह, प्रदेश र केन्द्र मात्रै रहने प्रचण्डले जानकारी दिनुभयो । जिल्ला कमिटीको साटो जिल्ला समन्वय कमिटी रहने र त्यसमा स्थानीय तहका प्रमुखहरुलाई राख्ने गरी स्थायी कमिटीले उपयुक्त व्यवस्था गर्ने प्रचण्डले केन्द्रीय कमिटीको बैठकलाई जानकारी गराउनुभयो ।
माओवादी केन्द्रका संगठनात्मक निर्णय
१. २०७८ भदौ मसान्तसम्म देशैभर पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने ।
२. २०७८ असोज १० गते–देशैभर एकै दिन सेल र टोल भेला ।
३. २०७८ असोज २० गते वडा सम्मेलन
४. २०७८ असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन ।
५. २०७८ मङ्सिर १५ गते प्रदेश सम्मेलन
६. २०७८ पुस ११ देखि १३ सम्म पार्टीको ऐतिहासिक राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने ।
७. संघीयताको मर्मअनुसार जिल्ला समिति माओवादीमा नरहने, संयोजन समितिमात्रै रहने ।
८. जनवर्गीय एवं विभिन्न जातिय/क्षेत्रिय मोर्चाहरूको सम्मेलन, भेला, बैठकहरू असोज मसान्तासम्म सम्पन्न गर्ने ।
९. जनयुद्धका घाइते, अपांग तथा छापामारलाई परिचयपत्र दिइने ।
१०. विधान संशोधनसहित पारित गरिएको छ ।
११. उत्पादनका निम्ति संघर्ष र जनपरिचालन गर्ने ।
१२. सबै रिक्त कमिटिमा पदपूर्ति गर्ने । जसका लागि केन्द्रीय समितिले ७ दिनको समयसिमा दिएर स्थायी समितिलाई जिम्मा ।
यस्ता छन् माओवादीका समसामयिक प्रस्ताव :
१. महाकाली नदीमा तुइन काटेर नेपाली युवाको मृत्यु भएको दुई हप्ता भयो । यसबारे भारतसँग वार्ता गर्न र क्षतिपूर्तिका लागि सहल गर्न सरकारसँग माग गर्ने ।
२. बेलायतमा गोर्खा सैनिकहरुले गरिरहेको आमरण अनसनमा ऐक्यबद्धता जनाउने । बेलायत सरकारसँग तत्काल वार्ताको पहल गर्न सरकारसँग माग गर्ने ।
३. कोरोनाको तेस्रो लहरको खतरा देखिएको हुनाले त्यसको रोकथामको तयारी गर्न, जनतालाई खोपको प्रवन्ध गर्न र समग्र अर्थतन्त्रको पुनरुत्थानको माग सरकारसँग गर्ने ।
४.सम्पूर्ण पार्टी पङ्क्तिलाई स्वास्थ्य मापदण्ड अपनाउँदै महामारीविरुद्ध जुध्न र देशका लागि योगदान गर्न आह्वान गर्ने ।
५. बाढी, पहिरोबाट पीडितहरूको राहत उद्धार र पुनर्निर्माणमा सरकारको ध्यानाकर्षण गर्ने ।
६ अफगानिस्तानमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी गराउन सरकारसँग माग गर्ने ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।