लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा मंगलबार सुनुवाइ हुन सकेन ।
यससँगै मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न भोलि बोलाइएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन नरोकिने भएको छ ।
लुम्बिनीमा विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।
विपक्षी दलका सांसदले गरेको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि विशेष अधिवेशन बोलाउनुभएको छ ।
प्रदेश प्रमुखले बोलाएको विशेष अधिवेशनविरुद्ध नेकपा एमालेका सांसद लीला गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
उक्त रिट मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा राखिएको थियो । तर रिट हेर्न नभ्याइएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।